१३ साउन २०७० | 28 July 2013

तीन कालखण्डको ऐना

Share:
  

सकस (उपन्यास) लेखकः जगदीश घिमिरे

प्रकाशकः जगदीश घिमिरे प्रतिष्ठान

पृष्ठः ३०६+२०,

मूल्यः रु.३७५

मेरो देशको लुकाएर पनि कहिल्यै नलुक्ने यथार्थ हो– हत्या, बलात्कार, अपहरण, धोका, जालसाजी, दमन, थिचोमिचो, राजनीतिक बेइमानी। यो नै नेपालको अप्रिय शब्दचित्र हो। यो वास्तविकता जगदीश घिमिरेको पछिल्लो उपन्यास सकस को मूल विषय हो, जसको कथावाचन 'फ्ल्यासब्याक' शैलीमा गरिएको छ।

उपन्यासमा खलपात्र अधिक छन्, वर्तमान समयमा जस्तै। उपन्यासकारले नायक पात्र शरदलाई आफ्नो जन्मस्थान रामेछाप पुर्‍याएर सुनकोशी, तामाकोशी, खुर्कोट, सिन्धुलीगढी लगायतका स्थान घुमाएका छन्। उपन्यासमा पात्रसँगै पाठक घुम्छन् र पात्रको दुःखबाट विस्मित बन्छन्। यसरी पात्र र पाठकलाई एकाकार गराउन उपन्यासकार सफल छन्। उपन्यासमा 'बलात्कार' का प्रसङ्ग धेरै छन्। सानी नानी, उसकी आमा, बौलाही सबै बलात्कृत छन्। नेताहरूले जनताको आशामा बलात्कार गरेका छन्। उपन्यासकारले ती सबै बलात्कृत र अनाहकमा प्रताडित सीमान्तकृतहरूका लागि न्यायको वकालत गरेका छन्।

उपन्यासमा मूल पात्र शरद र शरद जस्तै कुमारी छे अनि क्रूरतम पात्र लाल छ। तर, पाठकले सबै पात्रलाई याद गरिरहन सक्दैनन्। ती सबैले पाठकलाई स्पर्श गर्छन्, तर पुरानो घाउ जस्तै बिर्सिइन्छन्। एक ठाउँमा कथावाचक जीवा कविता जसरी बोल्छन्– 'मान्छेले जवानीमा माला बनाउँछन्, बुढ्यौलीमा जप्छन्। म अहिले मेरा स्मृतिका गेडाले बजेको माला जप्दैछु। गेडा साह्रा हुन्छन्, सम्झिइन्छ, धागो लुलो हुन्छ, बिर्सिइन्छ। जति जप्छु, उति लाग्छ, मेरो जीवन भ्रम र मूर्खताहरूको शृङ्खला हो। संसार क्रूर यथार्थहरूको सम्मेलन हो।' जहाँजहाँ यस्ता काव्यिक अभिव्यक्ति त्यहाँ पात्रभन्दा उपन्यासकार हावी भएका छन्। मन्त्री पदका लागि कांग्रेस त्यागेर पञ्च भएका जीवाले अवसरवादी राजनीतिको प्रतिनिधित्व गरेका छन्। उनी पश्चात्तापमा परेका छन्, तर अहिलेका राजनीतिक खलपात्रहरू पश्चात्ताप गर्दैनन्।

घिमिरेले प्राक्कथनमा यो ऐतिहासिक उपन्यास होइन भने पनि सकस राजनीतिक इतिहासकै जगमाथि निर्मित छ। कतैकतै पृथ्वीनारायण शाह पनि जोडिएको उपन्यास राणाकाल, २०१७ साल, २०३६, २०४६, माओवादीको हिंसात्मक द्वन्द्वकाल र २०६३ सालको सेरोफेरोमा उनिएको छ। यतिविधि राजनीतिक परिवर्तन हुँदा पनि सकारात्मक परिवर्तन आउनुको साटो सर्वसाधारणमा बढेको सकसबाट जन्मिएको उपन्यासले राजनीतिप्रति तीव्र वितृष्णा पैदा गराउँछ। राजनीति कहिले सुधि्रएला र देशमा गरिखान पाइएला भन्ने आमनेपालीको चिन्ताको जवाफ यसले दिंदैन, बरु आममान्छेका त्यो चाहना कहिल्यै नहुने निराशा वितरण गर्छ र भावी पुस्ताले समेत सुख नपाउने सन्देशका साथ उपन्यास सकिन्छ।

पाकशालामा जेरी–चिउरा खाएका विद्यार्थीलाई पानी खान पाँच किलोमिटर परको वागमतीमा लगिन्छ, त्यो पनि रातको समयमा! शरदलाई इतिहास सुनाउँदा थाकेका जीवा 'अब आफ्नो कुरा गर्छु' भन्छन्। र पनि, इतिहासकै कुरा अत्यधिक दोहोरिन्छ। इतिहासको बयान कला पाठकलाई एकै बसाइमा उपन्यास सक्न प्रेरित गर्ने खालको पनि छैन। लेखकले अन्त्यमा 'मिसन एकम्प्लिस्ड' भनेका छन्, तर पाठकलाई त्यस्तो महसूस हुँदैन। इतिहासका यथार्थपात्र र काल्पनिक चरित्रको रालघोलले पनि सकस लाई कमजोर पारेको छ।

साहित्यकर्मबाट अढाइ दशक अलग्गिंदा पनि पाठकले नबिर्सेका जगदीश घिमिरेको २०६४ सालको पुनरागमन (अन्तर्मनको यात्रा) ले ठूलो स्वागत पाएको थियो। उनको लेखनीबाट पाठक अद्यापि तृप्त छैनन् र अझ स्तरीय कृतिको अपेक्षामा छन्।

राजेन्द्र पराजुली


दानको उत्कृष्ट नमूना

शान्ता (उपन्यास) लेखकः पुरुषोत्तम दाहाल

प्रकाशकः सगरमाथा वाङ्मय प्रतिष्ठान

पृष्ठः २२७+१२,

मूल्यः रु.३००

“म देवघाट जाने विचार गर्दैछु। मेरो जीवन अवधि अब दुई महीनाभन्दा बढी छैन। दुई महीनासम्म ईश्वरलाई र आफूलाई यस सुन्दर धर्तीमा ल्याइदिने पितृहरूको स्मरण गरेर बस्नेछु। केही काम असल गरेको भए सम्झिइरहनेछु होला। नराम्रो भएको भए क्षमा हुनेछ।”

कलेजो क्यान्सरबाट पीडित डा. गोविन्द शर्मा जीवनका अन्तिम दुई महीनाका लागि यस्तै योजना बुनिरहेका हुन्छन्। मेडिकल डाक्टर भए पनि शर्मासँग उपचार खर्चको अभाव थियो। कलेजो दिन पनि कोही तयार थिएन। त्यसैले, डा. शर्मा अन्तिम योजना बनाउन थालेको थाहा पाएर भान्जी शान्ता दाहालले टेलिफोनमा भनिन्, “'चिन्ता नगर्नुस्, मामालाई कलेजो दिन म तयार छु।” एक वर्षअघि यी मामाभान्जीबीच भएको यस्तो संवादलाई समातेर पत्रकार पुरुषोत्तम दाहालले लेखेको उपन्यास शान्ता अहिले बजारमा छ।

दाहाल पत्नी शान्ताले कलेजो क्यान्सरबाट पीडित मामा गोविन्द शर्मालाई बचाउने निर्णय गरेपछि काठमाडौंबाट शुरू भएको उपन्यास भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा सफल प्रत्यारोपण भएपछि सकिन्छ। उपन्यास २८ पुसदेखि ८ फागुन २०६९ सम्मका ४० दिनका घटनामा केन्द्रित छ। उपन्यासमा शान्तासहित केही पात्रको वास्तविक नाम नै राखिएको छ। उपन्यासमा 'कथंकदाचित शान्तालाई केही भइहाल्यो भने' भन्ने चिन्ताबाट ग्रस्त लेखकको मनोदशा पनि बुझ्न सकिन्छ। किनकि, शान्ता स्वयं अस्वस्थ थिइन्। अनेक आशंकाग्रस्त लेखक श्रीमती र मामाससुरालाई मेदान्त अस्पतालमा भर्ना गरेपछि झनै चिन्तित हुन्छन्। शान्ताको परीक्षणपछि अस्पतालले उनको कलेजो प्रत्यारोपणयोग्य छ भनेपछि उनी र डा. शर्मालाई शल्यक्रिया कक्षमा लगिन्छ, जुन उपन्यासको उत्कर्ष हुन पुगेको छ।

शान्ताले मामालाई बचाउन आफ्नो कलेजोको टुक्रा दिएर स्वार्थी समाजमा करुणाको उदाहरण प्रस्तुत गरेकी छन्। डा. शर्मा अहिले आफ्नो पेशामा फर्केका छन्। सेवाका नाममा व्यापार गर्ने डाक्टर समूहमा नपर्ने उनी आफूले बचाएका बिरामी संख्या बढाइरहेका छन्। तत्कालीन रानी कोमलको निजी डाक्टर, त्रिविविका उपकुलपति र शिक्षण अस्पताल महाराजगन्जको निर्देशक भइसकेका डा. शर्मासँग आफैंलाई क्यान्सर हुँदा उपचार खर्च नभएको कुरा आफैंमा मर्मस्पर्शी छ। जीवनमा पैसाको पछि नलाग्दा डा. शर्मा यस्तो कथाको वास्तविक पात्र बन्न पुगे।

उपन्यासमा स्वार्थी आफन्तहरूको चित्रणसँगै विदेशी भूमिमा मजदूरीबाट धानिएका र अध्ययनका लागि बसेका नेपालीहरूले नेपालका एक जना असल डाक्टरको उपचारमा पुर्‍याएको सहयोगको मनछुने वर्णन छ। भाषिक सरलताले ज्यादै पठनीय बनाएको संस्मरणात्मक शैलीको यो उपन्यास पढ्दा पाठक धेरै ठाउँमा द्रवित हुन्छन्। कलेजो रोगीले उपचार पाएपछि तयार भएको शान्ता को बिक्रीबाट उठ्ने रकम कलेजो रोगीहरूकै उपचार कोषमा जम्मा गर्ने घोषणा उपन्यासकार दाहालले गरेका छन्।

रामजी दाहाल


अमेरिका! ओ अमेरिका!!

लेखकः हिरण्य भोजपुरे

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १४२+२०,

मूल्यः रु.१९५

आम नेपालीले गिताङ्गेका रूपमा चिनेका हिरण्य भोजपुरे एक सशक्त साहित्यकार पनि हुन्। उनका कथा, उपन्यास, निबन्ध, नियात्रा आदि विधाका पुस्तक प्रकशित छन्। तिनै भोजपुरेको पछिल्लो यात्रसंस्मरण, जसलाई लेखकले आफ्नो संवेदनालाई छोएर सम्झनामा बसेका सबैप्रति समर्पित गरेका छन्।

घाम अझै उघि्रएको छैन

लेखकः गंगा सुवेदी

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १३९+४,

मूल्यः रु.१९५

१७ वर्षका स्वप्निल सौम्यले सिर्जना म्याडममा ती तमाम कुराहरू देख्यो, जुन उसको सपनाकी राजकुमारीमा थिए। एक जना प्रतिभाशाली विद्यार्थीको मनोदशा र भग्न भविष्यको विश्वसनीय चित्रणसहित १५ थान सशक्त कथाको सँगालो।

आदिम सिमाना

लेखकः शकुन्तला जोशी

प्रकाशकः लूनकरणदास–गंगादेवी

चौधरी साहित्यकला मन्दिर

पृष्ठः ९४+८,

मूल्यः रु.१७५ स्वभावतः पूर्वी पहाडतिरको बिम्ब–प्रतीक खेलाउने कवि शकुन्तला जोशीको 'आदिम सिमाना'लाई साहित्यकार नारायण ढकालले नेपाली साहित्यमा अनुपम प्राप्ति भनेका छन्। ४५ थान कविता समेटिएको उनको पहिलो कृतिले सशक्त भविष्यको छनक दिएको पनि छ।

सुकिला मान्छेको सामूहिक मृत्यु

लेखकः राजेश ढुंगाना

प्रकाशकः मुकुन्द ढुंगाना

पृष्ठः ११२, मूल्यः रु.१००

झापामा बसेरपत्रकारितासँगै साढे तीन दशकबाट साहित्य साधना गरिरहेका राजेश ढुंगानाको कविता सँगालो। 'मान्छे', 'जिन्दगी' र 'मन'देखि 'राजा', र 'ताजमहल'सम्मका ५७ कविता आकारमा छोटा र प्रभावमा गम्भीर छन्।

नेपाली मिडियामा दलित सहभागिता र विषयवस्तु

लेखकः जेवी विश्वकर्मा

प्रकाशकः मार्टिन चौतारी, नेपाल

पृष्ठः १५२+१६,

मूल्यः रु.२००

दलितको प्रतिनिधित्व र तिनका मुद्दालाई नेपाली मिडियाले दिएको स्थानमा केन्द्रित यो पुस्तकले नेपाली मिडिया र दलितको सम्बन्ध केलाउने प्रयास गरेको छ। नेपाली मिडियामा दलितबारे नै केन्द्रित भएर लेखिएको यो पहिलो पुस्तक हो।

डिबेटस् अन फेडेरल सिस्टम

लेखकः राजेन्द्र सुब्बा

प्रकाशकः किताबघर प्रकाशन

पृष्ठः १४६+३८,

मूल्यः रु.२७५

लिम्बूवानको ऐतिहासिकता, स्वायत्तताको अभ्यास र विश्वको उदाहरण सहित नेपाली संघीयतामाथिको बौद्धिक बहसलाई सघन बनाउने उद्देश्यबाट प्रेरित किताब। अनुसन्धानमा आधारित पुस्तकले जातीय पहिचानको संघीयतामा जोड दिएको छ।

comments powered by Disqus

रमझम