१३ साउन २०७० | 28 July 2013

सद्भाव र दानको पर्व

Share:
  
रमजान पर्व मात्र नभएर इस्लामिक कानूनको कठोर पालना अर्थात् परोपकारको समय पनि हो।

तस्वीरः तुफान न्यौपाने
सरकारी पाठ्यक्रमसँगै इस्लामिक पढाइ हुने नेपालगन्जको बरकतिया माध्यमिक विद्यालय (मदरसा) मा ९ कक्षाकी छात्रा गुलशन राई एक सातादेखि रमजानको रोजा (ब्रत) मा छिन्। गुलशन जस्ता मुस्लिम बालबालिकाले समूहमा कुरान, नमाज पढ्ने, रोजा सकिएपछि मीठो खाना र नयाँ नानाका साथ हाँसखेल गर्दा रमजान बितेको पत्तै पाउँदैनन्। सोही मदरसाका प्रबन्धक जियाउल मुस्तफा नुरानी जस्ता मौलाना र वयस्क मुसलमानहरूका लागि भने रमजानको योभन्दा धेरै गम्भीर महत्व छ।

अरबी १२ महीनामध्ये रमजान (यो वर्ष २७ असारदेखि २५ साउनसम्म) को विशेष महत्व छ। कलेमा, नमाज, रोजा, हज र जकात (आफ्नो सम्पत्तिबाट साढे दुई प्रतिशत दान) इस्लाम धर्मका पाँच खम्बा हुन्। हजबाहेक इस्लामका अरू चार कार्यको संयोग जुर्ने हुनाले रमजान महीनालाई बढी पवित्र मानिन्छ। अघिल्लो महीनाको २९ तारिख सूर्यास्तपछि चाँद (चन्द्रमा) हेरेर रमजान शुरू हुन्छ। त्यो साँझ चाँद देखिएन भने ३० तारिखबाट रमजान शुरू हुन्छ।

इस्लाम धर्ममा ब्रत (निष्ठा) र दान (परोपकार) को उच्च महत्व छ। इस्लाममा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी बराबर सम्पत्ति भएका हरेक मुसलमानले आफ्नो सम्पत्तिको साढे दुई प्रतिशत भाग दान गर्नैपर्छ। रमजानको जकातबाट अरू बेलाको भन्दा कैयौं गुणा बढी पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। मौलाना नुरानी इस्लामिक कानून भएका देशमा राज्यले सम्पत्तिको दुई प्रतिशत भाग अनिवार्य करको रूपमा उठाउने बताउँछन्। “हामी चाहिं आफैं गरीबगुरुवालाई दान गर्छौं”, नुरानी भन्छन्।

नुरानीका अनुसार, रमजानमा मुसलमानहरूले दुई प्रकारका कर चुकाउँछन्– सम्पत्तिबाट जकात र शरीर कर। रोजामा नमाजसँगै निराहार बसेर अनि पत्नीबाट टाढा रहेर शरीरमा 'कर' लगाइन्छ। नाबालक, यात्री, बिरामी, गर्भवती र रजस्वला भएकी महिलाले रोजा बस्नुपर्दैन। जकातबाट गरीब, अनाथ, विधवा आदिलाई सहयोगका साथै यात्रु प्रतीक्षालय, अस्पताल आदि बनाइन्छ। अन्य सामाजिक कामका लागि पनि जकात परम्परा बसेको छ। राष्ट्रिय हज कमिटी पूर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी भन्छन्, “रमजानमा अन्नपात हुनेले परिवारका एक सदस्य बराबर कम्तीमा दुई किलो ४५ ग्रामका दरले नहुनेहरूलाई सहयोग गर्छन्।”

तस्वीरः गुलशन राई

अरू धर्मले जस्तै इस्लामले पनि तास–जुवा, मदिरा, वेश्यावृत्ति, झूट, चोरी–डकैती आदिलाई निषेधित गरेको छ। कोही मुसलमान यसमा लागेका रहेछन् भने पनि रमजानमा ऊ यस्ता सबै खाले कुकर्मबाट टाढै रहन्छ। अल्लाहले यही महीनामा कुरान पठाएको विश्वासका साथ रमजानभरि सबै कर्म छाडेर हरेक दिन बिहान पाँच बजे फजिल, दिउँसो एक बजे जोहर, साँझ पाँच बजे असिर, सूर्यास्तपछि मगरिन र सूर्यास्तको डेढ घण्टापछि इशाको नमाज पढिन्छ। यसबाहेक रमजानभरि तराबीको नमाज पनि थपिन्छ।

एक महीना लामो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्मको सात्विक चिन्तनले लोभलालच माथि विजय गर्न र गलत कर्मबाट विमुख हुन मद्दत गर्छ। रमजानको सामाजिक मूल्य पनि उत्तिकै छ। नमाज पढ्न मस्जिदमा हुने भेलाले भाइचाराको भावना बढाइरहेको हुन्छ। रमजानको दुई दिनपछि अर्को ठूलो चाड ईद आउँछ। अहिले गुलशन जस्ता मुस्लिम बालबालिका त्यसैको प्रतीक्षामा छन्। ईदको सम्झ्नाले रमजान सकिएको पत्तै नहुने गुल्शनले बताइन्।

तुफान न्यौपाने, नेपालगञ्ज

comments powered by Disqus

रमझम