२० साउन २०७० | 4 August 2013

सपना महल

Share:
  

विक्रम राई
सिने सेलिब्रेटीहरूको चमकधमकपूर्ण पेशाभित्रका अँध्यारा पाटाहरू देखाइएको नाटक 'स्वप्नमहल' ४ साउनदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। महत्वाकांक्षा र यथार्थबीचको अन्तरद्वन्द्वलाई मसिनोसँग खोतलिएको यो नाटकका निर्देशक इलम दीक्षित हुन्।

प्रख्यात अमेरिकी नाटककार टेनेसी विलियम्सको अ स्ट्रिट कार नेम्ड डिजायर को नेपाली रुपान्तरण हो स्वप्नमहल। यसमा अमेरिकाको एउटा निश्चित स्थान र समयको कथालार्ई नेपालीकरण गरिएको छ। नाटकमा मानसिक तनावमा रहेकी युवतीले सुनाएको सपनाको महलको कथा छ। नाटकको नेपालीकरणमा घण्टाघर नजिक रहेको बागबजारका नेवारको घरको भुईंतलामा भाडामा बस्ने परिवारले देखेको महलको परिवेश छ।

२०४६ सालपछिको काठमाडौंको दुरुस्त झल्को दिने नाटकको कथा सिक्किमकी बेली आफ्ना बहिनी–ज्वाइँको डेरामा आएपछि शुरु हुन्छ। सौन्दर्य र मिहिनेतको बलले बम्बईमा स्थापित हुनपुगेकी फिल्मी स्टार बेली आफ्ना ध्वस्त सपनाहरूको भग्नावशेषमाथि टेक्दै आएकी हुन्छिन्। उनमा मानसिक समस्या पनि देखा पर्छ। नाटकमा बेली, उनकी बहिनी तारा र ज्वाईं शंकर मार्फत साम्प्रदायिकता पनि देखाइएको छ। बेली र ताराको भूमिकामा समुना केसी र सरिता गिरी राम्ररी जमेका छन्।

फ्रिलान्सर्स नेपालको प्रस्तुति रहेको यो नाटकको नेपाली रुपान्तरण समुनाले गरेकी हुन्। फरक स्वादको नाटकमा प्रमोद अग्रहरि, मोहम्मद नाजिर हुसेन, जुनु विष्ट, सायद अशोक, सुदाम सिके, इलम दीक्षित र चन्दा राईको अभिनय पनि उत्कृष्ट छ। दर्शकले ११० मिनेट बितेको पत्तै पाउँदैनन्। नाटक २ भदौसम्म मञ्चन हुनेछ।

comments powered by Disqus

रमझम