१-७ साउन २०७४ | 16-22 July 2017

निशानामा बालक

Share:
  
- सम्झना पौडेल
नेपालमा बालकहरूमाथिको यौन दुराचार पनि गम्भीर समस्या बनिसकेको छ।

महिला हैन पुरुष, वयस्क हैन बालक! यौनहिंसामा पर्छन् भन्दा अनौठो लाग्न सक्छ। तर, भइरहेको छ त्यस्तै। ७/८ वर्षको उमेरमा आफ्नै मामाको यौनहिंसामा परेका बुटवलका सन्तोष गुरुङ (१८) भन्छन्, “बालकहरूलाई पनि यौनहिंसाबाट बचाउनेबारे सोचिदिनुस्, यो समस्या चर्को भइसकेको छ।”

मावलीघर जाँदा आफैंसँग सुताउने मामाले गरेको यौनशोषण सम्झ्ँदा अहिले पनि उनलाई आत्मग्लानि हुन्छ। सुनसरीका विजय घिमिरेले पनि सन्तोषकै उमेरमा यौनहिंसा बेहोर्नुपर्‍यो। बुबाको जागिरसँगै रूपन्देही पुगेका उनलाई छिमेकका युवकले चकलेट र भिडियो गेममा लोभ्याउँदै यौनशोषण गरेका थिए। “शुरूमा काखमा राख्दा, चुम्बन गर्दा माया नै गरेको होला जस्तो लाग्थ्यो”, अहिले कलेज पढिरहेका २१ वर्षीय विवेक भन्छन्, “पछि त कुट्ने, मार्ने डर देखाई–देखाई म बालकमाथि महीनौं यौनहिंसा गरे।”

सन्तोष र विजय यसखाले यौनअपराध पीडित प्रतिनिधि पात्र हुन्, जुन नजानिंदो गरी बढिरहेको बालअधिकारको क्षेत्रमा क्रियाशील संस्थासम्बद्ध व्यक्तिहरू बताउँछन्। उनीहरूका अनुसार, यस्तो यौनहिंसामा सडकदेखि महलसम्मका, भिखारीदेखि पुजारीसम्म, स्वदेशीदेखि विदेशीसम्म संलग्न छन्। कतिपय पीडित गैर–सरकारी संस्थाहरूको सहयोगमा न्यायालयको ढोकासम्म पुगेर पीडकलाई जेल पनि पठाएका छन्, तर धेरैजसो घटना गुपचुपमै रहन्छन्।

राष्ट्रिय बाल संरक्षण सञ्जालमा आबद्ध ४२ वटा गैर–सरकारी संस्थाहरूमा अहिलेसम्म बालकमाथि भएका यौन दुराचारका २५० वटा मात्र घटना दर्ता भएका छन्। यौनहिंसामा परेका बालकहरूको संरक्षण गर्दै आएको गैससमध्येको एक 'साथसाथ' की रिसोर्स एक्ज्युकेटिभ कविताराज्य शाह धेरैजसो घटना लोकलाजका कारण लुकाइने बताउँछिन्। उनका अनुसार, धेरैलाई चाहिं कसलाई भन्ने, कहाँ उजुरी गर्ने थाहा नभएर पनि घटना सार्वजनिक हुँदैन।

सामाजिक प्रचलन कस्तो छ भने, बालिकालाई होस्टल, बालगृह, साथीको घर, बजार वा अन्य सार्वजनिक स्थलमा पठाउँदा अभिभावकहरू सचेत हुन्छन् र सुरक्षाबारे सोच्छन्। बालकहरूको लागि भने ती ठाउँहरूलाई सुरक्षित मानिन्छ। तर, सामान्यतः सुरक्षित मानिएकै स्थानहरूमा बालकहरू यौनहिंसामा परेको र कतिपयले त महीनौंसम्म त्यस्तो पीडा भोगेका छन्।

लुच्चे भन्ने बुद्ध पुतवार र अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्स्।
एउटा दुराचारीले ललितपुरको बगलामुखी मन्दिर क्षेत्रमा खेल्न आउने थुप्रै बालकलाई डरधम्की देखाएर यौनशोषण गरेका थिए। पछिल्लो पटक एक जना १३ वर्षका बालकमाथि यौनहिंसा गरेपछि पक्राउ परेका ती यौन दुराचारी विरुद्ध अहिले ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गतको मुद्दा विचाराधीन छ। पीडित बालकतर्फका वकील रहेका कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का सन्तोष महर्जनका अनुसार, पीडक पटके अभियुक्त हुन्। अधिवक्ता महर्जनले पीडकको नाम उल्लेख गर्न भने चाहेनन्।

ललितपुरकै धोबीघाटमा सात वर्षका बालकमाथि यौन दुराचार गर्ने कैलाश चौधरीलाई भने ललितपुर जिल्ला अदालतले २३ माघमा १० वर्ष ६ महीना कैद र पीडितलाई रु.५० हजार क्षतिपूर्ति दिलाउने फैसला गर्‍यो। केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल मुद्दा चलेर बाल यौन दुराचारमा दोषी ठहर भएका घटनालाई अत्यन्त न्यून भन्छन्। उनका अनुसार, बालकमाथि यौन दुराचार भएको थाहा पाउँदा पनि धेरैजसो अभिभावकले सामाजिक बद्नामीको डरले घटना बाहिर ल्याउँदैनन्। “त्यसले गर्दा स्वदेशी–विदेशी यौन अपराधीहरूलाई सडक बालकहरूको यौनशोषण गर्न सहज भएको छ” धिताल भन्छन्, “बालकहरूका ब्वाइज होस्टल र बालगृहदेखि आफन्तका घरसम्म असुरक्षित बन्न पुगेका छन्।”

मनोविद् चेतना लोप्साङ यौन हिंसा हुँदा बालकहरूमा पनि बालिकामा जस्तै मनोवैज्ञानिक असर पर्ने बताउँछिन्। “बालक र बालिकाको 'इमोसन' एउटै हुन्छ” उनी भन्छिन्, “यौनहिंसामा परेका बालकहरूमा पनि सबभन्दा नराम्रो ममाथि भयो भन्ने सोच बढ्छ र उनीहरू एक्लै बस्ने, नबोल्ने, दैनिक क्रियाकलापबाट अलग्गिंदै जाने हुन्छन्।”

अपराधका लागि नेपाल

बालबालिकाको लागि कपडा, कापी–कलमदेखि स्कूलको शुल्कसम्म लिएर आउने कतिपय विदेशीहरू बाल यौन दुराचारी भएको भेटिएका छन्। उनीहरूले पाँच वर्षदेखि १६ वर्षसम्मका बालबालिकाको यौनशोषण गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ भदौ २०७३ मा ठमेलबाट अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्स् (४८) लाई पक्राउ गरेपछि विदेशी यौन अपराधीहरूले नेपालमा बालबालिका खोज्न स्थानीय सहयोगी समेत परिचालन गर्ने गरेको खुल्यो।

९० दिनको पर्यटक भिसामा आएका कुम्ब्स्को लागि लुच्चे भन्ने बुद्ध पुतवारले बालकहरू खोजेर होटलमा पुर्‍याइदिने गरेका थिए। होटलको कोठामा ११ वर्षदेखि १४ वर्षसम्मका तीन बालकमाथि यौन दुराचार गरिरहेको अवस्थामा पक्राउ परेका कुम्ब्स्लाई काठमाडौं जिल्ला अदालतले ७ वर्ष जेल सजाय र पीडित बालकहरूलाई जनही रु.५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ भने बुद्ध पुतवारलाई पाँच वर्ष कैद तोकेको छ।

त्यस्तै, ललितपुरको लजमा बालक ल्याएर यौन हिंसा गर्ने अर्नेष्ट फेन्विक म्याकिन्टोसलाई ललितपुर जिल्ला अदालतले १७ फागुन २०७१ मा ७ वर्ष कैद र रु.१० लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। क्यानेडियन नागरिक म्याकिन्टोस अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सूचीमा समेत परेका यौन दुराचारी हुन्।

बालकमाथि यौन दुराचार भएको थाहा पाउँदा पनि धेरैजसो अभिभावकले सामाजिक बद्नामीको डरले घटना बाहिर ल्याउँदैनन्। त्यसले गर्दा स्वदेशी–विदेशी यौन अपराधीहरूलाई सडक बालकहरूको यौनशोषण गर्न सहज भएको छ।

तारक धिताल

कार्यकारी निर्देशक

केन्द्रीय बाल कल्याण समिति

कानूनी व्यवस्था

बालबालिकाको हितमा कार्यरत सिविन नेपालका अध्यक्ष माधव प्रधान बालकहरूमाथि हुने गरेको यौनहिंसा लुकाएर लुक्ने सीमाभन्दा बाहिर पुगिसकेको बताउँछन्। गत वर्ष सिविनले पोखरा र काठमाडौंमा गरेको अध्ययनमा सबभन्दा बढी सडक बालक र रेस्टुरेन्टमा काम गर्ने बालकहरू यौनहिंसामा परेको देखिएको थियो। बालकहरूमाथि हुने यौन दुर्व्यवहारलाई पनि बलात्कार मानेर कारबाही गर्न सकिने कानूनी व्यवस्था छ।

मुलुकी ऐनको जबर्जस्ती करणी महलको दफा ९ 'क' मा 'कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबर्जस्ती करणी गरेको मानिने' उल्लेख छ। त्यस्तो अभियुक्तलाई ६ वर्षदेखि १५ वर्षसम्म कैद सजाय तोकिएको छ। महिला वा बालिकालाई करणी गरे बमोजिम हुने समयमा थप एक वर्ष कैद र त्यस्तो नाबालकको उमेर र उसलाई पुग्न गएको मर्का समेत विचार गरी अप्राकृतिक मैथुन गर्नेबाट मनासिव माफिकको क्षतिपूर्ति समेत भराई लिने व्यवस्था कानूनमा छ। तर, घटना लुकाउने प्रवृत्ति र कानून कार्यान्वयन पक्ष प्रभावकारी नहुँदा यौन दुराचारीहरू उम्किने गरेका छन्।

केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक धिताल पीडितलाई न्याय दिलाउने क्रममा संलग्न हुने विभिन्न निकायको यौन दुर्व्यवहार सम्बन्धी बुझाइ फरक देखिने गरेको अनुभव सुनाउँछन्, जसले गर्दा पीडकहरू उम्कन्छन्। उनका अनुसार, दुई वर्षअघि शैक्षिक सामग्री वितरण गर्न भन्दै चितवन आएका एक विदेशीले तीन जना बालकलाई आफूसँगै होटलमा राखेर नाङ्गै नुहाउने, फोटो, भिडियो खिच्ने गर्न थाले। विस्तारै उनले बालकहरूसँग यौनजन्य गतिविधि गर्न थालेपछि उजुरी पर्‍यो। प्रहरीले उनको क्यामरामा बालकहरूका नाङ्गा फोटा भेट्यो, तर नुहाइदिएको त रहेछ नि भनेर थप अनुसन्धान नगरी छोडिदियो। धिताल भन्छन्, “त्यो घटनामा प्रहरीले यो यौन दुर्व्यवहार हो भन्ने थाहै पाएन।”

comments powered by Disqus

रमझम