२० साउन २०७० | 4 August 2013

नरबहादुर कर्माचार्य

Share:
  

वासु क्षितिज/अन्नपूर्ण पोष्ट
१४ कात्तिक १९८१ ― ९ साउन २०७०
नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक मात्र जीवित नेता नरबहादुर कर्माचार्यको ९ साउनमा निधन भएको छ।

३० भदौ २००६ मा कलकत्तामा गठित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सहित नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठको यसअघि नै निधन भइसकेको छ। संस्थापकमध्येका सबैभन्दा कान्छा नरबहादुरको निधनसँगै कम्युनिष्ट आन्दोलनको एक युगको अन्त्य भएको छ। उनी राणा शासनदेखि पंचायत र राजतन्त्र विरुद्धको आन्दोलनमा लगातार सक्रिय रहे।

जण्डिस र ज्वरोले थलिएपछि ८९ वर्षीय कर्माचार्यलाई २३ असारमा काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न डाक्टरहरुका अनुसार पित्तनलीको कलेजोको द्वारको मुख्य नसामा ट्युमर पलाएर उनमा संक्रमण देखिएको थियो।

प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका कर्माचार्य पछिल्लो समय एमाओवादीका संरक्षक थिए। कम्युनिष्ट पार्टी स्थापनाअघि उनी प्रजातन्त्र संघमा आबद्ध थिए भने त्यसको केही समयपछि राष्ट्रिय कांग्रेसमा। राणा विरोधी र मजदूर आन्दोलनमा सक्रिय रहँदा उनले जेल सजाय मात्र होइन, निर्वासित जीवन समेत बिताउनु परेको थियो। २०४८ सालमा एकता केन्द्र तदर्थ समितिको अध्यक्ष र मजदूर संगठनका संस्थापक अध्यक्ष रहेका कर्माचार्य पार्टीमा सक्रिय भएकै बेला २०१६ सालमा ललितपुर नगरपालिकाको प्रमुख भएका थिए। २०१७ को राजनीतिक 'कु' पछि पुष्पलालसँग उनको दूरी बढ्यो। २०१९ सालमा तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कर्माचार्य चौथो महाधिवेशनपछि एकता केन्द्रमा आबद्ध भएका थिए। कम्युनिष्ट पार्टीमा आएको विभाजनप्रति असन्तुष्ट कर्माचार्य सबैलाई मिलाएर एकता कायम गर्ने पक्षमा भए पनि उनको त्यो सपना भने पूरा हुन पाएन।

समाज वा व्यवस्थाको परिवर्तन शान्तिपूर्ण ढंगबाट गरिनुपर्ने पक्षमा थिए उनी। त्यसैले २०२८ सालको झापा आन्दोलन होस् या २०५२ को माओवादीको सशस्त्र हिंसात्मक राजनीति; उनी कहीं पनि जोडिएनन्।

comments powered by Disqus

रमझम