११-१७ असार २०७४ | 25 June - 1 July 2017

'जसरी पनि' जित्ने

Share:
  
- तुफान न्यौपाने, प्यूठान–रोल्पा
'आधारभूमि' रोल्पामा जे गरेर भए पनि चुनाव जित्ने अभियानमा माओवादी नेतृत्वले शत्तिा्क खन्याएको छ।

एमाले रोल्पा जिल्ला कमिटी सदस्य थमबहादुर सुनारलाई पार्टी प्रवेश गराउँदै परराष्ट्र मन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा।
५ असारमा रोल्पाको दुईखोली गाउँपालिकामा आयोजित चुनावी सभामा आएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेकपा (एमाले) का जिल्ला सदस्य थमबहादुर सुनारलाई नेकपा (माओवादी केन्द्र) मा भित्र्याए। त्यस दिन रोल्पाकै सुनछहरी, सुवर्णावती र लुंग्री गाउँपालिकामा चुनावी सभा र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका महराले ६ असारमा प्यूठान जिल्लाका कार्यकर्तालाई निर्देशन दिन पनि भ्याए।

महराजस्तै रोल्पा नै गृहजिल्ला भएका अर्का माओवादी नेता वर्षमान पुन पनि स्थानीय तहमा उम्मेदवारी दर्ता भएदेखि नै जिल्लामा व्यस्त छन्। उनले रोल्पा नगरपालिका, त्रिवेणी, सुनछहरी, माडी, लुंग्रीलगायतका गाउँपालिकामा चुनावी सभा र कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्। माओवादीको 'उद्गम थलो' मानिएको रोल्पामा पार्टीलाई विजयी गराउने स्वार्थसँगै भ्रमणमा महरा र पुनको व्यक्तिगत सम्बन्ध पनि गाँसिएको छ। रोल्पा नगरपालिकामा मेयरका उम्मेदवार पूर्ण केसी महराका छोरीज्वाइँ हुन् भने उपमेयर उम्मेदवार कमला पुन चाहिं वर्षमानकी बहिनी। त्यसो त कुलप्रसाद केसी, जयपुरी घर्ती, झ्क्कुप्रसाद सुवेदी, जोखबहादुर महरा, दीपेन्द्र पुन, मानबहादुर बुढालगायतका माओवादीका अन्य केन्द्रीय नेताहरू पनि अहिले रोल्पाका विभिन्न गाउँपालिकामा खटिएका छन्।

महरा तथा पुनले रोल्पामा 'जसरी पनि चुनाव जित्नुपर्ने' बताउँदै 'जे पनि गर्न तयार हुन' कार्यकर्तालाई निर्देशन दिएका थिए। यसका लागि चुनाव सकिएका सल्यान र रुकुमबाट वाईसीएल कार्यकर्ता झिकाएको हल्ला माओवादीले नै जिल्लाभरि फैलाएका छन्। हल्लाबारे रोल्पा नगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार लेखनाथ आचार्यले जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरलाई भेटेरै जानकारी गराए।

७ असारमा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झ्डपसमेत भयो। यस्तो झ्डप जिल्लाका धेरै ठाउँमा हुनसक्ने सम्भावना देखेका सुरक्षा अधिकारीहरू त्यसै अनुरूपको सुरक्षा व्यवस्था मिलाइएको बताउँछन्। जिल्लाका प्रहरी प्रमुख घर्ती मगर दलहरूबीचको अस्वस्थ चुनावी प्रतिस्पर्धा नै प्रमुख सुरक्षा चुनौती भएको बताउँछन्। “जिल्लाका सबै १० वटै स्थानीय तह उच्च संवेदनशील क्षेत्र छन्, सबैमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ”, उनी भन्छन्।

रोल्पाबाटै युद्ध शुरू गरेका माओवादीले द्वन्द्वको समयमा आफ्नो आधार इलाकाका रूपमा प्रचार पनि गरेका थिए। २०६४ र २०७० सालमा दुवै पटक यहाँका दुईवटै निर्वाचन क्षेत्रमा माओवादीले जितेकोमा अहिले केही स्थानमा एमाले र कांग्रेसबीच तथा केहीमा कांग्रेस र नेकपा (नेत्रविक्रम चन्द नेतृत्वको) बीच तालमेल भएपछि भने माओवादी नेताहरू झ्स्किएका छन् र चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्।

स्वर्गद्वारी नगरपालिका प्यूठानमा चुनाव प्रचार अभियानमा एमाले उपाध्यक्ष वामदेव गौतम।
माओवादी केन्द्रबाट रोल्पा नगरपालिकाका मेयर उम्मेदवार पूर्ण केसी देशैभरकामध्ये रोल्पालाई नमूना नगरपालिका बनाउने उद्देश्य पूरा गर्न माओवादी केन्द्रले जित्नैपर्ने बताउँछन्। सांसद् समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुन रोल्पामा हार्दा देशैभरबाट माओवादी सकिए भन्ने नकारात्मक सन्देश प्रवाह हुने मनोवैज्ञानिक त्रासका कारण जसरी पनि जित्नैपर्ने महत्वाकांक्षाले माओवादी चुनावमा होमिएको बताउँछन्।

महराको 'मनपरी'

रोल्पामा सडक पूर्वाधार निर्माणका लागि नियमित विनियोजन हुने वार्षिक बजेट करीब रु.४ करोड हो। जिल्ला समन्वय समिति (जिसस) का अनुसार चालू आवमा कृषि सडक अन्तर्गतका ८ वटा क्रमागत सडकका लागि रु.१ करोड ८० लाख तथा आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडकका लागि रु.२ करोड बजेट छुट्टिएको थियो।

तर चुनावी आचारसंहिता लाग्नु केहीअघि जिससमा सडकका लागि थप रु.६४ करोड बजेट आयो। अन्य जिल्लाका विभिन्न आयोजनाका लागि विनियोजित यो रकम तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको निर्देशनमा रकमान्तर गरी पठाइएको थियो।

जिसस योजना शाखाका एक अधिकृतका अनुसार उक्त रु.६४ करोडमध्ये रु.२१ करोड आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकका लागि, रु.४२ करोड कृषि सडकहरूका लागि र थप रु.१ करोड साबिकका आठ वटा गाउँ विकास समिति (हाल विभिन्न गाउँपालिकाका वडाहरू) जोड्ने नाममा आएको थियो। रकमान्तरमार्फत पछि थपिएको रकमबाट १४२ वटा सडक आयोजना छानिएका छन्। “नाम आर्थिक केन्द्र जोड्ने सडक छ तर काम टोलहरू जोड्ने सडक जसरी निर्माण भइरहेको छ” ती अधिकृत भन्छन्, “उपभोक्ता समितिमार्फत पार्टीका कार्यकर्ताले हालिमुहाली गरिरहेका छन्।” अन्य जिल्लाका आयोजनाबाट काटेर अर्थमन्त्रीले आफ्नो जिल्लामा निर्वाचन प्रभाव पार्ने उद्देश्यले पठाएको बजेटलाई माओवादी केन्द्रका नेता/कार्यकर्ताले जिल्लाको विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने नारा दिइरहेका छन्।

१० स्थानीय तह रहेको रोल्पामा एक नगरपालिका र ९ गाउँपालिका छन्। रोल्पा नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस प्रमुख प्रतिस्पर्धी हुन्। गाउँपालिकाहरूमा त्रिवेणी र रुन्टीगढीमा एमाले र माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धामा छन् भने सुकीदह, दुईखोली, सुनछहरी, लुंग्री र सुवर्णावतीमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा छ। माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच क्रमशः अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको छ भने थवाङमा कांग्रेस समेतको समर्थनमा नेपाल कम्युनिष्ट पार्टीका स्वतन्त्र उम्मेदवार बनेर माओवादी केन्द्रलाई चुनौती दिएका छन्।

प्यूठानः ठेकेदारलाई टिकट

गौमुखी गाउँपालिका, प्यूठानमा उम्मेदवारी दर्ता गर्दै कांग्रेस र एमाले कार्यकर्ता।
प्यूठानमा मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रले पार्टीमा योगदान दिएका पुराना नेता173कार्यकर्ता छाडेर निर्माण व्यवसाय र अन्य व्यापारमा सक्रिय व्यक्तिहरूलाई उम्मेदवार रोजेका छन्। स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी टेकप्रसाद भण्डारी प्यूठानकै कांग्रेस कार्यकर्ताका लागि नयाँ हुन्। स्वर्गद्वारी पेट्रोलपम्प तथा स्वर्गद्वारी होटल दर्शन प्रालिका मालिक उनलाई कांग्रेसले 'जति पनि पैसा खर्च गर्न सक्ने हैसियत' का कारण टिकट दिएको चर्चा छ। गत वर्षको जिल्ला अधिवेशनबाट एकैपटक क्षेत्र नम्बर १ को सभापति बनेका भण्डारीको राजनीतिक यात्रा त्यहींबाट शुरू भएको हो।

त्यस्तै प्यूठान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको समेत समर्थनमा माओवादी केन्द्रबाट मेयरका प्रत्यासी अर्जुनकुमार कक्षपति अर्का धनाढ्य उम्मेदवार हुन्। कालिका विकास केन्द्र नामक गैरसरकारी संस्था सञ्चालन गर्दै आएका उनी गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष समेत हुन्। प्रशस्त सम्पत्ति भएका उनी पनि माओवादीमा पछिबाट छिरेमध्येका हुन्। मेयरमा अन्तिमसम्म माओवादीले युद्ध शुरू गर्ने बेलाकै जिल्ला सेक्रेटरी टेकुलाल गिरीको चर्चा भइरहे पनि पैसा खर्च गर्न नसक्ने कारणले नै उनले टिकट पाएनन्।

माण्डवी गाउँपालिका अध्यक्षका उम्मेदवार श्रीधर रोकाको मुख्य कर्म ठेक्कापट्टा हो। निर्माण व्यवसायी रोका पीके बिल्डर्सका मालिक हुन्। गुण्डागर्दीमा पनि मुछिरहने उनी पार्टीमा एमाले उपाध्यक्ष वामदेव गौतमका खास मान्छेका रूपमा परिचित छन्। त्यस्तै झ्िमरुक गाउँपालिकामा अध्यक्षको उम्मेदवारमा चर्चामा रहेका एमाले जिल्ला उपाध्यक्ष हुकुमबहादुर खड्काको टिकट अन्त्यमा मानबहादुर जिसीले फुत्काए। जिसी पनि पुराना निर्माण व्यवसायी नै हुन्। गाउँपालिकामा ठूलो संख्यामा रहेका जिसीको मत तान्न पनि मानबहादुरलाई उठाइएको एमाले स्थानीय नेतृत्वको तर्क छ। झिमरुकमै राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष उम्मेदवार बनेकी पवित्रा जिसीको परिवार पनि निर्माण व्यवसायमै छ। उनी राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी भाइबुहारी हुन्।

नौ बहिनी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार डिलाराम थापा पनि प्यूठानका ठूला ठेकेदारमा पर्छन्। उपाध्यक्ष उम्मेदवारको टिकट हत्याएकी चित्रकली बुढाले पार्टीमा भन्दा धेरै समय व्यापारमा दिएकी थिइन्। योगदानमा नभई हुनेखाने क्षमताका आधारमा पार्टीले टिकट दिएको एक दुई दिन असन्तुष्टि देखाए पनि पार्टीका पुराना नेताहरू प्रचार अभियानमा फर्किएका छन्।

प्यूठान नगरपालिकाको वडा नम्बर ९ मा बाउ–छोरा एउटै पदमा फरकफरक पार्टीबाट उम्मेदवार बनेर चर्चामा छन्। बाबु भरतबहादुर केसी कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेकोमा जेठा छोरा बाचुन केसीले पनि राप्रपाबाट सोही पदमा उम्मेदवारी दिएका छन्।

जिल्ला समन्वय समितिमा निर्वाचित हुने महत्वाकांक्षाले पार्टीको जिल्ला नेतृत्वमा बसिसकेका नेताहरूलाई वडा सदस्य बन्न लोभ्याएको छ। माओवादीका पूर्व जिल्ला सह–इन्चार्ज रामबहादुर केसीले प्यूठान नगरपालिका–९ र राष्ट्रिय जनमोर्चाका निवर्तमान जिल्ला उपाध्यक्ष रणबहादुर खड्काले झिमरुक गाउँपालिका–३ को सदस्यमा उम्मेदवारी दिएका छन्।

दुई नगरपालिका र सात गाउँपालिका रहेको प्यूठानका तीन स्थानीय तहमा माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल छ। प्यूठान नगरपालिकामा माओवादीको मेयर र राष्ट्रिय जनमोर्चाको उपमेयरमा उम्मेदवार छन् भने स्वर्गद्वारी नगरपालिकामा जनमोर्चाका मेयर र माओवादी केन्द्रका उपमेयर उम्मेदवार छन्। त्यस्तै तालमेलबाटै गौमुखी गाउँपालिकामा जनमोर्चाका विदुर मल्ल अध्यक्ष र माओवादीका मानबहादुर थापा उपाध्यक्ष उम्मेदवार बनेका छन्।

एमाले उपाध्यक्ष वामदेव गौतम मतदाता रहेको प्यूठान नगरपालिका–२ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ। चुनाव प्रचारप्रसारमा केन्द्रीय नेताहरू नै लागेका छन्। एमाले उपाध्यक्ष गौतम, केन्द्रीय सदस्य सूर्य थापा तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह घरदैलो गरिरहेका भेटिन्छन्।


थवाङमा 'नेकपा उम्मेदवार'

आगोले सल्कँदै गरेको मतपेटिकाको माथिपट्टि 'कथित स्थानीय चुनाव खारेज गरौं' भन्ने आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व) को पोष्टर (हे. तस्वीर) रोल्पा सदरमुकाम लिवाङमा छ्याप्छ्याप्ती भेटिन्छ। तर, थवाङ गाउँपालिकाकै निर्वाचनमा नेकपामा आबद्ध रहेका २१ युवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

२०७० को निर्वाचनमा शून्य मतदान भएको तत्कालीन थवाङ गाविस अहिले उवा र मिरुल गाविससमेत मिसाएर बनेको थवाङ गाउँपालिकाको केन्द्र हो। पाँच वटा वडा रहेको यो गाउँपालिकाको वडा नम्बर १ र २ तत्कालीन थवाङ गाविसमा पर्छन्। मिरुल गाविस वडा नम्बर ३ तथा उवा गाविस वडा नम्बर ४ र ५ मा बाँडिएका छन्। यी पाँच वडामा नेकपामा आबद्ध रहेका २१ युवाको स्वतन्त्र उम्मेदवारी परेको हो। नेकपाका रोल्पा सचिव दलबहादुर खत्री भने पार्टीको तर्फबाट उम्मेदवारी नपरेको बताउँछन्।

गाउँपालिका अध्यक्षमा अमित घर्ती उम्मेदवार बनेका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी श्रीकुमारी मगरले उम्मेदवारी दिएकी छन्। वडा नम्बर १ र २ मा स्वतन्त्रबाट क्रमशः फर्कबहादुर रोका र लीलाराम रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यी दुवै वडामा स्वतन्त्रका दुई खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित सदस्य गरी उम्मेदवारहरूको 'सेट' नै छ। नेपाली कांग्रेसले स्वतन्त्र टीमसँग समझदारी गरी यी वडामा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ। त्यसको बदलामा स्वतन्त्र समूहबाट वडा नम्बर ३ मा अध्यक्षको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार खरिलाल डाँगीलाई सहयोग गर्ने भनिएको छ। यो वडामा महिला सदस्यमा कांग्रेसले अमितको स्वतन्त्र टीमलाई छोडिदिएको छ।

वडा नम्बर ४ र ५ को अध्यक्षमा क्रमशः डुकमान रोका र हिक्मत घर्ती स्वतन्त्र टीमबाट उम्मेदवार बनेका छन् र दुवै वडामा उनीहरूको सबै पदमा उम्मेदवारी छ। यी वडामा कांग्रेससहित माओवादी केन्द्रले पनि सबै पदमा उम्मेदवारी दिएको छ। वडा नम्बर ३ र ४ मा दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भइसकेका छन्।

थवाङमा उम्मेदवारी दर्ता र त्यसपछिको केही पदमा फिर्ताको अवस्था हेर्दा माओवादी केन्द्र विरुद्ध अरु दल एक ठाउँमा उभिए जस्तो देखिन्छ। वडा नम्बर ३ मा कांग्रेस र स्वतन्त्र उम्मेदवारले एक खुल्ला सदस्य एमालेका लागि छोडिदिएका छन् भने एमालेले आफ्ना अन्य पदका उम्मेदवारलाई फिर्ता गराएको छ। वडा नम्बर १ र २ मा एमालेका उम्मेदवार छैनन्।

गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार अमित घर्ती 'राजनीतिमा भ्रष्ट र दलालहरूले हालिमुहाली गरेको' भन्दै 'व्यवस्थाभित्रैबाट त्यसको भण्डाफोर गर्न' उम्मेदवार बनेको बताउँछन्। स्वतन्त्र टीमका सबैले आफूले पाउने तलबभत्ता कोषमा राखी प्रकोप व्यवस्थापनमा खर्च गर्ने उनको योजना छ।

उपाध्यक्षकी उम्मेदवार कांग्रेसकी श्रीकुमारी रोकाले नेकपामा आबद्ध रहेर पनि स्वतन्त्र उठेका उम्मेदवारहरूसँग तालमेल गरेको बताइन्। नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले पनि नेकपाका नेता कार्यकर्तासँगको लामो छलफलपछि तालमेल सम्भव भएको बताए।

उपाध्यक्ष उम्मेदवार रोकाका बुवा रामजी घर्तीलाई कांग्रेसको क्रियाशील सदस्य भएकै बखत २०५३ सालमा तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए। त्यसपछि सदरमुकाम लिवाङ आई कांग्रेस राजनीति शुरु गरेकी रोका तरुण दल, महिला संघहुँदै अहिले कांग्रेसको जिल्ला समितिमा छिन्। २०६४ को चुनावमा कांग्रेसको समानुपातिक सभासद्को सूचीमा रहेर पनि नछानिएकी उनी अहिले चुनाव जितेरै जनप्रतिनिधि हुने बताउँछिन्।

नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध कार्यकर्ता थवाङमा मात्रै होइन रोल्पाका अन्य दुई गाउँपालिकामा पनि वडा अध्यक्षको प्रतिस्पर्धामा छन्। माडी गाउँपालिका–५ मा नेपाली कांग्रेसको समेत समर्थनमा विष्णुकुमार घर्ती अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् भने सुनछहरी गाउँपालिका–७ मा वडा अध्यक्षका उम्मेदवार हस्तबहादुर बुढामगर पनि नेकपा आबद्ध हुन्।

comments powered by Disqus

रमझम