दानको हिसाबबारे सधैं प्रश्न उठिरहने कोषमा यस्तो काम भएको यो नै पहिलो पटक भने होइन। कोषको स्टोरमा अहिलेसम्म कति देशका, कति मूल्यका 'नचल्ने' दानहरू सडिरहेका छन्, थाहै छैन। बोरामा कोचेर राखिने ती दानहरू यत्रतत्र अलपत्र छन्। कोषका सदस्यसचिव अजितमान तामाङले फोनमा भने, “राष्ट्र ब्यांकले साट्ने २५ देशका मुद्रा साटेर नसाटिने जतिलाई बोरामा हालेर राखियो।”
उनका अनुसार, थन्क्याइएकामा श्रीलंका, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस, इरानलगायत मुलुकका मुद्रा छन्। नेपालमा ती देशका मुद्राको विनिमय दर तोकिएको छैन। चीन र भियतनामका मुद्रा सटही हुने भए पनि धेरै पुरानो भएको भन्दै साट्ने तत्परता देखाइएन। लुम्बिनी विकास कोषभित्र जाँगर नभएकाहरूको बोलवाला छ भन्ने कुरा नेपाली सिक्का समेत अलपत्र पर्नुले देखाउँछ। सूचना पनि भरसक लुकाउन खोज्ने कोषमा अहिले एक र दुई रुपैयाँका सात क्वीन्टल जति नेपाली सिक्का थन्किएको स्रोत बताउँछ। “नजिकका ब्यांकहरूमा साटिएन, गह्रौं सिक्का टाढाको ब्यांकमा लैजान असुविधा हुने र ढुवानी भाडा पनि महँगो पर्ने भएकाले त्यसै थन्किएका छन्”, स्रोत भन्छ।
लुम्बिनीका दानपेटिका पहिले १५―१५ दिनमा खोलिन्थ्यो। दुई वर्षयता भने कहिले दुई महीना त कहिले चार महीनामा खोल्ने गरिएको छ। सदस्यसचिव तामाङ दानमध्ये साटिने मुद्राबाट वार्षिक करीब रु.४ करोड संकलन हुने बताउँछन्। कोषले अलिकति जाँगर देखाउने हो भने सबै दान सटही भएर फाइदा हुने देखिन्छ। राष्ट्र ब्यांकको सिद्धार्थनगर शाखा कार्यालयका उपनिर्देशक जीवनप्रकाश पाण्डे सजिलै सटही नहुने मुद्राका लागि विधि पुर्याउन कोषलाई आग्रह गरे पनि अहिलेसम्म नगरिएको बताउँछन्।
उनका अनुसार, नेपालमा विनिमय दर नतोकिएका मुद्राहरू राष्ट्र ब्यांकमा जम्मा गरेर विदेशस्थित सम्बन्धित देशको ब्यांक खातामा पठाएर पछि कोषलाई भुक्तानी दिन सकिन्छ। सधैं आर्थिक अभावमा रहेको, योजना अनुसारका कामहरू गर्न नसकेको बताउने कोषले विदेशी मुद्रा सटहीको यति सजिलो उपाय अपनाउने जाँगर समेत देखाएको छैन। “अहिलेसम्म कति करोड सडाए होलान्?” स्थानीय जितेन्द्र मिश्र भन्छन्, “त्यसमा पनि जिम्मेवार नबनाएसम्म कोषका पदाधिकारीहरूले जाँगर देखाउनेवाला छैनन्।”
दीपक ज्ञवाली, लुम्बिनी