काँडायुक्त बाटो हिंडेर पीच सडकसम्म आइपुगेकी शान्ताको जीवनयात्रा पाठकका लागि स्तब्धकारी, रोमाञ्चक र प्रेरणादायी लाग्छ। पुराना घटना सम्झेर बदलाभाव राख्नु, आक्रोशित हुनु र कसैलाई व्यक्तिगत आरोप लगाउनुहुन्न भन्ने उनको विचार अनुकरणीय छ। विभाजन उन्मुख नेपाली समाजमा पूर्व सभासद् शान्ताको क्षमाशील भावनाको महत्व आकलन गर्न सकिन्छ। एक समय नेपालका ठालु वर्गले चलाएको कुसंस्कारको शिकार भएकै पात्रले क्षमाशील भावमा लेखेको यो पुस्तक पठनीय र सङ्ग्रहणीय त छ नै, भावी पुस्ताका निम्ति उदाहरणीय पनि हुन पुगेको छ।
पुस्तकमा सङ्घर्ष, प्रेरणा र सफलताको कथा छ। कथामा कलात्मकता र सिलसिलाको धागो निकै झिनो हुनु पुस्तकको कमजोरी हो। सिलसिलाको धागो पटक–पटक छिनिंदा पाठकलाई रनभुल्लमा पारिदिन्छ। जमिनदारको घरमा कमलरी बस्दाबस्दै २०६२ सालमा आफ्नो गाउँलाई 'कमलरी मुक्त' घोषणा गरेकी र त्यसअघि नै भूमि अधिकार मञ्चको अध्यक्ष भइसकेकी शान्ता स्वयम् भने कमलरी नै रहेकी छन्। जीवनलाई पिंजडाको सुगासँग तुलना गर्दै शान्ता ५–७ किलोमिटर टाढाको हलमा सिनेमा हेर्न पुगेकी छन्। ८–१० वर्षको उमेरसम्म उनी पिन्चे स्वभावकी थिइन् भन्दै तिनले गर्नुपरेको गहु्रँगो कामको चर्चा चल्दाचल्दै एक्कासी बैंसालु उमेरको सन्दर्भ जोडिएको छ। त्यसैबेला उनी जमिनदारका सन्तानलाई पिट्नेसम्म भएकी छन्। यसका अतिरिक्त पुनरुक्ति, नमिलेका वाक्य र व्याकरणगत गल्ती पनि यो पुस्तकको कमजोर पक्ष हो।
पछिल्लो समय नेपाली पुस्तक बजारमा प्रशासक, राजनीतिज्ञ, कलाकार आदिका संस्मरणले अन्य विधालाई ओझेल पारिरहेका छन्। संस्मरण आफैंलाई नढाँटी लेख्नुपर्छ। तर, अधिकांश संस्मरण मपाईंत्व प्रदर्शनका साथै आफूले विगतमा गरेका गल्ती–बद्मासी छोप्ने झूटका पुलिन्दा बनेका छन्। जसका कारण सर्वप्रिय विधा 'संस्मरण' अरुचिकर बन्न लागेको बेला ३३ वर्षीय शान्ता चौधरीको पठनीय जीवन कथा आएको छ। उनको भोगाइ पत्याइनसक्नु छ र उनको सङ्घर्ष सलामयोग्य छ। उनले आफू जस्ता पीडित नागरिकहरूको मुक्तिको लागि लडेकी छन्।
कमलरीदेखि सभासद्सम्म मा दृश्यहरू कम छन्। घटनाको बयान छ, तर फितलो। पुस्तक पढिरहँदा पाठक एक पटक पनि शान्ताको थातथलो दाङको डाँडागाउँ पुग्दैन। एमालेको बढ्तै पक्षपोषणले लेखिकाको सङ्घर्षशील छविलाई धुमिल पारेको छ। एमालेको बखानमा सभासद् शान्ता बोलेकी छन्, एउट मुक्ति योद्धा होइन। पार्टीको मुखपत्रका निम्ति उपयुक्त आलेख छाडेर जब उनी आफ्नो विगतको भोगाइबारे वर्णन गर्न थाल्छिन् तब पाठक सोचमग्न बन्न बाध्य हुन्छ। एउटा सम्भावित विश्वस्तरीय कृति आवश्यक सम्पादनको अभावमा मर्न सक्छ। शान्ताले यो कृतिको आगामी संस्करणलाई गम्भीर सम्पादन गराएर मात्र बजारमा ल्याउँदा राम्रो हुन्छ।
राजेन्द्र पराजुली