१३ वर्षमा एन्फा एकेडेमी (बुटवल)बाट खेलेका नवलपरासी भुताहाका उनलाई महर्जनले नै फरवार्डमा ल्याएका हुन्। भारतको सुव्रतो मुखर्जी कपको अनुभव संगालेका विमलले प्याब्सन कप र रुपन्देही जिविस कपको म्यान अफ दि सिरिज भएपछि २०६९ भदौमा राष्ट्रिय टीममा डेब्यु गरेका थिए। आगामी भदौमा काठमाडौंमा हुने साफ च्याम्पियनसीपको बन्दसत्रमा रहेका उनी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीका फ्यान हुन्।
पाँच फीट सात इन्चका मेसी लेफ्ट मिडफिल्डबाट बल लगेर पोष्टमा घुसाउन माहिर छन् भने पाँच फीट ९ इन्चका सेन्टर फरवार्ड विमल दायाँ–बायाँ दुवै खुट्टा चलाउँछन्। फूटबल मैदानमा आफ्नै रणकौशल देखाउने विमल अनुशासन र 'रनिङ विथ बल' मा पनि सशक्त छन्, तर बल विपक्षीको खुट्टामा परेपछि 'एग्रेसिभली' खोस्न नसक्नु/नलाग्नुलाई उनको कमजोरी मानिन्छ। फूटबल पण्डितहरू उमेर समूहमा खेल्दासम्म यूरोपियन खेलाडीकै हाराहारीमा देखिने नेपाली फूटबलरहरू व्यावसायिक चरणमा प्रवेश गरेपछि फितलो हुँदै जाने गरेको बताउँछन्। नेपाली फूटबलरहरूले पाउने सेवा सुविधा र अन्तर्राष्ट्रिय एक्स्पोजरको अभावलाई यसको मुख्य कारण मानिएको छ।
डेढ वर्षयता ललितपुरस्थित एन्फा एकेडेमीको होस्टेलमा रहेका विमल अहिलेसम्म आर्थिक जिम्मेवारीबाट मुक्त छन्। प्रहरी सेवामा रहेका बुबाको दुर्घटनामा मृत्यु भए पनि कक्षा १० मा अध्ययनरत विमलले आमा र बहिनीको आर्थिक भार बोक्नुपरेको छैन। उमेर समूहका खेलाडी भएकाले उनले तलब पाउँदैनन्, तर होस्टेलमा खाने–बस्ने सुविधा छ। प्रशिक्षक महर्जन विमल जस्ता संभावनायुक्त खेलाडीहरूलाई फूटबलमा टिकाइराख्न सरकारले लगानी गर्नुपर्ने बताउँछन्।
महर्जनको भनाइमा, विमल नेपाली फूटबललाई उचाइमा पुर्याउन सक्ने खेलाडी हुन्। विमलमा त्यो संभावना देख्ने फूटबल विश्लेषक संजीव मिश्र यो कुरा विमलको व्यक्तिगत मिहिनेत र प्रतिबद्धतामा पनि भर पर्ने बताउँछन्।
सन्त गाहा मगर