११-१७ असार २०७४ | 25 June - 1 July 2017

इँटाको विकल्प एएसी ब्लक

Share:
  
परम्परागत इँटाको किफायती, सहज र भरपर्दो विकल्प मानिएको 'एएसी ब्लक' को उत्पादन नेपालमै शुरू भएको छ।

निर्माण कार्यमा एकछत्र राज गरिरहेको परम्परागत इँटाको विकल्प के हुन सक्छ? संसारभर नै यसका थुप्रै विकल्प तयार छन्। युवा उद्यमीहरूले तिनैमध्येको उपयुक्त विकल्पसहित देशभित्रै 'एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट) ब्लक' को उत्पादन शुरू गरेका छन्। चितवनको खैरहनी नगरपालिका–२ मा स्थापना गरिएको एरो ब्रिक्स प्रालिले भर्खरै 'एएसी ब्लक' बजारमा ल्याएको छ।

नेपालमा पहिलो पटक उत्पादन शुरू गरिएको यस्तो ब्लक– इँटा, बालुवा, सिमेन्ट, आल्मुनियम धूलो, सिलिका, चुन र पानीको मिश्रणलाई वाफमा पकाएर तयार पारिने हुँदा परम्परागत इँटाभन्दा हलुङ्गो, बलियो, किफायती र उपयोगमा सजिलो छ। करीब रु.५० करोड लागतमा यही वर्ष स्थापित एरो ब्रिक्स कारखानाको दैनिक उत्पादन क्षमता ६०० क्यूबिक मिटर छ। जर्मन टेक्नोलोजीमा आधारित कारखानाबाट उत्पादित २४ इन्च लम्बाइ र ८ इन्च उँचाइ रहने यस्ता ब्लक २, ४, ५, ६, ८ र ९ इन्च चौडाइका विभिन्न आकारमा उपलब्ध छन्।

नेपालको कुल इँटा बजारको एक प्रतिशत भन्दा कमै उत्पादन भइरहेकाले बजारको समस्या नहुने, शुरूआतमा उत्पादनको ४० प्रतिशत चितवन र आसपासका क्षेत्रमा तथा ६० प्रतिशत काठमाडौंमा खपत हुने कम्पनीको अनुमान छ। माटोको प्रयोग नगरी आधुनिक निर्माण प्रविधिको उपयोग हुने, फोहोर उत्पादन नहुनेे र उपयोग गर्न सजिलो यो इँटा वातावरण अनुकूल समेत भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार अहिलेसम्म भारत र चीनबाट आयात भइरहेको यस्तो ब्लक नेपालसम्म आइपुग्दा महँगो पर्ने भए पनि नेपालमै उत्पादन भएकाले परम्परागत इँटाभन्दा करीब १० प्रतिशत सस्तो मूल्यमा उपलब्ध हुनेछ।

कम्पनीका सञ्चालकमध्ये एक सुभाष अधिकारी ग्राहकले खरीद गर्दा १० प्रतिशत सस्तो परे पनि 'फिनिसिङ' गरिएको यो ब्लकमा इँटामा जस्तो प्लास्टर गर्नु नपर्ने, जोड्नका लागि सिमेन्ट–मसला पनि कम लाग्ने र ठूलो ढिक्का उपयोग गर्दा काम छिटो हुने भएकोले ३८ प्रतिशतसम्म किफायती हुने बताउँछन्। अधिकारी भन्छन्, “एरो ब्रिक्सले बनेको भित्ताको बाहिरी भागमा सामान्य वेदर कोट र भित्र वालपुट्टी लगाए मात्रै पुग्छ, प्लास्टरको झ्न्झ्ट हुँदैन र बलियो पनि हुन्छ।”

एरो ब्रिक्स आवासीय भवनदेखि ठूला व्यावसायिक निर्माण र भुइँमा समेत ओछ्याउन सकिने हुँदा परम्परागत इँटाको उपयोग हुने सबै ठाउँमा यसको प्रयोग हुन्छ। यो ब्लक काट्दा, प्वाल पार्दा कमै मात्र खेर जान्छ। तापक्रम प्रतिरोधी भएकाले बाह्य वातावरणको असर परम्परागत इँटाले बनेका कोठाहरूमा भन्दा कम हुन्छ। त्यसकारण कोठा तताउन वा चिस्याउन लाग्ने अतिरिक्त ऊर्जाको पनि बचत हुन्छ। आवाज प्रतिरोधी पनि हुनु यो ब्लकको अर्को विशेषता हो।

७० वर्षअघि स्वीडेनमा उत्पादन शुरू गरिएको यो ब्लक अमेरिका, यूरोप, खाडी मुलुक, चीन र भारतमा व्यापक उत्पादन र प्रयोग भइरहेको छ।

सञ्जीव शर्मा

फाइदा

  • हल्का हुँदा निर्माण कार्य सजिलो हुन्छ।
  • उत्पादन गर्दा वातावरणमा नोक्सान पुर्‍याउँदैन।
  • अन्य निर्माण सामग्रीभन्दा बढी आवाज प्रतिरोधी हुन्छ।
  • परम्परागत इँटाभन्दा बढी आगो प्रतिरोधी पनि हुन्छ।
  • बाह्य वातावरणको प्रभाव घर कोठाभित्र कम पर्छ।
  • ओसिलो हुँदैन र चिस्यान छिर्न पाउँदैन।
  • काट्न, ड्रिल गर्न सजिलो हुन्छ, मिलेको आकारमा हुन्छ।
  • निर्माण लागत निकै कम हुन्छ।
comments powered by Disqus

रमझम