१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

बेइजिङकी 'नेपाली गुरुआमा'

Share:
  
त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दै गरेकी चीनकी सिन युङ नेपाली भाषालाई नेपाल–चीन सम्बन्धको नयाँ कडी बनाउन दत्ताचित्ता छिन्।

शिक्षा, अध्ययन–अनुसन्धान, व्यापारलगायत क्षेत्रमा एकछत्र राज गरिरहेको अंग्रेजी भाषासँग अब चिनियाँ पनि टाढा रहिरहन सक्ने भएनन्। चीन बाहिर आक्रामक रूपमा भइरहेको चिनियाँ लगानी र अन्य प्रभावका कारण पनि उनीहरूलाई अंग्रेजी आवश्यक भएको छ। साङतोङकी सिन युङलाई भने कसोकसो नेपाली भाषाले तान्यो र अध्येता नै बनायो। किन त?

जवाफका लागि उनी डेढ दशक पछाडि फर्किइन्। त्यतिबेला उनी स्नातक तहमा भर्ना हुन साङतोङ प्रान्तबाट बेइजिङको कम्युनिकेसन युनिभर्सिटी अफ चाइना (सीयूसी) आएकी थिइन्। उनले कुनै एउटा विदेशी भाषा पनि पढ्नेबारे सोचिछन्। उनका अभिभावकले इन्टरनेटबाट थाहा पाएछन्, आफ्नै छिमेकमा राजासहितको सानो हिमाली देश नेपाल रहेछ। “नेपाली भाषाका देवनागरी लिपि हामीले जानिराखेका चिनियाँ र अंग्रेजी अक्षरभन्दा धेरै भिन्न र रमाइला लाग्ने खालका थिए” उनी भन्छिन्, “त्यसरी म नेपालीसँग जोडिन पुगें।”

उनले भेट्ने अधिकांश विदेशीले चिनियाँ भाषा सिक्न साह्रै गाह्रो परेको अनुभव सुनाउँछन्। हुन पनि नेपाली वा अंग्रेजीमा जस्तो पहिले अक्षर, त्यसपछि शब्द र वाक्य सिक्न सकिन्न चिनियाँ भाषामा। छुट्टै चिनियाँ अक्षर नै नभएकोले एकैपटक शब्द सिक्नुपर्छ। अंग्रेजीभाषीका लागि नेपाली अक्षरको बनोट र व्याकरण पनि कम गाह्रो छैन। चिनियाँ र अंग्रेजी दुवै भाषा जानेकी सिन युङलाई भने नेपाली भाषा सिक्न सजिलो पनि लाग्यो। अहिले उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नेपाली विषयमा विद्यावारिधिकी शोधार्थी हुन्। 'नेपाली र चिनियाँ सञ्चारमाध्यममा प्रयोग हुने भाषाको तुलनात्मक अध्ययन' शीर्षकको उनको थेसिसका सुपरभाइजर प्राध्यापक डा. माधव पोखरेल छन्। र, सिन युङको नेपाली नाम 'इन्दिरा' उनैले राखिदिएका हुन्।

उनले सीयूसीबाट २००५, २००९ र २०१३ मा गरी ४४ चिनियाँलाई नेपालीमा स्नातक गराइन्। तीमध्येका केही चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) र परराष्ट्र सेवा अन्तर्गत काठमाडौंस्थित चिनियाँ दूतावासमा कार्यरत छन् भने बाँकीले पीएलए युनिभर्सिटी अफ फरेन ल्याङ्ग्वेज, बेइजिङ फरेन स्टडिज युनिभर्सिटी, कम्युनिकेसन युनिभर्सिटी अफ चाइना, सिजाङ मिन्जु युनिभर्सिटी, यूनान मिन्जु युनिभर्सिटीलगायतमा नेपाली पढाउँछन्।

२०१२ मा सीयूसीबाटै अन्तर्राष्ट्रिय पत्रकारितामा स्नातकोत्तर गरेकी सिन युङको शोधको शीर्षक थियो– 'नेपाली सञ्चारमाध्यममा चीनसम्बन्धी समाचारको विश्लेषण।' अर्थात्, उनको उद्देश्य नेपाली भाषा सिक्नु मात्र होइन, नेपाली पत्रकारिता, समाज, इतिहास, धर्म, संस्कृति आदि बुझ्नु/बुझाउनु हो। “त्यसका लागि नेपाल जानुपर्छ, नेपालीसँग बोल्नुपर्छ” उनी भन्छिन्, “अहिलेसम्म १६ पटक नेपाल गएकी छु, अझ्ा कति पटक जान्छु, थाहा छैन!”

२०१३ मा चीन सरकारको छात्रवृत्तिमा काठमाडौंको विश्वभाषा क्याम्पसमा नेपाली पढेकी उनले पछि त्रिभुवन विश्वविद्यालय र विश्वभाषा क्याम्पससँग सीयूसीको सहकार्य गराउन धेरथोर भूमिका खेलिन्। नेपाल जाने चिनियाँ पर्यटक, व्यापारी, स्वयंसेवी र विद्यार्थीको पनि संख्या बढिरहेकाले आफ्नो प्रयास फलदायी भएको खुशीमा छिन्, सिन युङ।

लामो समय सीयूसीमा रहेकी उनी हाल बेइजिङ फरेन स्टडिज युनिभर्सिटी (बीएफएसयू) मा आबद्ध छिन्। सीयूसीमा नेपाली भाषा विभाग प्रमुख रहेकी उनले नयाँ विश्वविद्यालयमा जानेवित्तिकै 'नेपाल अध्ययन केन्द्र' खोलेर चीन भ्रमणमा आएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गराइन्। बीएफएसयूमा नेपाली अध्यापन पनि शुरू भइसकेको छ। सिन युङ अब त्रिवि–बीएफएसयूबीच सहकार्यमार्फत शैक्षिक आदानप्रदान गराउन चाहन्छिन्। चीन भ्रमणमा आउने हरेक उच्चस्तरीय नेपाली प्रमण्डललाई उनले आफ्नो योजना अवगत गराइरहेकी छन्।

उनको हातमा रहेको नेपालसम्बन्धी अर्को काम हो– नेपाली किताबको अनुवाद। उनले सेतो बाघ को चिनियाँ अनुवाद सक्नै लागेकी छन्। उनले आफ्ना एक शिक्षकले मुनामदन लाई अंग्रेजीबाट चिनियाँमा अनुवाद गरेको सगर्व बताइन्। “मुनामदनले नेपाल–चीन सम्बन्धको ऐतिहासिकता बोकेको छ र यसमाथि थप अनुसन्धान र लेखन हुनुपर्छ” सिन युङ अर्थात् इन्दिरा भन्छिन्, “मलाई लाग्छ, यस्ता कृतिहरूको अध्ययन–अनुसन्धान र अनुवादमा सरकारी सहयोग आवश्यक छ।”

तुफान न्यौपाने, बेइजिङ

comments powered by Disqus

रमझम