१३ साउन २०७० | 28 July 2013

एमटीभीमा आनी

Share:
  
ओस्कार अवार्ड विजेता भारतीय संगीतकार एआर रहमानको साजमा आनी छोइङ डोल्माको गीत।

स्टुडियोमा भारतीय संगीतकार एआर रहमान (सबैभन्दा बायाँ) संगीतमा एमटीभीका लागि गीत रेकर्ड गर्दै गायिका आनी।
मुम्बईको प्रसिद्ध कोक प्रसिद्ध गायिका आनी छोइङ डोल्मा चर्चित भारतीय संगीतकार एआर रहमानको संगीतमा आध्यात्मिक गीत गाएर काठमाडौं फर्केकी छन्। १७–२२ असारमा मुम्बईको भव्य कोक स्टुडियोमा रहमानको संगीतमा गीत छायांकन गरेकी आनीले २४ असारमा पुना र २७ असारमा मुम्बईमा कन्सर्ट पनि गरिन्। रहमानले कोक स्टुडियो एट एमटीभी कार्यक्रमका लागि आनी र अरु पाँच जनाको गीत खिचेका छन्, जुन ३१ साउनमा एमटीभीबाट प्रसारण हुनेछ।

अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय बौद्ध मन्त्र गायिका आनीले रहमानको कन्सर्टमा आमाको महिमा गाएकी छन्। उनले आफूलाई मन पर्ने मध्येका एक जना संगीतकारसँग काम गर्न पाएकोमा खुशी लागेको बताइन्। भारतीय संगीतका पछिल्ला हस्ती रहमानले बौद्ध आध्यात्मिक मन्त्रलाई श्रोता–दर्शकको नयाँ संसारमा पुर्‍याउने विश्वास आनीले लिएकी छन्। “कार्यक्रमको छायांकनबाटै यति ठूलो प्रतिक्रिया आएको छ कि”, प्रसन्न आनीले हिमाल सँग भनिन्, “यसबाट धेरै खुशी छु।”

अनलाइनमा आनीका गीतहरू सुनेर रहमान प्रभावित भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। त्यसैले, उनले कार्यक्रमको लागि आनीलाई व्यक्तिगत रुपमा विशेष निम्तो पठाएका थिए। संगीतकार न्ह्यू बज्राचार्यले सबै प्रकारका सिर्जनामा सर्वोत्कृष्ट ठहरिएका रहमानको संगीत र आनीको आध्यात्मिक गायकीले ठूलो सफलता पाउने विश्वास व्यक्त गरे। बज्राचार्य भन्छन्, “यो सिर्जनाले नयाँ र ठूलो मासको मन तान्नेमा म विश्वस्त छु।”

comments powered by Disqus

रमझम