११-१७ असार २०७४ | 25 June - 1 July 2017

सेन चिनाउने स्याहामोहर

Share:
  
- ज्ञानमणि नेपाल
राज्यलाई अंशवण्डासरह ठान्दा मुनिमुकुन्द सेनको राज्य पहिलो पुस्तामै छिन्नभिन्न भयो।

प्राचीनकालदेखि आधुनिककालसम्मको नेपालको इतिहास सिंहावलोकन गर्दा एकीकरण र विखण्डनका थुप्रै घटना पढ्न पाइन्छ। प्राचीन लिच्छविकालको इतिहास शिलास्तम्भमा अङ्कित संस्कृत भाषाका अभिलेख तथा मुद्राहरूबाट प्रमाणित हुन्छ। विक्रम संवत्को छैटौं शतकको शुरूमा राजा मानदेवको शासनकाल प्रारम्भ भएको थियो। उनका पिता राजा धर्मदेवको अवसानलगत्तै पश्चिमका मल्ल सामन्त तथा पूर्वका जब्बर शठ सामन्तले स्वतन्त्र हुने तरखर गरेका थिए। तर, मानदेवले दुवैलाई कज्याई नेपाल टुक्रन दिएनन्।

त्यसपछिका अंशुवर्मा, नरेन्द्रदेव, जयदेव आदि शासकले पनि नीतिशास्त्र, धर्मशास्त्र अनुसार राज्य समुन्नत बनाइराखे। शासक मात्र होइन त्यसबेला यहाँ श्रुतिस्मृतिका विद्वानहरू पनि थिए। यसअर्थमा लिच्छविकाल नेपालको इतिहासमा सम्पन्न, समृद्ध र उन्नत मानिन्छ। त्यसपछि भने यस देशको विखण्डनका दिन शुरू हुन्छन्। र, यो ११औं शताब्दीसम्म रहन्छ।

१२औं शताब्दीमा भने दक्षिण पश्चिममा दुईवटा शक्तिको उदय हुन्छ। तराई सिम्रौनगढमा चालुक्यवंशी राजाको चकचकी चलेको बेला तिनको नैयर सैनिक बल उत्तर भारत हुँदै नेपालसम्म आइपुग्थ्यो। कर्णाटकतिरकै महासामन्त नान्यदेवले सिम्रौनगढमा राज्यको स्थापना गरे। यो राज्यले चाँडै प्रगति गर्‍यो। राजधानी समतल भागमा भएको हुँदा गजबको अगम जलदुर्ग वनदुर्गभित्र दरबार रहेको थियो। राजसभामा बडेबडे शास्त्रविद्हरूको जमघट हुन्थ्यो। सेनामा डोयेजातिका शूरवीर लडाकाहरू थिए।

यतिखेरै कर्णाली प्रदेशको सेञ्जापुरी– सिजामा नागराजले खस राज्य स्थापना गरे। यी राजाहरू पहिले चल्ल कहिन्थे, पछि मल्ल भनिन लागे। झ्ल्ल, मल्ल, चल्ल पहिलेदेखि नै प्रचलित जाति थिए। विक्रमादित्य कहलिएका चालुक्यवंशी राजाले मल्ल पद लिएका हुनाले शाही, शाह भनिए जस्तै मल्ल उपाधि धेरै मानमनितो पाएको पद भयो। यसैले नेपालदूनका राजा र सिजाका खस राजाले पनि मल्ल पद नै मन पराए। यसैले यी खस मल्ल कहिन्छन्। खस भनेका लडाका वीर आयुधजीवी जाति हो। यिनै वीर खस लडाकाका बलले सिजाली राजाले विशाल साम्राज्य खडा गरे, यिनले घोडचढी सैनिक लिएर सम्पूर्ण पहाडी प्रदेश वशमा पार्दै पूर्वमा नेपालदून, पश्चिममा केदारसम्म पुगेका थिए। उत्तरमा पुराङ र दक्षिणमा सबै तराई पनि हत्याएका थिए। बारम्बार दूनमा धक्का दिन आइपुग्थे।

यता सिम्रौनगढका राजाहरूले पनि नेपालदूनबाट धन असुली जान्थे। यी दुवैतिरका विजेताहरूको आँखी भयो, नेपालदून।

एउटा कुरा भने विचारणीय छ। यी राजाहरूले दिग्विजय गरेर जतिसुकै धन असुलेर लगे पनि सनातन धार्मिक परम्परा अनुसार 'दिएको लाख लिएको खाग' उक्ति अनुसरण गर्दै दानदातव्य, भूमिदान, तुलादान, सदावर्त तलाउ, पोखरी, मन्दिर निर्माण आदि कार्य गर्दै धनसम्पत्ति बर्ताउने गर्थे।

सिजा राज्यमा जति पनि जाति राजाश्रयमा आउँथे, विमुख भएर फर्केर जानुपर्दैनथ्यो। जस्तो कि पढेलेखेका बाहुन आए विजित प्रदेशमा विर्ता दिएर प्रबस्ती मिलाइदिने, खस, मगर आदि आयुधजीवी जातिका मानिसलाई छाप, खर्क र जागीर गाउँ दिएर सैनिक पेशालाई स्थायी पारिराख्थे। खस, मगर, बाहुनको फैलावट व्यापक हुनुको कारण यही हो।

गयासुद्दिन तुगलकको भीषण आक्रमण पछि सिम्रौनगढ राज्य ध्वस्त भयो। त्यहाँका अन्तिम राजा हरसिंह देव सपरिवार पहाडतिर पसे। सिन्धुलीको तीन पाटन किल्लामा उनी चाँडै बिते। रानी र छोरा भने नेपालदूनमा पसे। उता सिंजा राज्य पनि टुक्रिंदै गएर बाईसी राज्यमा परिणत भयो।

सोह्रांै शताब्दीमा पाल्पामा सेनवंशी राजाको शासन चल्यो। रुद्रसेनका छोरा मुनिमुकुन्द सेन बडा विजयी भएर निस्किए, राज्य विस्तार गर्न लागे। वीर लडाका खस, मगर सैन्यबलले गण्डकी प्रदेश विजय गर्दै नेपालदूनसम्म आइपुगे। तर, दूनमा उनको विजय स्थायी भएन, युद्ध खर्च वापत केही धन असुलेर अघिका खस मल्ल राजा जस्तै फर्किए। पूर्वतर्फको समुच्चा पहाड र तराई भने उनको अधीनमा रह्यो। पूर्व सुखिम सीमानासम्म उनको झ्ण्डा फर्फरायो। दक्षिणी सीमा गङ्गा–नारायणी सङ्गम हरिहर क्षेत्रसम्म पुगेकाले सेन राजाहरूले कुनै बेला 'हिन्दूपति' उपाधि पनि लिएका थिए।

परन्तु मुनिमुकुन्द सेनको साम्राज्य एकपुस्ते भयो। उनको सेखपछि राज्य छिन्नभिन्न भयो। उनका छोरा नातिले राज्यलाई अंशबण्डा जस्तै गरे। 'जसको शक्ति उसैको भुक्ति' भने जस्तै जो जहाँ बलिया भए त्यहीं तिनको शासन चल्यो। जेठा माणिक्य सेन मूल गद्दी पाल्पामै जमे भने भृंगी सेनले तनहुँ राज्य लिए। विनायक सेनले बुटौलमा अधिकार जमाए। कान्छा लोहाङ्गसेनले आफ्नो नेतृत्वमा विजित सम्पूर्ण पूर्व प्रदेशसहित मकवानपुरमा राजधानी खडा गरे। मुनिमुकुन्द सेनका भतिजा रामसिंहले रिसिङ्गमा र नाति चन्द्रसेनले राजपुर राज्य लिए। यसरी एक झ्मटमा एकीकृत भएको राज्य अर्को झ्मटमा भताभुङ्ग भयो। 'मुनिमुकुन्द सेनले मुलुक मारे जस्तो' भन्ने आहानै चल्यो।

मुनिमुकुन्द सेनको पाल्पा राज्य उनका छोरा नातिमा ६ भाग लागेको थियो। जसमध्ये सबैभन्दा ठूलो पूर्वी पहाड र तराईसम्म फैलिएको मकवानपुर लोहाङ्गसेनको थियो। उनका छोरा शुभसेन, नाति हरिहर सेन भए। शुभसेनका दुई भाइ छोरा महीपति सेन र माणिक सेनमा फेरि राज्य बाँडियो। महीपति सेनले पूर्वको विजयपुर राज्य छुट्याएर लिए। यता माणिक सेनका दुई छोरामध्ये जगतसेनले कमला कोशी बीचको तराई र दूधकोशी अरुण बीचको पहाडी भाग लिएर चौदण्डी गढीमा राजधानी बनाए। यसरी एक मकवानपुर राज्य तीन राज्यमा परिणत भयो।

सेनले जस्तै अरू राजाहरूले पनि गण्डकी प्रदेशमा चौबीस वटा साना–ठूला राज्य खडा गरे। शाहका मात्रै आठ टीका (राज्य) थिए।

सिंजाका खस मल्ल, पाल्पाका सेन र नेपालदूनका मल्ल राजाका छोराहरूले राज्य टुक्र्याएको देखेर गोरखाका राजा पृथ्वीनारायण शाह चिन्तित देखिए। त्यसैले उनले ठूलो दुःखले जोडेर नेपाल राज्यलाई अंशबण्डासरह टुक्रनबाट बचाए, ज्येष्ठभागीको रोलक्रमको नियम लागू गराए। त्यसअघि यस्तो नियम थिएन। कालान्तरमा जुनबेला ज्येष्ठ भागी नियम मिचियो, शाहवंशीय शासनकै अवसान भयो।


चौदण्डीका राजाले ज्योतिषी विश्वेश्वर अर्जेललाई सप्तरीमा बिर्ता दिएर गरिदिएका तीन स्याहामोहर पृथ्वीन्द्रोदय पुस्तकबाट प्रस्तुत गरिएका छन्।

१) मुकुन्दसेनले उदयानन्दका बाबु विश्वेश्वर अर्जेललाई बैडवा बिर्ता दिएको
स्याहामोहर (१८१६)

पट्टासही

स्वस्तिश्रीरुपनारायणेत्यादिविविधविरुदावलिविराजमानमानोन्न–

तमाहाराजहिन्दुपतिछत्रपतिराजराजेश्वरमाहाराजधीराज श्रीश्रीश्री– मुकुन्दसेनदेवदेवानाम् सदा समर विजयीनाम्

प्रगन्ना सप्तरीतर्फ खालिसामध्ये मौजे बैरवा ससिम श्रीविश्वेश्वर जोईसिके कुस बिर्ता सर्व अंक बेतलब पट्टा कै दिहल है. आपना खातिरज्मासौ बसहु बसावहु. जोतहु जोतावहु. हजुर सेवन रुजु रहि श्री . . . के आसिर्वाद कैल करहु. बिर्ता जानि परम सुख भोग्य करहु

ईति सम्बत् १८१६ साल माघ सुदि ५ रोज मोकाम सिखरमाडी –

मौजे हथीनाक जमिनमध्ये सरिहनक खेत विगाहा दश १० दिहल बेतलब – (फट्केमा)
रुजु सिंहदेव राये –

२) कर्णसेनले विश्वेश्वरलाई दुधैला बिर्ता दिएको स्याहामोहर (१८२४)

श्रीलक्ष्मीनारायेनजी

स्वस्तिश्रीरुपनारायणेत्यादिविविधविरुदावलिविराजमानमानोन्नत श्रीहिन्दुपति राजाराजेश्वर (र) श्रीमन्महाराजधिराज श्रीश्रीश्रीमत्–कर्न्नसेनजीदेवदेवानां सदा समरविजयीनाम् ........

श्रीविसेस्वर जोइसिके प्रगन्ना पकरिआमध्ये मौजे दुधैला ससिमकै रानिटार व खजुरिक साटो कुस बिर्ता कै दिहल है. अपन खातिरज्मासौ वसहु. बसाबहु. जोतावहु. तकर उतपंन्न अपन कुस बिर्ता जानि परम सुख्य भोग्य करि आसिर बचन (कैल करहु) दश बिर्ताबारक सरह रुजु होई कैल करहि. ईति सम्बत् १८२४ साल माह असाढ सुदि तारिक ७ रोज मोकाम चौडंडी –

(फट्के शिरमा) कुसबिर्ता पट्टा सही ––

सिमाना दुधैलाक उत्तर जामु (न) गाछ दछिन पिपलगाछ पछिम ... पोखरि चौधरिक ...

(फटके तल)

रुजु चौतरिआ श्रीअजीत राए –

३) कर्णसेनले विश्वेश्वरलाई मुसहर्नियाँ बिर्ता दिएको स्याहामोहर (२८२५) श्रीलक्ष्मीनारायेनजी

स्वस्तिश्रीरुपनारायेन ईत्यादिविविधविरुदावलिविराजमानमानोन्नत–छत्रपति–गजपति–हिन्दुपति राजाराजेस्वर–श्रीमन्महाराज–श्रीश्रीश्रीमन् कर्नसैनदेवदेवानां सदा समरविजयीनाम् ....

श्रीविश्वेश्वर जोइसिके प्रगन्ना सप्तरितर्फ जगदरमध्ये मैजे मुसहर्निञा ससीम कुसबिर्ता कै दिहल अपाना खातिरज्मासौं कुसबिर्ता जानि जोतु जोताउ पट्टा बमोजिम परमसुख्ख भोग्य कैल करु पिबिहा(दा)र (कै) के दिहल ज्मीदारि सिकदारि फौजदारि कानुग्वाए व भी रहि हाथीबारा राजसलामि खंडपुजा वा सिधा सलामि वगैह्र सर्व अंक माफ कै दिहल (दशौद) सुधा

इति सम्बत १८२५ साल चैत्रसुदि ५ रोज मोकाम सिखरमाडी (फट्केमा)

कुसबिर्ता पट्टासहीः

रुजु चौतरिया अजीतराय

comments powered by Disqus

रमझम