१३ साउन २०७० | 28 July 2013

मेहदीको मौसम

Share:
  

हिन्दू महिलाहरू साउन लागेपछि मेहदी उपयोगमा लाग्छन्। मेहदीको उपयोगलाई शिव–पार्वतीको सम्बन्धसँग पनि जोड्ने गरिन्छ। मेसो खोज्दै जाने हो भने १२औं शताब्दीको राजस्थानसम्म पुगिने मेहदीको प्रयोग पछिल्ला वर्षमा नेपालमा खूब चलेको छ।

आगोले पोलेको घाउ निको पार्न पात पिसेर लगाउन थालिएको मेहदी अहिले थरीथरी डिजाइनका ट्युव र बट्टामा पाइन्छ। मेहदीबाट हत्केला वा शरीरका अन्य भागमा बुट्टा भर्ने शैली ठाउँ र समाज अनुसार फरक–फरक छन्। जस्तो, अरब मुलुकमा बढीजसो फूल वा पात, भारतमा मयूर र चन्द्र–सूर्यको आकृति बनाइन्छ। नेपालमा भारतीय शैली लोकप्रिय देखिन्छ।

विवाहित महिलाहरूले पतिको भलो चिताउन र अविवाहिताहरूले भविष्यमा 'शिव जस्तै' जीवनस्ााथी पाउन मेहदी लगाउँछन् भनिए पनि मूलतः सौन्दर्य प्रशाधनको रूपमा यसको प्रयोग गरिन्छ। काठमाडौं जमलको इन्काज मेहदी संचालक अनिता राजभण्डारीका अनुसार नेपालमा अरविक र इण्डियन डिजाइनका नागवेली, एक लाइन मयूर, पात बढी चलेको छ।

डिल्लीबजारस्थित मुम्बई मेहदीका कुलदीप कुमारले नेपाली महिलाले अरविक, बंगाली, काश्मिरी चार्मिङ्ग स्टाइलका मेहदी बढी मन पराउने बताए। बागबजारको न्यू मुम्बई मेहदीका कमलेश सोनीले भने अविवाहिताहरूले सिङ्गल कोट अरविक बुट्टामा सिङ्गल लाइन र विवाहिताहरूले चुरा जस्तै हातभरि झ्ापक्कै हुने गरी अरविक–इण्डियन शैलीको मेहदी मन पराएको अनुभव सुनाए। कमलेशले सडकमा जहाँ पायो त्यहीं मेहदी लगाउँदा चाहिं रङमा प्रयोग हुने कडा रसायनले छाला बिगार्न सक्नेतर्फ सचेत गराए।

शब्द/तस्वीरः देवयानी सिवाकोटी

comments powered by Disqus

रमझम