फर्निचर भन्नेबित्तिकै सामान्यतया काठका फर्निचर बुझिन्छ। तर बजारमा बेत, बाँस, रड, आइरन तथा प्लाष्टिकका फर्निचर पनि उपलब्ध छन्। विभिन्न सामग्री मिश्रण गरी फर्निचर बनाउने चलन पनि बढेको छ।
इन्टेरियर डिजाइनर सानुराजा शिल्पकार उपदेयताको दृष्टिले सजिला र आरामदायी फर्निचरको प्रयोग बढेको बताउँछन्। “यस्ता फर्निचरलाई स्मार्ट फर्निचर पनि भनिन्छ” उनी भन्छन्, “स्मार्ट फर्निचर जीवनशैली र प्रयोगकर्ता अनुकूल बनाइएको हुन्छ।” आवश्यकता अनुसार प्रयोग गर्ने र थन्क्याउन मिल्ने सुविधा पनि यस्ता फर्निचरमा हुन्छ।
नयाँ डिजाइन
अहिले बजारमा स्वदेश र विदेशमा उत्पादित विभिन्न ब्राण्डका नयाँ डिजाइनका फर्निचर पाइन्छन्। प्रत्येकका छुट्टै विशेषता र सुविधा छन्। यसले उपभोक्तालाई छनोटमा सहज तुल्याएको छ।
'स्लिम एण्ड स्मार्ट' अवधारणामा फर्निचर उत्पादन गर्दै आएको बङ्गलादेशी ब्राण्ड हातिल ले गत वैशाखमा नेपालमा शो रुम खोलेको छ। नेपालस्थित हातिल को बिक्रेता अखिल ट्रेडिङका अध्यक्ष अखिलकुमार चापागाई आकर्षक, हलुका तथा कम ठाउँ खाने 'स्मार्ट एण्ड स्लिम' फर्निचर वैभवको प्रतीक समेत मानिने बताउँछन्।
विकसित देशहरूमा प्रविधिमा आधारित फर्निचर पनि प्रचलनमा आउन थालेका छन्। तर, हामीकहाँ भित्रिनै बाँकी छ। एउटै फर्निचरमा धेरै वटा सेट जोडेर बहुप्रयोगमा ल्याउन पनि सकिन्छ।
इन्डेक्स फर्निचरकी बजार प्रबन्धक आशा लामाका अनुसार आकर्षक, स्लिम, हुलुका र सहजै सार्न सकिने फर्निचर उपभोक्ताको रोजाइमा पर्ने गरेका छन्। यस्ता फर्निचर आधुनिकसँगै स्वास्थ्यबर्द्धक समेत होउन् भन्नेमा उपभोक्ताले ध्यान दिने गरेको उनी बताउँछिन्।
स्मार्ट फ्लेक्स सुविधा भएका र प्रेस्ड उडका फर्निचरमा पनि उपभोक्ताको ध्यान जान थालेको छ। स्मार्ट फ्लेक्सका फर्निचर आवश्यकता अनुसारका जडान गर्न र छुट्याउन सकिन्छ। इन्टेरियर डिजाइनर शिल्पकारका अनुसार, यो फर्निचरलाई घरबाहिर पनि प्रयोग गर्न सकिन्छ।
फर्निचरलाई आकर्षक बनाउन र टिकाइराख्न सरसफाइ तथा हेरचाहमा पनि ध्यान दिनुपर्छ। फर्निचरको धूलो हटाउन नरम कपडाले पुछ्नुपर्छ। घाममा राख्दा रङ जाने तथा बिग्रने फर्निचरलाई सोझै घाम पर्ने ठाउँमा राख्नुहुँदैन।
सविता श्रेष्ठ