१३ साउन २०७० | 28 July 2013

भद्दा आइटम

Share:
  
नेपाली चलचित्रमा आइटम डान्स अनिवार्य बन्दै गएको छ।

–देखाइदिन्छु सबै कुरा, पैसा तिरेपछि...

–मेरो चोली यति राम्रो छ, झन् भित्र के होला...

–उध्रेको चोली छ है, त्यै पनि लाइन्छ...

चलचित्र लूट मा सुष्मा कार्की
आइटम डान्सका यी तीन गीतमध्ये अघिल्ला दुइटा चलचित्र लक र स्टार का हुन् भने पछिल्लो लूट को। पछिल्लो समयको 'रेकर्ड होल्डर' लूट को भन्दा बढी 'छाडा' आइटम डान्स भए पनि लक चलेन। स्टार सार्वजनिक प्रदर्शन हुन बाँकी छ। अहिले फिल्म चलाउन यस्ता आइटम डान्स राख्ने होड चलेको छ।

वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ नेपाली सिनेमामा अहिले 'आइटम डान्स' अनिवार्य जस्तै बने पनि त्यो अनिवार्यता आवश्यकताबाट नभई खोटो नियतबाट आएको बताउँछन्। त्यसैले लूट पछिका फिल्महरू गुदी विनाका भए पनि उत्तेजक आइटम डान्स राखियो। “चार/पाँच फाइट र चार/पाँच डान्सले पिरोलेको नेपाली चलचित्रमा अहिले सबै आइटमको पछि लागेका छन्”, चलचित्र निर्देशक गोविन्द राई भन्छन्, “तर, फिल्म राम्रो नभई केही हुनेवाला छैन।”

नराम्रो हैन आइटम डान्स

सुन्दर नर्तकीलाई 'सेन्सेसनल' तर कलात्मक डान्स गराएर फिल्ममा ग्ल्यामर थप्ने जुक्ति पुरानै हो। सन् १९८० को दशकको हिन्दी फिल्म उद्योगमा यो जुक्ति खूब चलेको थियो। अहिले पनि कतिपय हिन्दी फिल्म एउटा डान्सको भरमा चलेका छन्। बलिउडमा क्याटि्रना कैफ, करिना कपुर, प्रियंका चोपडा जस्ता नायिकाहरू आइटम डान्स गर्छन्।

नेपालमा भने 'भल्गर' डान्सले बजार पिट्न लागेको वरिष्ठ नृत्यनिर्देशक श्रेष्ठ बताउँछन्। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई फिल्म झ्ाूर बनाए पनि आइटम डान्समा मिहिनेत गर्दा केही चल्ने बताउँछन्, तर रातारात मालामाल हुने गफको भरमा फिल्म बनाउनेहरूले आइटम डान्समा चाहिं मिहिनेत गर्ने आशा रहँदैन।

बलिउडमा क्याटि्रनाहरूले जस्तै नेपालमा पनि करिष्मा मानन्धर, रेखा थापाहरूले आइटम डान्स नगरेका हैनन्, तर यहाँ पैसाको समस्या छ। अर्थात्, राम्रोको लागि धेरै खर्च गर्नुपर्छ भने, 'भल्गर' का लागि २०–२५ हजार भए पुग्छ। नेपालका आइटम गर्लहरूबीच कसले बढी अंग प्रदर्शन गर्ने भन्ने होडबाजी चल्छ भने निर्माता/निर्देशकहरू यसैलाई कला ठान्छन्। यसरी आइटम डान्सको छाडापनले हद नाघेको चलचित्रकर्मी मोहन निरौला बताउँछन्।

विना अभिव्यञ्जना ठाडै बोल्ने गीत र नांगोपन सहितको हाउभाउ बढ्दो छ, अहिलेका आइटम डान्समा। चलचित्र निर्देशक हिमग्याप टासी 'कलात्मक प्रस्तुतिमा भन्दा सोझै प्रदर्शनमा विश्वास गर्ने चलचित्रकर्मी'हरूको भीड नछाट्टिएसम्म यो क्रम नरोकिने बताउँछन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम