२० साउन २०७० | 4 August 2013

नेपालीलाई सामान्य मोबाइल प्यारो

Share:
  

नेपाली बजारमा स्मार्ट फोन बिक्री गर्न विभिन्न कम्पनीको प्रतिस्पर्धा बढिरहँदा सर्वसाधारणमाझ् भने धेरै खर्च गर्नु नपर्ने सामान्य मोबाइल सेट नै प्रिय देखिएको छ। हिमाल ले गतसाता देशका प्रमुख १२ शहरमा गरेको साप्ताहिक मत–सर्वेक्षणमा सहभागीमध्ये बहुसंख्यक उत्तरदाताले सामान्य मोबाइल सेट चलाउने गरेको भेटिनु त्यसकै उदाहरण हो।

सर्वेक्षणमा सहभागी कुल ३६६ उत्तरदातामध्ये ५६.६ प्रतिशतले सामान्य सेट प्रयोग गरिरहेको बताए, ३५.२ प्रतिशतले स्मार्ट फोन बोक्ने गरेको उत्तर दिए भने ७.९ प्रतिशत चाहिं मोबाइल नबोक्ने उत्तरदाता भेटिए। सामान्य मोबाइल बोक्नेमध्ये ६३.८ प्रतिशत उत्तरदाताले सस्तो भएकाले यस्तो मोबाइल बोक्ने गरेको उत्तर दिए। सामान्य फोन रोज्नुको कारण थाहा नपाउने तथा भन्न नचाहनेको संख्या २.८ प्रतिशत छ।

स्मार्ट फोन बोक्नेमध्ये ७८.३ प्रतिशत उत्तरदाताले धेरै सुविधा भएकाले रोजेको बताए। १०.१ प्रतिशतले चाहिं अरूले बोकेको देखेर स्मार्ट फोन प्रयोग गर्न थालेको बताए भने शानका लागि स्मार्ट फोन राख्ने गरेका उत्तरदाता ७ प्रतिशत भेटिए। तर, ४.७ प्रतिशतले चाहिं स्मार्ट फोन बोक्नुको कारण आफूलाई पनि थाहा नभएको जवाफ दिए।

सेवा र गुणस्तरबारे सधैं सेवाग्राहीको गुनासो भइरहने देशको प्रमुख टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकमप्रति बहुसंख्यक शहरी उत्तरदाताले भरोसा गरेको सर्वेक्षणले देखाएको छ। मोबाइल बोक्नेमध्ये ७२ प्रतिशत उत्तरदाताले नेपाल टेलिकम र २५.९ प्रतिशतले एनसेलका सिमकार्ड प्रयोग गरेको उत्तर दिए, २.१ प्रतिशतको रोजाइ चाहिं युटिएल देखियो। उमेर समूहमा भने युवाको रोजाइमा एनसेल अगाडि छ। १८ देखि २४ वर्ष उमेरका ५९.२ प्रतिशत उत्तरदाताले नेपाल टेलिकम र ३९.५ प्रतिशतले एनसेलको सेवा प्रयोग गर्छन् भने त्यसभन्दा माथिको उमेर समूहका ७० प्रतिशतभन्दा बढी टेलिकमकै सेवा प्रयोग गर्ने भेटिए।

सर्वेक्षणले मोबाइल फोनको बहुपयोग भइरहेको समेत देखाएको छ। 'मोबाइल फोन सबैभन्दा बढी के के काममा प्रयोग गर्नुहुन्छ?' भनेर सोधिएको प्रश्नमा अधिकांश उत्तरदाताले 'कुराकानीका लागि' भन्ने जवाफ दिए। त्यसपछि क्रमशः एसएमएस गर्न, म्युजिक सुन्न र इन्टरनेट चलाउन भनेर जवाफ दिनेहरू भेटिए। फोटो खिच्न मोबाइल प्रयोग गर्ने उत्तरदाताको संख्या १८.२ प्रतिशत छ भने ८ प्रतिशतले 'गेम खेल्न' मोबाइल प्रयोग गर्छन्।

मोबाइलमा फोनमा खर्च गर्ने सवालमा चाहिं शहरिया नेपाली मितव्ययी देखिएका छन्। सर्वेक्षणमा सहभागीमध्ये ७६.८ प्रतिशत उत्तरदाताले मासिक रु.१ हजारभन्दा कम खर्च गर्ने गरेको उत्तर दिए भने रु.१ हजारदेखि रु.२ हजारसम्म खर्च गर्ने १५.२ प्रतिशत, रु.२ हजारदेखि रु.३ हजारसम्म खर्च गर्ने ३.९ तथा रु.३ हजारदेखि रु.५ हजारसम्म खर्च गर्ने ३.३ प्रतिशत मात्र भेटिए। मासिक रु.५ हजारदेखि रु.१० हजारसम्म खर्च गर्ने ०.६ प्रतिशत र रु.१० हजारभन्दा बढी खर्च गर्ने ०.३ प्रतिशत मात्र छन्। सबैभन्दा मितव्यव्यी विराटनगरका मोबाइल प्रयोगकर्ता देखिए, जो मोबाइल फोनमा मासिक रु.१ हजारभन्दा कम खर्च गर्छन्। सबैभन्दा खर्चालु देखिएका धरानका ३२ प्रतिशत उत्तरदाताले मासिक रु.२ हजारभन्दा बढी रकम मोबाइलमा खर्च हुने गरेको बताए। यसमध्ये रु.५ हजारदेखि रु.१० हजार र त्यसभन्दा बढी खर्च गर्ने ४/४ प्रतिशत उत्तरदाता भेटिए।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम