२० साउन २०७० | 4 August 2013

रोपौं एभोकाडो

Share:
  
- जीवनप्रसाद राई
सरकारले लगानी मात्र हैन सम्भावित आम्दानीको आकार पनि हेर्नुपर्ने किसानहरुको भनाइ छ।

वेबसाइट तस्बीर
धनकुटा खुवाफोकका वीरेन्द्र याखा नेपालमा एभोकाडो फलको अगुवा किसान हुन्। उनले धनकुटाको टुँडिखेल छेउमा एभोकाडो फलाएर वार्षिक रु.५ लाख आम्दानी गरिरहेका छन्। उनको यो आम्दानीमा ६० बोट आँपको पैसा पनि जोडिएको छ। नेपालमा एभोकाडो जति रोपे पनि धेरै नहुने याखा बताउँछन्।

अगुवा किसान याखाको सिको धनकुटाकै तल्लो कोप्चे छेउको कर्मिटारका ज्योति श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, विजयकुमार मिश्र, राजबाबु श्रेष्ठ, भवानीप्रसाद पौडेल, प्रदीप राई लगायतका किसानले गरेका छन्। २०–२५ बोटका दरले एक हजार बोट एभोकाडो हुर्काएका उनीहरूले वार्षिक रु.१ लाखसम्म आम्दानी गर्न थालेका छन्। भोजपुर, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सर्लाही, गुल्मी, रूपन्देही, पाल्पा लगायतका जिल्लामा पनि एभोकाडो फलाउन थालिएको छ।

नेपालमा एभोकाडो

कृषि योजनाविद् इन्द्रराज पाण्डे नेपालमा २०२९ सालतिरै एभोकाडोको सोच भित्रिएको भए पनि कृषि मन्त्रालयले यसमा जाँगर नदेखाएको बताउँछन्। पाण्डेका अनुसार शुरूमा सर्लाही र त्रिशूली कृषि फार्ममा यसको परीक्षण गरिएको थियो। देशमा अहिले देखिएको एभोकाडो खेती अभियान भने उत्साही किसानहरूको निजी पहलमा अगाडि बढेको हो।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्। धनकुटाका याखा खोला वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिने बताउँछन्। उनको भनाइमा नेपालका तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ। किसानले खेती थालेकै छन्, गुणस्तर वृद्धिमा सरकारले काम गर्नुपर्छ।

एभोकाडोको समस्या

एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ। मंसीरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ। बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै लाग्दैन। एभोकाडोको मुख्य समस्या यही हो। यो समस्या किन मुख्य बन्यो भने, एभोकाडोलाई भण्डारण गरेर राख्न सकिंदैन। नेपाली बजारमा मंसीरतिर प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ। नेपाली एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ। यसका लागि लगानी र प्रविधि चाहिन्छ। प्रशोधनशालाका साथै, राम्रो जातको भरपर्दो बिरुवाको समस्या भएको याखा बताउँछन्। उनका अनुसार, पात बटारिने समस्याको निदान भेटिएको छैन।

एभोकाडोको मात्र हैन, नेपालको समग्र कृषि क्षेत्रमा इच्छाशक्ति हुनेहरूसँग स्रोत नहुने र स्रोत हुनेहरूसँग इच्छाशक्ति नहुने समस्या छ। सरकारले इच्छाशक्ति भएका किसानहरूलाई सजिलो हुने नीति लागू गर्दा देशभर अरू बालीसँगै एभोकाडो फल्ने प्रचूर सम्भावना छ। यसका लागि सरकारले अहिले गर्नुपर्ने लगानी मात्र नहेरी भोलि हुने आम्दानीको हिसाब गरेर अगाडि बढ्नुपर्ने किसानहरूको माग छ।

comments powered by Disqus

रमझम