किशोर (५८) र संगीता (५०) दुवै डुवर्सका भए पनि दुई दशक अघिसम्म अपरिचित थिए। नेपाली फिल्म क्षेत्रमा केही गर्न मुम्बईबाट आएका किशोर र कोलकातामा संगीत पढेकी संगीताको पहिलो भेट, पहिलो प्रेम र विवाह काठमाडौंमै भएको थियो, सन् १९९४मा। अहिले त उनीहरूका छोरा (द्रव्य) पनि १७ वर्षका भइसके। तीन जनाको संगीतमय परिवार कुलेश्वरमा बस्छ।
किशोर र संगीताको दैनिक कर्म एकअर्कासँग सम्बन्धित छ। उनीहरू एकअर्काका सच्चा प्रशंसक–सल्लाहकार पनि हुन्। किशोर निर्देशित सबैजसो फिल्ममा संगीताले गाएकी छन्। किशोर संगीताको गायकीको फ्यान हुने नै भए। संगीत र सिनेमा सिक्न आउनेहरूको भीडमा छोरा द्रव्य पनि अहिले दुवै विधा सिकिरहेका छन्। पछि बुबा र आमामध्ये कसको प्रभावले जित्छ अहिल्यै भन्न सकिन्न।
उम्दा गायकी
सेमी क्लासिकल गायिका संगीता ललितकला क्याम्पसको संगीत विभाग प्रमुख पनि हुन्। २०० जति फिल्म समेतमा गरी करीब ५०० गीत गाइसकेकी उनी एक दर्जन चर्चित गायक–गायिकाका गुरु पनि हुन्। कोलकाताको शान्ति निकेतन विश्व भारती विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर संगीता हिट्स एफएम म्युजिक अवार्ड २०६९ मा आधुनिक गीततर्फको अवार्ड विजेता पनि हुन्। उनको पहिलो नेपाली अल्बम 'अनुपम' भने बल्ल आउँदैछ, म्युजिक नेपालबाट।
सन् १९८३ मा अल इण्डिया रेडियोमा गीत गाएर भारु ३ हजार पारिश्रमिक पाएकी संगीताले कोलकातामा विद्यार्थी रहँदा गीत, गजल र भजनको अल्बम समेत निकालेकी थिइन्। खर्साङ रेडियोबाट पनि गीतको पैसा पाएकी संगीता कोलकातामा म्युजिक कम्पनीहरूले आफैं खर्च गरेर अल्बम निकालिदिएको बताउँछिन्। “त्यही कारण गायक–गायिका आफैं ऋण लिएरै भए पनि खर्चालु म्युजिक भिडियो बनाउँछन्”, पछिल्लो समयमा कलाकार बढे पनि सस्तो लोकप्रियताको पछाडि लागेको बताउँदै उनी भन्छिन्, “तर, यस्ता सिर्जना दोस्रो पटक हेरिंदैन, फालिन्छ।”
३० वर्षअघि 'नेपाल दरबारमा भारतीय संगीतको प्रभाव' बारे शोधका लागि काठमाडौं आएपछि संगीता यतै अडिएकी थिइन्। उनको आगमनले ललितकला क्याम्पसले पहिलो स्नातकोत्तर संगीत शिक्षक पायो भने नेपाली संगीत क्षेत्रले कुशल गायिका। मोर्डन इण्डियन स्कूलमा समेत प्रशिक्षक रहेकी उनलाई राँको फिल्म र त्यसका दुई गीतले किशोर रानाको नजिक बनाइदिएको थियो।
फिल्म बुझेका निर्देशक
२० वर्षको उमेरमा दार्जीलिङको डुवर्सबाट भागेर मुम्बई पुगेका किशोरलाई सडकमा भेटिएका गोपाल भुटानीले सामान्य कामदारका रुपमा बलिउड प्रवेश गराएका थिए। आफू महत्वाकांक्षी नभएकै कारण बलिउड छाडेर नेपाली फिल्मतिर लागेको किशोर बताउँछन्। “अर्को कुरा, उता सहायक भएर काम गर्नुपर्ने, यता आफ्नै भाषामा आफैं फूल निर्देशक हुन पाइने!” बीचमा एक वर्ष फेरि मुम्बई फर्किएर काम गरेका किशोर अरु जस्तो नढाँटी भन्छन्, “कम बजेटको भएर पनि सुपरहिट भएको हिन्दी फिल्म घरद्वार को ९५ प्रतिशत निर्देशन चाहिं मैले नै गरेको थिएँ।”
नेपाली दर्शकलाई राम्रो फिल्म दिएका किशोर निर्माताहरूसँग भने खुशी छैनन्। उनी आफूले बनाएका फिल्ममध्ये सीमारेखा र कबहोई मिलनवा हमार मा मात्र स्वतन्त्र ढंगले काम गर्न पाएको बताउँछन्। अरु सबैमा निर्माताहरूले किचकिच गरेको उनले खुलाए। किशोरको भनाइमा, नेपालमा १० प्रतिशत फिल्म मात्र निर्देशकको सोचबाट बन्छ। “बाँकी सबै निर्माताको चाहनामा बन्छ”, किशोर भन्छन्, “उनीहरू यति फाइट, उति गीत, फलाना हिन्दी फिल्म जस्तो भन्दै त्यस्तै कथाको कपी बोकेर आउँछन्।”
२०६२ का सर्वश्रेष्ठ नेपाली फिल्म निर्देशक किशोर अहिले सीमारेखा जस्तो अर्को ऐतिहासिक कालखण्डको सिनेमा बनाउने धोको पालेर बसेका छन्।