२० साउन २०७० | 4 August 2013

डोकोको कथा नबिर्सौ

Share:
  

हिमाल (६ साउन) मा प्रकाशित 'काल पल्कने खतरा' समाचारले झ्सङ्ग बनायो। बढ्दो आधुनिकीकरणसँगै स्वार्थी सोचले नेपाली समाजलाई नराम्ररी प्रभावित पारेको छ। आफ्ना बाबुआमालाई बुढ्यौलीले छुँदा सहारा दिनुपर्ने सन्तानले बेसहारा बनाई सडकमा छाड्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दो छ। यसरी समाजमा बढ्दो कुसंस्कारको विषयलाई गहन ढंगबाट खोजी गरी आम जनमानसमा पुर्‍याएकोमा हिमाल लाई धन्यवाद। बाबुआमालाई बेसहारा गराई आफ्ना सन्तानको मात्र रेखदेख गर्ने बाबुआमाले आफ्नो बाटो पनि त्यही हो भन्ने कुरा भुल्नुहुँदैन। 'बूढो बाबु फाल्ने डोको' कथाको सार पनि त्यही नै हो।

गोपाल पौडेल, इमेलबाट

वृद्धाश्रममा बढ्दो भीड र बाटोमा बेवारिसे छाडिएका वृद्धवृद्धा हेर्दा थाहा हुन्छ नेपाली समाजमा अभिभावकप्रतिको सम्मानमा कतिसम्म कमी आएको छ भन्ने कुरा। आफ्नै सन्तानले अनेक बहानामा बाबुआमालाई सडकमा पुर्‍याएका घटना नेपाली समाजमा धेरै छन्। कतै नैतिक शिक्षाको अभाव खट्किएर बाबुआमाप्रतिको सम्मानमा कमी आएको त होइन? बुढेसकालमा बाबुआमाको स्याहार नगर्ने सन्तानलाई कानूनी कारबाही गर्ने व्यवस्था नभएसम्म यो समस्यामा कमी आउने देखिंदैन।

सुनिता माली, इमेलबाट

राहत देऊ

हिमाल (६ साउन) मा प्रकाशित 'बगरमा विलाप' पढेपछि दार्चुलावासीको व्यथा बुझन सकिन्छ। बाढीले घर बगाउँदा बेघरबार भएका दार्चुलवासीलाई सहयोग गर्न कसैको ध्यान जान सकेको छैन। वर्षौंदेखि खाद्यान्न अभाव भोगेका दार्चुलावासी बाढीपहिरोका कारण अहिले झ्नै समस्यामा छन्। दुई किलो चामल किन्न प्रमुख जिल्ला अधिकारीको तोक चाहिने दार्चुलावासीको समस्या समाधान गर्न सरकारले तत्काल पहल गर्नुपर्छ।

विकास ओझा, इमेलबाट

कुरा सुन!

हिमाल (६ साउन) मा वर्षौदेखि कष्टकर जीवन बिताउँदै आएका सुर्खेतवासीको समस्यालाई लिएर प्रकाशित 'बन्दूक बुझ्ाएपछिको आश' समाचार पठनीय लाग्यो। खेतबारीको उब्जनी भित्र्याउन नपाउँदै जंगली जनावरले सखाप पारेपछि स्थानीयवासीले उब्जनी जोगाउन भरुवा बन्दूकको सहारा लिनु परेको वास्तविकता हो। अहिले बन्दूक बुझ्ाएपछि न जनावर तर्साएर उब्जनी जोगाउन सकेका छन् न त सरकारले नै सहयोग गरेको छ। यस्तो समस्या समाधानको लागि सरकारको ध्यान जाओस्।

विष्णु शर्मा, इमेलबाट

उपचार चाहियो

हिमाल (६ साउन) मा प्रकाशित 'जेल होइन उपचार' समाचार पढ्दा नेपाली समाजमा मानसिक रोगीप्रति गरिने व्यवहार बुझन सकिन्छ। उपचारको लागि बाधक रहेको कानूनमा सुधार गरी बिरामीलाई समयमा औषधिको व्यवस्था गरिनुपर्दछ। समाजमा बढ्दो प्रतिस्पर्धा र वैदेशिक रोजगारमा गएर फर्केका व्यक्तिमा देखिने समस्याले सामान्यदेखि जटिलखाले मानसिक रोग निम्त्याएको छ। त्यसैले सामाजिक, आर्थिक समस्या समाधानका लागि समयमै ध्यान पुर्‍याउनुपर्दछ।

दीपक आचार्य, इमेलबाट

पे्ररणादायी समाचार

हिमाल (६ साउन) मा प्रकाशित हिमाली गाइडमा संलग्न नेपाली महिलाबारे 'इन्टरनेशनल क्लाइम्बिङ गाइड बन्दै' समाचार पढेपछि नेपाली महिलाले पाएको सफलता बुझन सकिन्छ। यस किसिमका प्रेरणा दिने समाचार प्रकाशित गरेकोमा हिमाल लाई धन्यवाद। चूलोचौकामा सीमित नेपाली महिलाले पछिल्लो समय राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा बनाएको पहिचानको सरकारले कदर गर्नुपर्छ।

कमला पोखरेल, इमेलबाट

प्रशंसनीय काम

हिमाल (३० असार) मा पछिल्लो पुस्ताले आफ्नो भाषा र संस्कृति बिर्संदै गरेको अवस्थामा धरानका युवाहरूले संस्कृति संरक्षणमा देखाएको चासोबारे प्रकाशित 'नयाँ पुस्तामा संस्कृति प्रेम' समाचार पठनीय लाग्यो। धरानका युवाहरूको उदाहरणीय प्रयासको प्रशंसा गर्नै पर्छ। लोप हुँदै गएको संस्कृति संरक्षणका लागि हरेक युवाले आ–आफ्नो समुदायबाट यस्तो प्रयासको थालनी गर्ने हो भने भोलिका दिनमा नेपालीको विविधताको पहिचान कायमै रहनेछ।

यामकुमारी आलेमगर, इमेलबाट

सबैलाई चेतना भया

हिमाल (३० असार) मा प्रकाशित 'थलिए जनकवि' समाचार पढ्दा भावुक भएँ। गीत गाउँदा सबैको प्रशंसाको पात्र बनेका धर्मराज थापा विस्तरामा पर्दा कसैले सम्झेका छैनन्। 'सुखमा हाईहाई, दुःखमा कोही न कोही' भन्ने नेपाली उखानलाई चरितार्थ बनाइदिएको छ थापाप्रतिको व्यवहारले। भोलि आफ्नो अवस्था पनि त्यही होला भनेर किन नबुझेका सत्तामा बस्नेहरूले!

मिलन बम, इमेलबाट

सकारात्मक समाचार

हिमाल (३० असार) मा प्रकाशित 'पौरखी किसानलाई पानी उपहार' समाचार पठनीय लाग्यो। यस्ता समाचार सबैको लागि पे्ररणादायी बन्न सक्छन्। रामेछाप मात्र होइन, अन्य ठाउँका किसानले पनि यस्तै प्रगति गरेको समाचार सुन्न पाइयोस्।

सूर्यभगत श्रेष्ठ, बालुवाटार, काठमाडौं

comments powered by Disqus

रमझम