१३ साउन २०७० | 28 July 2013

पुस्तकालय संकट

Share:
  
- दीपक अर्याल
नेपालमा खुलेका एकहजार सार्वजनिक पुस्तकालयमध्ये ७० प्रतिशत हराइसकेका छन्।

लेख–पढको बानी बसाउने वा पाठकहरूलाई राम्रो पठन सामग्री दिने उद्देश्यका साथ नेपालमा २००७ साल अघिदेखि नै सार्वजनिक पुस्तकालय खुलेको देखिन्छ। खास क्षेत्र र विषयसँग सम्बन्धित वा कुनै संस्था, विश्वविद्यालय वा विद्यालयका बाहेक करीब एकहजार सार्वजनिक पुस्तकालय खुलेको अनुमान छ। यसले नेपालमा पुस्तकालयको राम्रै विकास–विस्तार भएको जनाउँछ, तर यो पंक्तिकारले तीन वर्षअघि १० जिल्लामा गरेको प्रारम्भिक सर्वेक्षणले अर्कै तस्वीर देखायो।

स्थानीय शिक्षाप्रेमी र युवा सक्रियतामा खुलेका पुस्तकालय कोठा वा भवनहरू नासिएका वा अन्य प्रयोजनमा लगाइएका छन्। भाडाका वा सहयोग स्वरुप उपलब्ध कोठाहरूमा स्थापित पुस्तकालयका पुस्तकहरू कि पूर्णतः नासिएका छन् कि त व्यक्तिहरूको घरमा पुगेका छन्। कुनै बेला वकाइदा दर्ता र संचालन भएका यस्ता पुस्तकालयमध्ये ७० प्रतिशतको अस्तित्व लोप भइसकेको छ। तिनको स्थापनामा कुनै बेला उत्साहित समूहहरूको ठूलो परिश्रम परेकोमा शंका छैन।

चेतना, रहर वा लहड जे कारणले खोलिएका भए पनि उत्साही युवक–युवतीका जीवनका प्राथमिकताहरू बदलिन थालेपछि धेरैजसो पुस्तकालय दुई–तीन वर्षमै हराउन थालेको पाइन्छ। विना कुनै आर्थिक फाइदा नियमित खट्नुपर्ने भएकाले उपार्जनको बाध्यतामा रहने युवा वर्ग यो काममा लामो समय लाग्न नसक्नु अस्वाभाविक पनि होइन। राजनीतिक, सांस्कृतिक वा सामाजिक आन्दोलनका क्रममा खुलेका पुस्तकालयहरू त दिगो नहुने नै भए। धैर्यवान व्यक्तिहरू आवद्ध केही बाहेक एउटा जोशमा खोलिएका पुस्तकालय संकलन गरिएका पुस्तक–पत्रपत्रिका एकसरो पढिन नपाउँदै बन्द भएको पाइन्छ।

ललितपुरको च्यासल, भक्तपुरको बालकोट र तानसेनको कैलाशनगर, बसन्तपुर अनि बडिज्ञान टोलमा उहिल्यै खुलेका पुस्तकालय–वाचनालयहरू अहिले छैनन्। ललितपुर र भक्तपुरमा पुस्तकालयका जीर्ण भवन र बोर्डहरू अझै देखिए पनि तानसेनमा तिनको नामोनिशान हराइसकेका छन्। ऐतिहासिक भनिएका नामी पुस्तकालयहरूले पनि यस्तो संकट खेपेका छन्। पाल्पाको धवल पुस्तकालय यसको उदाहरण हो।

२००३ सालमा स्थापित धवल पुस्तकालय निरीक्षण गर्न २००५ पुसमा तानसेन पुगेका डिपुटी इन्स्पेक्टर स्कूल, पश्चिम फाँट, नेपालका रामसिंह ठकुरीले 'हाल पुस्तक संख्या २६४६ जसमा २१५० हिन्दी, संस्कृत अथवा नेपालीका र ४९६ अंग्रेजीका पुस्तक छन्। २३ हस्तलिखित पुस्तक (म्यानुस्त्रि्कप्ट) पनि रहेछन्' भनेर लेखेका छन्। २००७ असोजमा फेरि धवल पुस्तकालय पुगेका ठकुरीले पुस्तक संख्या ३३४१ उल्लेख गरेका छन्।

तर, अवस्था सधैं उही रहेन। धवल पुस्तकालय पटक–पटक बन्द भयो, पटक–पटक खोलियो। पुस्तक, पत्रपत्रिका र हस्तलिखित सामग्रीहरू च्यातिए, चोरिए। कुनै भवन भत्कँदा नाश भए। २००३ मा पूर्व–पश्चिम घुमेर निरीक्षण गर्दा धवललाई सबभन्दा बढिया पुस्तकालय भनेर लेखेका दीर्घराज कोइराला २००८ सालपछि तानसेन पुगेका भए शायद आफ्नो पुरानो टिप्पणीप्रति पश्चात्ताप गर्ने थिए होलान्।

अहिले यो पुस्तकालयलाई व्यवस्थित गर्ने काम त भइरहेको छ, तर एक–दुई व्यक्ति वा समूहको एक–दुई वर्षको उत्साहले मात्र काम गर्दो रहेनछ भन्ने पाठ मुलुकभर नासिएका पुस्तकालयहरूले दिइसकेका छन्। तर, यसो भन्दैमा पाल्पालीमा चलेको जाँगर मार्ने कुरा आउँदैन। बरु, उदाहरण नै हुने गरी अग्रसर हुनुपर्ने बेला पनि हो यो।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम