११-१७ असार २०७४ | 25 June - 1 July 2017

११ र १२ कक्षाका उत्कृष्ट ३० विद्यालय

Share:
  

२ असारमा परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्‍यो। अक्षरांकन पद्धतिबाट मूल्यांकन गरिएकाले परीक्षामा सहभागी कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा 'अनुत्तीर्ण' उल्लेख छैन। तर, मानविकी, शिक्षा, कानून र विज्ञान संकायको जुनसुकै विषय पढ्न अंग्रेजी, नेपाली र सामाजिक शिक्षामा 'डी प्लस' भने ल्याउनैपर्छ। शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा र एसएलसी परीक्षा एसईई परीक्षा भएको हो।

मूल्यांकनमा अपनाइएको अक्षरांकन पद्धति र ऐनमा गरिएको संशोधनले अभिभावक र विद्यार्थीमा केही अन्योल उत्पन्न गराएको देखिन्छ। यसका बाबजूद विश्वविद्यालय प्रवेशको आधार भने यसअघि उच्च माध्यमिक शिक्षा भनिने कक्षा ११ र १२ नै हो। 'घर बलियो हुन जग बलियो' चाहिए जस्तै विद्यालय तहबाटै पढाइ गतिलो भयो भने मात्र विश्वविद्यालयमा राम्रो नतिजा हासिल गर्ने संभावना नकार्न सकिंदैन।

गुणस्तरीय शिक्षा सबैको चाहना हो। तर यसका लागि विद्यार्थी र अभिभावकको लगनशीलतासँगै शैक्षिक संस्था पनि स्तरीय हुनुपर्छ। कस्तो विद्यालयलाई उत्तम मान्ने भन्ने सन्दर्भमा अरू त अरू स्वयं शिक्षाविद्हरूमै मतैक्य छैन। तर, हाम्रो परिवेशमा व्यावहारिक शिक्षा, विद्यार्थी उत्तीर्ण प्रतिशत, अनुभवी शिक्षक, सिर्जनशीलतामा जोड, आवश्यक भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड र चुस्त व्यवस्थापनजस्ता आधारमा शैक्षिक संस्थालाई उत्कृष्ट मान्नुपर्ने मत देखिन्छ।

कक्षा ११ र १२ पढाइने देशभरिका ३४ सय भन्दा बढी विद्यालयमध्येबाट राम्रो शैक्षिक संस्था छनोट गर्न राष्ट्रिय परीक्षा बोर्डले लिने वार्षिक परीक्षाको नतिजा बाहेक अर्को वैज्ञानिक विधि हामीकहाँ अहिलेसम्म उपलब्ध छैन। त्यसैलाई आधार मानेर देशभरका ३० उत्कृष्ट विद्यालयको सूची प्रकाशित गरेका छौं। यो सूचीमा कक्षा १२ को अन्तिम परीक्षामा ३० भन्दा बढी विद्यार्थीलाई सहभागी गराएर नियमिततर्फ पछिल्लो पाँच वर्षयता लगातार ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरू मात्र समावेश गरिएको छ।

विगत एक दशकभन्दा अघिदेखि साप्ताहिक खबरपत्रिका हिमाल ले एउटै मापदण्ड बनाएर उत्कृष्ट विद्यालय छनोट गर्दै आएको छ।

गत वर्ष छनोटमा उत्कृष्ट २६ विद्यालयमा परेकामध्ये यसपटक ८० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमी यो सूचीमा पर्न सकेन। यस वर्ष धरानको विष्णु मेमोरियल, कोटेश्वरको सीसीआरसी (क्यापिटल), जावलाखेलको सेन्ट जेभियर्स र पोखराको मदरल्याण्ड स्कूल र हर्मन माइनर स्कूल उत्कृष्ट ३० मा स्थान बनाउन सफल भएका छन्। पछिल्लो पाँच वर्ष ८० प्रतिशत भन्दा बढी उत्तीर्ण दर भए तापनि २०६९ को परीक्षामा सहभागी विद्यार्थी संख्या ३० नपुगेकाले काठमाडौंको बूढानीलकण्ठ र दाङको तुल्सीपुर बोर्डिङ पनि उत्कृष्ट सूचीमा पर्न सकेनन्। विगत एक दशकदेखि निरन्तर उत्कृष्टमध्येको पनि अग्रस्थानमा रहँदै आएको प्रसादी एकेडेमी यस वर्ष पनि उत्कृष्टता कायम राखी पहिलो स्थान बनाउन सफल भएको छ।

पछिल्लो पाँच वर्षको कक्षा १२ मा विद्यालयले हासिल गरेको उत्तीर्ण प्रतिशतको औसतमा आधारित भएर प्रस्तुत गरिएको सूचीले विद्यार्थी र अभिभावकलाई एसईईपछि स्तरीय विद्यालय छान्न मद्दत पुग्ने हिमाल को विश्वास छ।

comments powered by Disqus

रमझम