२७ साउन २०७० | 4 August 2013

निःशुल्क उपचार देऊ

Share:
  

हिमाल (१३ साउन) मा प्रकाशित य्.ज्यानमारा पुस्तैनी रोग समाचार पठनीय लाग्यो। पश्चिम तराईका थारू समुदायमा देखिएको पुस्तैनी सिकलसेल रोगले धेरैको ज्यान लिइसकेको पत्रिका पढेपछि थाहा भएको छ। सुन्दा सामान्य लागे पनि यस्ता समस्याले दिने पीडा भुक्तभोगीलाई मात्र थाहा हुन्छ। पुस्तौंदेखिको रोगको उपचारमा सरकारले पनि खासै ध्यान दिएको देखिएन। निश्चित समुदायमा देखिने यस्ता रोगको उपचारका लागि सरोकारवाला निकायले वेलैमा ध्यान दिनुपर्दछ। अन्यथा एउटा समुदायमा हुने समस्यालाई सामान्य भन्दै बसेमा अन्य समुदायमा देखिने समस्यालाई पनि यस्तै बेवास्ता गरिंदा भोलि ठूलै समस्या नहोला भन्न सकिन्न।

विष्णु शर्मा, इमेलबाट

पश्चिम तराईमा देखिएको स्वास्थ्य समस्याका कारण थारू समुदायले भोगेको पीडा पढ्दा दुःख लाग्यो। रोग लाग्नुभन्दा पहिला गर्न सकिने कुनै उपाय भए स्वास्थ्यकर्मीले यस्ता कुरामा ध्यान दिनु आवश्यक छ। अन्यथा उपचारका लागि घरखेत बेच्नुपर्ने यो समुदायका सदस्यहरूलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्न सरकारले ढिलाइ गर्नुहुँदैन।

ध्र्रुव चौधरी, इमेलबाट

बधाई चरिमाया

हिमाल (१३ साउन) मा बेचिएका चेलीहरू जसले समाजमा विद्यमान अमानवीय क्रियाकलाप अन्त्य गर्न चालेको कदमलाई सम्मान गर्दै आएको शक्ति समूहकी संस्थापक चरिमाया तामाङका भनाइ पढ्न पाइयो। चरिमायाले पाएको 'रेमोन म्यागसेसे' पुरस्कार नेपालीको लागि गर्वको विषय भएको छ। एकातिर पुरस्कार पाएर खुशी हुँदै जाने अर्कोतर्फ चेलीहरू बेचिने क्रम नरोकिने हो भने यसको कुनै अर्थ हुने छैन। समुदायमा हुने गलत क्रियाकलाप अन्त्य एक जना व्यक्ति, एउटा संस्थाको प्रयासमा मात्र सम्भव हुँदैन। यसतर्फ सबैको ध्यान जान जरूरी छ।

रचना पोखरेल, इमेलबाट

कहालीलाग्दो घटना

हिमाल (१३ साउन) मा प्रकाशित 'बर्बरताको हद' समाचारले जो कोहीको मन झस्काइदिन्छ। मोरङको बेलबारीमा भएको कुटपीट, मोसो दल्ने र जुत्ताको माला लगाइदिएको घटनाले हाम्रो समाजको मानसिकता दर्शाउँछ। वैदेशिक रोजगारमा गएका चेलीहरू मालिकको दुर्व्यवहारले अर्धचेत भएर फर्केका समाचार पढ्ने हामीले आफ्नै समाजमा भएको अमानवीय घटना देख्नुपरेको छ। समुदायमा एकअर्कासँग मिलेर बसेका व्यक्ति बीचमा पनि यस्तो व्यवहार गर्न कसरी सकेका होलान्? भावी पुस्तालाई अरू केही दिन नसके पनि अहिलेको पुस्ताले कम्तीमा असल संस्कार दिन सक्नुपर्छ।

विनोद माली, इमेलबाट

खबरदारी गरौं

हिमाल (१३ साउन) मा प्रकाशित 'अवार्डमा मनपरी' समाचार पढेपछि निष्पक्षता भन्ने कुरा हराए जस्तो लागेको छ। हुनत नेपाल चलचित्र विकास कम्पनीले ५ साउनमा राजधानीमा गरेको चलचित्र अवार्ड वितरणलाई राष्टि्रय अवार्ड भन्नु नै गलत हो। अवार्ड वितरणमा भएको अपारदर्शी निर्णय त छँदैछ। जसले जे गरे पनि हुन्छ भन्ने मनपरी विरूद्ध खबरदारी जरूरी छ।

जीवन राई, इमेलबाट

सुरुआत आफैंबाट गरौं

हिमाल (६ साउन) मा वृद्धाश्रमबारे मानवतासँग जोडिएको विषय बाहिर ल्याइदिएकोमा हिमाल खबरपत्रिकालाई धेरै धेरै धन्यवाद। एक जना वृद्धाले परिवारका सदस्यबाट जति माया, ममता, आदर र सम्मान पाउन सक्छ त्यो वृद्धाश्रममा पाउन सक्दैन, चाहे जति नै सुविधासम्पन्न किन नहोस्। जन्मथलोमा हरेक व्यक्ति, समाज, प्राकृतिक स्रोत र साधनसँग मानिसको सम्बन्ध गाँसिएको हुन्छ। वृद्धाश्रम केही समयको लागि आश्रयस्थल हुन सक्छ, दीर्घकालका लागि होइन।

तिलकराम थारू, नेपालगञ्ज, हालः अमेरिका

वृद्धाश्रम खोल्नु मात्र समस्याको स्थायी समाधान होइन। हुनत निसहाय, वृद्धवृद्धाका लागि वृद्धाश्रम खोलेर आश्रय दिने व्यक्ति तथा संस्था सबै धन्यवादका पात्र छन्। उनीहरूको योगदानको कदर गर्नै पर्छ।

वृद्धवृद्धाको सम्पत्ति आङ्गनो नाममा गराएपछि निसहाय छोड्ने छोराबाट सम्पत्ति फिर्ता गराई ती सन्तानलाई कानूनी रूपबाटै सम्पत्तिबाट वञ्चित गराउन सकिएमा कुनै सन्तानले आङ्गना आमा, बुबाप्रति यस्तो दुस्साहस गर्न सक्ने छैनन्।

हीरालाल राजवंश, कोटेश्वर-३५, काठमाडौं

comments powered by Disqus

रमझम