१३ साउन २०७० | 28 July 2013

घुमफिर गर्दैनन् नेपाली

Share:
  

सरकारले यसपटकको बजेट भाषण मार्फत नाफामा चलेका सार्वजनिक संस्थान र ब्याङ्क तथा वित्तीय संस्थाले खर्च दिएरै कर्मचारीलाई अनिवार्य घुम्न पठाउनुपर्ने घोषणा गर्‍यो। कर्मचारीलाई घुम्न पठाउँदा आन्तरिक पर्यटन प्रवर्द्धन हुने र नयाँ ठाउँ पुग्दा कर्मचारीमा ज्ञान समेत बढ्ने बुझाइका साथ सरकारले वर्षमा कम्तीमा एक साता कर्मचारीलाई भ्रमणमा पठाउनै पर्ने व्यवस्था गरेको हो। तर, शहरिया नेपालीमा घुमफिर गर्ने बानी विकास भइसकेको छैन। हिमाल को पछिल्लो साप्ताहिक मत सर्वेक्षणले कामबाट फुर्सद नपाउने, खर्च अभाव तथा रुचि समेत नभएकाले घुमफिर धेरैजसो नेपालीको रोजाइमा नपरेको देखाएको छ।

देशका प्रमुख १२ शहरमा गरिएको सर्वेक्षणमा सहभागी बहुसंख्यक उत्तरदाताले घुम्न जानु राम्रो भए पनि पछिल्लो एक वर्षमा कतै घुम्न नगएको बताएका छन्। कुल ३६६ उत्तरदातामध्ये ६५.८ प्रतिशतले सरकारको यस्तो निर्णयको प्रशंसा गरेका छन्। २२.४ प्रतिशत उत्तरदाताले कम्पनीले खर्च दिएर कर्मचारीलाई घुम्न पठाउनु 'नराम्रो' भने, ११.५ प्रतिशतले थाहा नभएको बताए र ०.३ प्रतिशत यसबारे बोल्न चाहेनन्। सबै उमेर समूहका अधिकांश उत्तरदाताले कर्मचारीलाई घुम्न पठाउनुलाई राम्रो भने पनि अशिक्षितमध्ये १६.७ प्रतिशतले नराम्रो र ५० प्रतिशतले 'थाहा नभएको' उत्तर दिए। स्नातकोत्तर वा त्यसभन्दा माथिको शैक्षिक योग्यता भएका ९३.१ प्रतिशत उत्तरदाताले अनिवार्य घुम्न पठाउने निर्णयलाई राम्रो भनेका छन्।

सर्वेक्षणमा सोधिएको 'गएको वर्ष तपाईं परिवार सहित कतै घुम्न जानुभयो कि जानुभएन?' भन्ने प्रश्नमा ६०.७ प्रतिशतले घुम्न नगएको जवाफ दिए। घुम्न गएका उत्तरदाता ३९.१ प्रतिशत मात्र भेटिए। घुम्न जानुपर्ने पक्षमा बलियो मत व्यक्त गर्ने स्नातकोत्तर वा त्यसभन्दा माथि अध्ययन गरेका ६२.१ प्रतिशतले घुम्न नगएको जवाफ दिए। सबैभन्दा धेरै वीरगञ्जका ८० प्रतिशत उत्तरदाताले घुम्न गएको बताएका छन्।

घुम्न नगएको जवाफ दिनेलाई सोधिएको 'किन घुम्न जानुभएन?' भन्ने प्रश्नमा सबैभन्दा धेरैले फुर्सद नभएको जवाफ दिएका छन्। घुम्न नगएका मध्ये ३९.६ प्रतिशतले फुर्सद नभएको, २७ प्रतिशतले खर्च नभएको, १६.७ प्रतिशतले घुम्ने चलन/रुचि नभएको र ४.१ प्रतिशतले असुरक्षालाई कारण देखाएर घुम्न नगएको उत्तर दिए। ७.२ प्रतिशत उत्तरदाताले थाहा नभएको बताए भने १.८ प्रतिशतले कारण भन्न चाहेनन्। फुर्सद नभएर घुम्न नजानेमा स्नातकोत्तर वा त्यसभन्दा बढी शैक्षिक योग्यता भएका ९०.९ प्रतिशत छन्। खर्च अभावमा घुम्न नजानेमध्ये निरक्षर ५५.६ प्रतिशत छन्। सबैभन्दा बेफुर्सदिला देखिएका बुटवलका सर्वाधिक ६८.८ प्रतिशत उत्तरदाताले 'फुर्सद नभएर घुम्न नगएको' जवाफ दिए। घुमघामप्रति 'रुचि नभएका' उत्तरदाता चाहिं सबैभन्दा बढी नारायणगढका ४३.८ प्रतिशत छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम