११-१७ असार २०७४ | 25 June - 1 July 2017

एसईईपछिको स्कूल

Share:
  
- सविता श्रेष्ठ
एसईई सकेका विद्यार्थीले ब्रिज कोर्सलाई भविष्यप्रतिको पहिलो कदम मान्ने गरेका छन्।

गोपेन राई
निम्स इन्ष्टिच्यूटमा नर्सिङको ब्रिज कोर्स पढ्दै विद्यार्थी।
ताहाचल काठमाडौंका मोहितराज भाट (१६) ले त्यहींको होलिभिजन हायर सेकेन्डरी स्कूलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे। उनी पढेकै स्कूलले ११ कक्षाको प्रवेश परीक्षाको लागि तयारी कक्षा सञ्चालन गरेको छ। हेल्थ असिस्टेन्ट पढ्न चाहेका उनी भने विद्यालयको तयारी कक्षासँगै इन्ष्टिच्यूटमा ब्रिज कोर्स पढ्दैछन्। एकतिरको तयारीले मात्रै छात्रवृत्तिमा नाम निकाल्न गाह्रो हुने भएकाले तयारी राम्रो गर्नुपर्ने मोहित बताउँछन्।

उनी जस्ता धेरै विद्यार्थीले अहिले आफूले एसईई दिएका विद्यालयमा आफूले पढ्न चाहेको विषय नहुँदा कक्षा ११ पढ्न नयाँ विद्यालय खोजिरहेका छन्। त्यसबाहेक नयाँ माहोलमा नयाँ साथीभाइसँग पढ्ने रहरले पनि कतिपय विद्यार्थीले एसईई उत्तीर्ण गरेको विद्यालय छाड्दैछन्। कञ्चनपुरका अनिल राना भने एसईई दिएको विद्यालयमा आफूले पढ्न चाहेको विज्ञान विषय भए पनि नाम चलेका स्कूलहरूमा कक्षा ११ को प्रवेश परीक्षा दिने तयारीमा छन्। काठमाडौंको बौद्धमा पढेका उनी भन्छन्, “नाम चलेको नयाँ कलेजमा पढ्न ब्रिज कोर्स गर्दैछु।”

त्यस्तै, मकवानपुरका चिरञ्जीवी प्रसाई (१७) हेटौंडामा राम्रै विद्यालयहरू भए पनि ११ कक्षा पढ्न काठमाडौं आएका छन्। नयाँ शिक्षा नीतिले ९–१२ कक्षालाई माध्यमिक तहमा राखेको छ। यसअनुसार, कक्षा १० सम्म पढाइ हुने विद्यालयहरूले १२ कक्षासम्म पढाउनुपर्ने भए पनि सबैले त्यस्तो तयारी गर्न सकेका छैनन्। विद्यार्थीले पढ्न चाहने सबै विषय पढाउन सक्ने अवस्था पनि छैन। धेरैजसो विद्यालयले मानविकी र शिक्षा मात्र पढाइरहेका कारण पनि एसईई उत्तीर्ण विद्यार्थी नयाँ स्कूलमा भर्ना हुनुपर्ने अवस्था छ।

विज्ञान, व्यवस्थापन र प्राविधिक विषय पढ्न चाहने देशभरका विद्यार्थी अहिले काठमाडौं आएर प्रवेश परीक्षाको तयारीमा जुटेका छन्। काठमाडौं बाहिर विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, महेन्द्रनगरलगायतका शहरमा पनि ब्रिज कोर्स गर्ने विद्यार्थीको संख्या ठूलो छ। ब्रिज कोर्समा अधिकांश विद्यार्थीको रोजाइ ११ कक्षामा धेरै प्रतिस्पर्धा हुने विषय बन्ने गरेको छ। यसले आत्मविश्वास बढ्ने र प्रवेश परीक्षा पास गर्न सजिलो हुने विद्यार्थीको बुझाइ छ।

बागबजारको निम्स इन्ष्टिच्यूटका प्रबन्ध निर्देशक रामचन्द्र गौतम जिल्लाहरूमा धमाधम इन्ष्टिच्यूटहरू खुले पनि ब्रिज कोर्सको लागि काठमाडौं आउने विद्यार्थीको संख्या नघटेको बताउँछन्। कक्षा ११ मा पढ्ने विषय कुन रोज्ने भन्ने द्विविधा लिएर पनि विद्यार्थीले ब्रिज कोर्स गर्ने उनको अनुभव छ। उनी भन्छन्, “नयाँ विद्यालयमा प्रवेश परीक्षा दिन र घुलमिल हुनदेखि विषय छनोटसम्मको परामर्श पाइने हुनाले विद्यार्थी ब्रिज कोर्समा तानिएका छन्।”

अनिवार्य जस्तै ब्रिज कोर्स

एसईई दिएपछि हुने करीब तीन महीनाको फुर्सदलाई कसरी उपयोग गर्ने भन्नेमा विद्यार्थीलाई अहिले कुनै द्विविधा छैन, ब्रिज कोर्सका कारण। बल्लबल्ल पाएको फुर्सदमा घुमघाम गर्ने त छँदैछ, त्यसबाहेक कक्षा ११ र प्राविधिक विषयमा भर्ना हुन गर्नुपर्ने प्रवेश परीक्षाको तयारीका लागि अहिले ब्रिज कोर्स पढाउने थुप्रै संस्था खुलेका छन्। काठमाडौंको बागबजार, पुतलीसडक, बानेश्वरलगायत क्षेत्रमा खुलेका अनगिन्ती इन्ष्टिच्यूटमा हजारौं विद्यार्थी ब्रिज कोर्स पढिरहेका छन्।

निम्सका प्रबन्ध निर्देशक गौतम एक दशकयता विद्यार्थीहरू ब्रिज कोर्समा आकर्षित भएको बताउँछन्। उनका भनाइमा, भविष्यमा आफू कुन क्षेत्रमा लाग्ने भन्ने तय गरेपछि सोही अनुसारको विषय रोजेर गरिने ब्रिज कोर्स विद्यार्थीका लागि अत्यन्तै महत्वपूर्ण छ। विद्यार्थीले चाहेको क्षेत्रमा पस्ने बाटो ब्रिज कोर्सले सहज बनाइदिने उनी बताउँछन्। गौतम भन्छन्, “विद्यार्थीले ब्रिज कोर्स गरेर तीन महीनाको फुर्सदलाई अधिकतम सदुपयोग गरेका छन्, त्यसमा पनि विशेषगरी मेडिकल शिक्षामा जान चाहनेहरूले।”

ओभरसियर, नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी, डेन्टल, रेडियोग्राफी, एएनएम, कृषि आदि प्राविधिक विषय पढ्न चाहनेहरूले पनि ब्रिज कोर्सबाट धेरै फाइदा लिएको उनी बताउँछन्। कक्षा ११ मा विज्ञान वा व्यवस्थापन विषय पढ्न चाहनेहरू पनि ब्रिज कोर्स गरिरहेका छन्। सरकारी विद्यालयबाट एसईई गरेकाहरू पनि आफूले चाहेको विषयको प्रवेश परीक्षा उत्तीर्ण गर्न ब्रिज कोर्स गर्न थालेका छन्। तिनैमध्येका एक गणेश ओली (१६) रुकुमको मुसिकोटबाट काठमाडौं आएर ब्रिज कोर्स पढ्न थालेको दुई साता भयो। उनी भन्छन्, “एचए वा साइन्समा भर्नाको प्रतिस्पर्धा गर्न ब्रिज कोर्स गर्नै पर्‍यो।”

सिनामंगलको गुह्येश्वरी स्कूलबाट एसईई गरेकी सुस्मिता सुब्बा (१६) को भनाइले पनि ब्रिज कोर्स अनिवार्य भएको बुझाउँछ। ब्रिज कोर्समा एड्भान्स साइन्सको क्लास लिइरहेकी उनी राम्रो मानिने स्कूलमा कक्षा ११ मा भर्नाको लागि नाम निकाल्न ठूलो प्रतिस्पर्धा गर्नुपर्ने बताउँछिन्। काठमाडौंमा नाम चलेका तीनवटा कलेजमा कक्षा ११ को प्रवेश परीक्षा दिने निधो गरेकी सुस्मिता भन्छिन्, “एउटैमा मात्र परीक्षा दिएर नाम निकाल्न गाह्रो छ।”

comments powered by Disqus

रमझम