२० साउन २०७० | 4 August 2013

असमिया–नेपाली सम्बन्धका सेतु

Share:
  

ऋषिराम कट्टेल
उत्तर–पूर्वी भारतीय राज्य असमका लोकप्रिय गायक लोहित गोगोई (४६) त्यहाँको नेपाली समुदायमा पनि उत्तिकै प्रिय छन्। अहिलेका शीर्षस्थ असमिया गायक गोगोईले नेपाली समुदायसँग मधुर सम्बन्ध गाँसेका छन्। तीनसुकिया लेखापानीका यी गायकलाई असमका नेपाली समुदायले पनि भूपेन हजारिकाको निधनपछि त्यहीस्तरको सम्मान दिने गरेका छन्।

नेपाली वाङ्मय परिषद् र संगीत मन्च नेपालले ७ साउनमा काठमाडौंमा आयोजना गरेको लोहित गोगोई सांगीतिक साँझमा प्रस्तुत भएका गोगोईले असमिया, नेेपाली र हिन्दीबाट श्रोतालाई मन्त्रमुग्ध बनाए। संगीतको कुनै भाषिक सीमा नहुने बताउँदै नेपाली दर्शकबीच प्रस्तुत भएका असमिया संगीतकर्मीले भूपेन हजारिका र असममा रहेको नेपाली समुदायका कारण आफू नेपाली गीततर्फ तानिएको बताए। कार्यक्रममा उनलाई नेपाली वाङ्मय सेवा सम्मान पनि प्रदान गरिएको थियो। परिषद्का अध्यक्ष शशि लुमुम्बु भन्छन्, “उहाँले असममा गीत–संगीतको माध्यमबाट अन्तर समुदाय भ्रातृत्व विकासमा प्रभावकारी भूमिका खेलेकोले सम्मान गरेका हौं।”

जीवनोलो लोइ आदेजोदी, आमुर आजीर मानो, ओमोठार श्यामोली जस्ता लोकप्रिय असमी गीतका सर्जक गोगोई स्वयं गीतकार पनि हुन्। असमपुत्र भनेर चिनिने भूपेन हजारिकाका शिष्य रहेका उनले बैंसालु, मानिस मानिसकै लागि नामक गीति अल्बम ल्याएका छन्। अढाई दशकदेखि असमिया गीत–संगीतमा सक्रिय उनी पछिल्ला वर्षमा असमिया–नेपाली सम्बन्धका सेतु बनेका छन्। उनी अम्बर गुरुङको हातबाट मानिस मानिसकै लागि अल्बम विमोचन गराउन गत चैतको अन्तिम साता काठमाडौं आएका थिए। समाजका शोषित–पीडित वर्गको गीत गाउने भनेर चिनिएका गोगोई भन्छन्, “गीत–संगीतले मानव जातिलाई मनोरञ्जन मात्रै होइन, सत्कार्यको लागि ऊर्जा र सद्भाव पनि फैलाउनुपर्छ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम