२० साउन २०७० | 4 August 2013

मिथक होइनन् बीपी

Share:
  
- दीपक अर्याल
बीपी कोइरालाको राजनीतिज्ञ, साहित्यकार र चिन्तक व्यक्तित्वलाई 'मिथक'मा रूपान्तरण गरिंदैछ।

२०६० सालमा बीपीका अप्रकाशित सामग्रीहरू कहाँ, के र कोसँग छन् भनेर जान्ने उद्देश्यका साथ थुप्रै व्यक्तिलाई भेटें। सीधै सामग्रीबारे सोध्न अप्ठेरो लागेर बीपीबारे कुरा गरी त्यसको अडियो–भिडियो बनाउन थालें। यसक्रममा बीपीका अति आलोचना र अति प्रशंसा सुन्नु पर्‍यो। यसरी बोल्ने कतिपयसँग दोहोर्‍याएर कुरा गर्ने आवश्यकता रहेन।

नेपाली मिडियामा सबभन्दा बढी लेखिने–देखिने राजनीतिज्ञ बीपी हुन्, तर पछिल्लो एकदशकमा उनीबारे नयाँ कुरा आएको छैन, केही अपवादलाई छाडेर। यसबीचमा बीपीले 'माटो छोएर देशका बारेमा सोच्न र निर्णय गर्न वा राष्ट्रिय योजना आयोगको हलमा किसानको हलो जोतेको फोटो राख्न' भनेको प्रसंगलाई दोहोर्‍याउने वा आफ्नो अनुकूल व्याख्या गर्ने धेरै काम भए। कतिसम्म भने, नेकपा–माओवादीले समेत बीपीका भनाइलाई आफ्नो अनुकूल व्याख्या गर्छ। बीपीबारे डा. ध्रुव शर्मा, बेनीबहादुर कार्की, यदुनाथ खनाल, कुमारमणि दीक्षित, श्रीभद्र शर्मा, केशरजङ्ग रायमाझी, होराप्रसाद जोशी, भीमबहादुर तामाङ आदिबाट अब चाहेर पनि थप जानकारी लिन सकिन्न। चक्रप्रसाद बाँस्तोला र गणेशराज शर्मा बिरामी हुनुहुन्छ।

पुरानो पुस्ताको अवसानसँगै बीपीको मात्र होइन पुराना राजनीतिक–सामाजिक इतिहासका विविध पक्षहरू पनि हराउँदै गएका छन्। नेपालका कम्युनिष्टहरूले मार्क्स वा माओका ४–६ लाइन सुनाएर आफूलाई खाँटी कम्युनिष्ट देखाए जस्तै नेपाली कांग्रेसका धेरै नेता–कार्यकर्ता बीपीका केही प्रसङ्ग सुनेर बीपीको विचार बुझेको भ्रममा परे जस्तो देखिन्छ। उनीहरूले बीपीलाई एक नेता, एक साहित्यकार र एक असल व्यक्तिका रूपमा भन्दा 'मिथकका हिरो'का रूपमा स्थापित गर्दैछन्। यहाँनेर दमननाथ ढुङ्गाना, स्व. यदुनाथ खनाल र भीमबहादुर तामाङका विचारहरू सान्दर्भिक हुन सक्छन्। चुनावी टिकट विवादका वेला बीपीले ओमकार गौचनलाई लेखेको पत्र सान्दर्भिक हुन सक्छ। तर, बीपी चर्चामा यस्ता कुराहरू हराउँछन्।

दमननाथ ढुङ्गानाले भनेका छन्, 'अस्पताल, छात्रवृत्ति वा हुलाक टिकटले बीपीलाई चिनाएको होला तर राजनीतिमा बीपी चिन्तन बचाउने काम भएन, त्यसलाई उनको पार्टीले अगाडि बढाउन सकेन वा चाहेन। बीपीबारे खूबै लेखिन्छन्, तर उनले कस्तो प्रजातन्त्र र समाजको परिकल्पना गरेका थिए भनेर कोही लेख्दैन, बोल्दैन।' स्व. यदुनाथ खनालले संस्था निर्माणमा ध्यान नदिनुलाई बीपीको कमजोरी मानेका थिए। खनालको विचारमा, खासगरी संस्था निर्माण नहुनु, संस्था स्वायत्त नहुनु र संस्थागत निर्णय हुन नसक्नु नेपालको दुर्भाग्य रह्यो। नेपाली प्रजातन्त्र कमजोर हुनुको मूल कारण यही रह्यो।

प्रजातन्त्रप्रति बीपीको विचार के थियो भनेर बुझ्न–बुझाउन नसकेकोमा खनालको भनाइ थियो– 'प्रजातन्त्र गिरिजा वा ज्ञानेन्द्रले दिने होइन, तपाईंले अभ्यास गर्ने हो। बीपी सधैं कराउँथे– राष्ट्रियता भनेको के हो? जनता। इतिहास भनेको के हो? जनता। ठीक बाटोतिर जाने त जनता हो नि! प्रजातन्त्र आएपछि जनताले पनि त्यस अनुकूल व्यवहार गर्न थाले भने प्रजातन्त्र ठीक बाटोमा जान्छ। इतिहास मान्छेले बनाउने हो, इतिहासले मान्छे बनाउने होइन।'

अब बीपीलाई बुझने–बुझाउने वेला भएको छ। यसका निम्ति हिजो लुकेका वा लुकाइएका कैयौं प्रसंगहरूलाई बाहिर ल्याउन जरूरी छ। बीपी नेपाल फर्कने वेला तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले वनारस विश्वविद्यालयका चिकित्सक डा. लोकेन्द्रमान सिंहलाई दिएको प्रतिक्रिया, गिरिजाप्रसाद कोइरालाको सन्दर्भमा बीपी रोएको योगप्रसाद उपाध्यायको प्रसंग अब बाहिर आउनुपर्छ। गणेशराज शर्माले पनि शैलजा आचार्य–बीपी कोइराला सम्बन्धका विषयमा बोल्ने वा लेख्ने वेला भएको छ। यस्ता प्रसंगहरू आउँदै जाँदा बीपीको समग्र पक्ष बुझन सजिलो हुनेछ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम