१३ साउन २०७० | 28 July 2013

कोमामा ट्रमा

Share:
  
- मिलन बगाले
तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले गएको फागुनमा दिएको तीन महीनामा ट्रमा सेन्टर सञ्चालन हुने गफको हावा फुस्केको दुई महीना हुन लाग्यो।

तस्वीरः मीनरत्न बज्राचार्य
११ साउन २०६८ मा वीर अस्पतालको १२२औं स्थापना दिवसमा सहभागी तत्कालीन प्रधानमन्त्री झ्लनाथ खनालले वीर अस्पतालसँगै भारत सरकारले बनाइदिएको 'ट्रमा सेन्टर तुरुन्त चलाउन' आतुर निर्देशन दिंदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. दामोदरप्रसाद पोखरेलले 'केही महीनामै यसलाई चलायमान बनाउने' भनेका थिए। तर, यो आधुनिक सुविधासम्पन्न ट्रमा सेन्टर 'केही महीना' मात्र हैन, निर्माण पूरा भएको ६ वर्षमा पनि अलपत्र छ।

ट्रमा सेन्टर चलाउने आदेश भएको र चलाउनेहरू चलाइहाल्न तयार भएको खबरहरू पोहोर पनि सुनिए। यसपालि ११ साउनको आसपासमा यस्ता खबरहरू आउने नै छन्। यसपाला चुनावी मन्त्रिपरिषद्का अध्यक्षले आदेश देलान् र उपकुलपतिले तुरुन्त चलाउने जवाफ फर्काउलान्। किनभने, यो भारत―नेपाल मैत्री वीर अस्पताल इमर्जेन्सी एण्ड ट्रमा सेन्टरका लागि नेपाल सरकारले वर्षेनि रु.१३ करोड छुट्याउँदै र 'फ्रिज' गर्दै आएको छ।

चिकित्सक र अन्य कर्मचारी गरी ५५८ दरबन्दी स्वीकृत भइसकेको यो अस्पताल किन नचलाएको भनेर सोधनी गर्नेमा भारतका प्रधानमन्त्रीदेखि नेपालका राष्ट्रपतिसम्म छन्। यस्ता ठूला सोधीखोजी र जनस्तरको चासोका बीच गत फागुनमा तत्कालीन स्वास्थ्यमन्त्री महतोले भारतका प्रधानमन्त्री यसैका लागि काठमाडौं आउने र उनको टोलीमा रहने स्वास्थ्यमन्त्री गुलाब नदी आजादसँग आफूले संयुक्त उद्घाटन गर्ने बताएका थिए। तर, यस्ता सबै भीआईपी हल्लाहरू चल्दै हराउँदै गइरहेका छन्।

काठमाडौंस्थित भारतीय राजदूतावासको वेबसाइटमा लेखिएअनुसार ट्रमा सेन्टर भवन बनाउन भारु १ अर्ब ६० करोड लागेको छ। ट्रमा सेन्टरमा चाहिने सिटी स्क्यान लगायतका महँगा उपकरण जुटाउने र चिकित्सकहरूलाई तालीम दिने जिम्मा पनि भारतले नै लिएको छ। नेपालको काम त्यसलाई चलाउने मात्र हो, जसमा कुनै हतारो देखाइएको छैन। मानौं, अरूले दिएको चिज हतार–हतार चलाउँदा गाल परिन्छ।

भीर वा रूखबाट लडेका र दुर्घटनामा ठूलो भित्री चोट लागेकाहरूलाई मृत्युको मुखबाट फर्काउन सकिने एक मात्र ट्रमा सेन्टरलाई यसरी अलपत्र पारेर बिरामी मार्ने काम भइरहेको छ भनेर लेख्नु उचितै हुन्छ। दुई वर्षअघि हिमाल खबरपत्रिकामा प्रकाशित रामजी दाहालको रिपोर्ट 'ट्रमा सेन्टरः तीन वर्षदेखि अलपत्र' मा नेपालको भूबनोट, कृषिमा आधारित जीवन प्रणाली, प्राकृतिक प्रकोप, सडक दुर्घटना आदिमा परेर दैनिक सरदर तीन जनाको मृत्यु हुन्छ, १० जना असक्त हुने उल्लेख छ।

महँगा टायल टाँसिएको ट्रमा सेन्टरको बाहिरी भित्तामा लेउ लाग्न थालेको छ। प्रयोगविहीन बनेपछि भवनका भित्ता, भुर्इं, सिलिङ विस्तारै चर्कंदै जान्छन्। विख्यात वास्तुविद् लि कर्बुजियरका शब्दमा, भवन भनेको बस्ने मशीन (बिल्डिङ इज ए मशीन टु लिभ) हो। बिरामीका लागि बनाइएको मशीन प्रयोगविहीन बनेकाले त्यसै खिइएर गइरहेको छ।

एक वास्तुकार नेपालीको रूपमा काठमाडौंको मध्यभागमा भारतीय शैलीको यो भवन मलाई कहिल्यै मन परेन। त्यो भवनको डिजाइनले नेपाली वास्तुकलाको सम्मान गरेको छैन। तर, नेपालीको उपकारका लागि छिमेकीले बनाइदिएकोले यसको वास्तुशैली गौण विषय भयो। गरीब छिमेकीलाई केही दिंदा आफ्नो वास्तुशैली पनि लाद्यो त लाद्यो, के गर्ने।

डिजाइन जस्तो भए पनि, नेपालको आन्तरिक राजनीतिमा अनावश्यक अह्रनखटन गरेको बात सहँदै आएको भारतले ट्रमा सेन्टर संचालनमा पनि अलि गतिलो दबाब दिए हुनेथियो। तर, संचालनमा पनि विदेशी दाताको दबाबभन्दा स्वदेशी जुझारुहरूको सक्रियता राम्रो होला। ट्रमा सेन्टर यथासक्य चाँडो चलाउन रचनात्मक पहल गर्नेको जय होस्।

comments powered by Disqus

रमझम