२० साउन २०७० | 4 August 2013

'रोजगारी र सीप विकासमा ध्यान दिन्छौं'

Share:
  

९ साउनमा ५० हजार अमेरिकी डलर राशीको रेमोन म्यागसेसे पुरस्कार जितेको शक्ति समूहकी संस्थापकमध्ये एक चरिमाया तामाङ भन्छिन्, “अन्यायमा परेका महिलाले अरुलाई अन्यायबाट जोगाउन् भनेर पुरस्कृत गरिएको हुनुपर्छ।”

देबकी विष्ट
शक्ति समूह कस्तो संस्था हो?

यो मानव बेचविखनमा परेका दिदीबहिनी मिलेर मानव बेचविखन विरुद्ध काम गर्न स्थापित संस्था हो। १५ जना मिलेर २०५४ मा स्थापना गरेको यो समूहमा अहिले १६८ जना छौं। बेचविखनमा परेका मात्र यसका सदस्य हुन सक्छन्।

यो पुरस्कार पाउने संकेत तपाईंहरुले कहिले पाउनुभयो?

गत माघमा हाम्रो अफिसमा आएर सोधखोज गर्नेहरू यही पुरस्कार समितिका रहेछन् भन्ने हामीलाई अहिले मात्र थाहा भयो। दुई साता पहिले उनीहरुले मागे अनुसार संस्थाको प्रोफाइल र गतिविधि समूहकी अध्यक्ष सुनिता दनुवारले पठाउनुभएको थियो। त्यसपछि इमेलमा उनीहरुले तपाईंहरूको संस्थालाई सम्मान गर्दैछौं भनेका थिए।

पुरस्कार पाउनुको कारण के हो जस्तो लाग्छ?

यो पुरस्कार शक्ति समूह एक्लैले होइन, बेचविखन विरुद्ध अभियान चलाएका सबै र सम्पूर्ण नेपालले जितेको हो। म्यागसेसे फाउण्डेशनको विज्ञप्तिमा पनि बेचविखनमा परेका महिलाहरूका लागि अनवरत रुपमा काम गरेकाले सम्मानित गरेको भनिएको छ। अन्यायमा परेका महिलाले अरुलाई अन्याय हुनबाट जोगाउन् भनेर पुरस्कृत गरिएको हुनुपर्छ।

पुरस्कारको रकम केमा खर्च गर्नुहुन्छ?

बेचविखनबाट प्रभावित महिलाहरूलाई रोजगारी दिलाउन खर्च गर्नेछौं। अब बेचविखनमा परेका महिलाको उद्धार गरेर मात्रै नपुग्ने निष्कर्षमा हामी पुगेका छौं।

पुरस्कारले तपाईंहरुको योजना र काममा केही फरक पार्छ?

सीमित दिदीबहिनीको संस्था मानिएको शक्ति समूह यो पुरस्कार पाएपछि अन्तर्राष्ट्रिय रुपमा परिचित भएको छ। हामीले चलाएको अभियान सफल पार्न संस्थागत विकास पनि हुनुपर्छ भन्ने हाम्रो ठहर छ। 'जसको सवाल उसको सहभागिता' भन्ने नारालाई हामी अरु दह्रोसँग कार्यान्वयन गर्छौ।

comments powered by Disqus

रमझम