२० साउन २०७० | 4 August 2013

सहयोगी मोबाइल एप्लीकेशन

Share:
  
- ऋषिराम कट्टेल
कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढिरहेका पाँच तन्नेरीले आपतकालीन अवस्थामा सहयोगी हुने मोबाइल एप्लीकेशन बनाएका छन्।

अनिष पराजुली, विनिशा श्रेष्ठ, न्हसला जोशी, कवीन्द्र शाक्य र दीपेन्द्र कुसी (घडीको सुई अनुसार)
अनिष पराजुली (२१), विनिशा श्रेष्ठ (२३) र दीपेन्द्र कुसी (२१) एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थी हुन् भने कवीन्द्र शाक्य (२२) र न्हसला जोशी (२१) ख्वपः कलेजमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढिरहेका छन्। उनीहरुको नाम किन उल्लेख्य भयो भने बीई तेस्रो वर्षका यी पाँच तन्नेरीले एन्ड्रोएड अपरेटिङ सिस्टम भएको मोबाइल सेटका लागि नयाँ एप्लीकेशन बनाएका छन्, जुन आपतकालीन अवस्थामा भरपर्दो सहयोगी हुने उनीहरुको भनाइ छ।

विश्व ब्याङ्क नेपाल र सफ्टवेयर सम्बन्धी काम गर्ने संस्था योङ इनोभेशनले महिला हिंसा रोक्न उपयोगी हुने प्राविधिक जुक्ति पत्ता लगाउन १ असारमा थापाथलीको ट्रेड टावरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर उनीहरुले यो एप्स बनाएका थिए। कार्यक्रममा सहभागी विनिशाले यो एप्स अरु जुनसुकैको अवस्थामा सहयोगी हुने बताइन्। उनका अनुसार, यसमा चार वटा प्रोग्राम छन्, जसमध्ये तोकिएको वटन थिच्दा पहिल्यै सेट गरिएका चार वटा नम्बरमा लोकेशन सहित 'क्विक एसएमएस' जान्छ। ती नम्बरहरु आफन्त र प्रहरीको हुन्छ। विनिशाले भनिन्, “भइरहेको घटनाको फोटो र घटनास्थलको लोकेशन सहित प्रहरीकहाँ खबर पुग्नु यो एप्सको अर्को विशेषता हो।”

यसरी यो एप्सबाट घरेलु हिंसा भइरहेको घरको लोकेशन सहितको सूचना प्रहरी वा हिंसा सम्बन्धी संघ–संस्थासम्म पुग्न सक्छ। केही समयभित्रै यो एप्स गुगल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने विनिशा बताउँछिन्। यो एप्सबारे उनीहरुको फेसबुक पेज facebook.com/Selhelp बाट समेत जानकारी हासिल गर्न सकिनेछ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम