२७ साउन २०७० | 4 August 2013

पुलको कथा

Share:
  
- मिलन बगाले

मिलन बगाले
२२ असारमा पोखराबाट चितवन हिंडेको ना ४ ख ४६८४ नम्बरको बस तनहुँको दमौली नजिकै मादी नदीको पुलबाट खस्यो। पुलमा बस विस्तारै गुडाउने, ओभरटेक गर्दै नगर्ने र एउटा गाडी पार भएपछि मात्र अर्को जाने भद्र चलन छ। तर, २१ वर्षीय चालक वसन्त थापाले अराजक शैली अपनाएर बस नदीमा खस्दा ११ जना यात्रुले अनाहकमा ज्यान गुमाए, १० जना घाइते भए।

सो घटनामा एक जोडी पैदल यात्रीले गरेको गल्ती पनि सानो छैन। ४ साउनमा मैले कुरा गरेका स्थानीयवासीहरूका अनुसार, पुलमा फोटो खिच्नमा मग्न दम्पतीले आफ्नो बच्चा के गरिरहेको छ भन्ने ख्यालै गरेनन्। चञ्चल बच्चा पुल वारपार गर्न खोज्दा सो भयानक दुर्घटना भयो। अचानक पुलको बीचमा आएको बच्चालाई जोगाउँदा वायुसँग बात मार्दै आएको बस असन्तुलित भएर रेलिङ फोड्दै पुलमुनि खस्यो। बस कुनै पुलमा हुनुपर्ने जसरी धिमा गतिमा भएको भए चालकले दुर्घटना टार्न सक्ने थिए।

देशभर धराप

तनहुँकै क्यामिन गाविस-६, बर्लाचीको बारमुरेस्थित काठेपुल बिजोग अवस्थामा छ। रिस्ती खोलामाथि तेर्सिएको यो पुलले धेरैको ज्यान जोखिममा पारेको छ। यो पुल तरेर दैनिक लमजुङको सोती पसल पढ्न जाने नर्सरीदेखि बीएडसम्मका चानचुन ३०० विद्यार्थी छन्। कामको सिलसिलामा अरू २०० स्थानीयले दैनिक यो पुल प्रयोग गर्छन्। हिउँदभर कमिला हिंडेको रीस फेर्न बर्खामा बौलाउने रिस्ती खोलामाथिको पुलको मध्यभागमा डेढफुटे फलेकहरू छन्, बार (रेलिङ) छैन। ६ साउनमा मैले त्यो पुल तर्न सकिनँ। भेल अलि मत्थर भएको मौका पारेर पुलको अलि तलबाट हेलिएर पारि पुगें।

बारमुरेबाट पाँच किलोमिटर पश्चिमपिट्ट सत्रसयमा मोटरै गुड्ने पक्की पुल छ भने दुई किलोमिटर पूर्व-उत्तरको सोती गाउँमा पनि चिटिक्कको झोलुङे पुल छ। सोती गाउँबाट अर्को ४५ मिनेट हिंडेपछि अर्को काइदाको झोलुङे पुल तर्न पाइन्छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकै बाहुनपोखरा गाउँ पर्ने हुनाले त्यहाँ पुलबाट खसेर मर्ने डर रहेनछ। २०५६ सालदेखि नै लच्किने र फट्टा खस्ने नियति भोगिरहेको बारमुरेको काठेपुलले रु.५० हजार, रु.१ लाख सहयोग नपाएको भने होइन रहेछ। तर, त्यो फट्टा थप्दैमा सकिंदो रहेछ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भोट माग्न आएका पौडेल बाजेलाई बारमुरेवासीले बाहुनपोखराको जस्तै झोलुङे पुलको माग गरेछन्। वचनका पक्का पौडेलले पनि चुनाव जितेको उपलक्ष्यमा लच्किएका दुइटा खम्बा मर्मत गर्ने बजेट पठाइदिएर हरेक बर्खायाममा जोखिममा पर्ने बारमुरेवासीको समस्यालाई नासिनबाट जोगाएछन्, मानौं त्यो कुनै बहुमूल्य सम्पदा हो। गाविसले झोलुङे पुलको बजेट धान्न सक्दैन। वर्षेनि मर्मत र टालटुलको नाममा गाविस, जिविस र केन्द्रको बजेट त्यसै सिद्धिरहेको छ, स्थानीयवासीको समस्या चाहिं जहाँको त्यहीं।

बारमुरेको पुल नेपालको विकासे बेथितिको एउटा उदाहरण मात्रै हो। यसरी धानिरहेका धराप पुल देशैभर छन्। देशलाई जोडेको र देशले गर्व गरेको भनिएका ठूल्ठूला पुलहरू पनि धराप भइसकेकोतर्फ हाम्रा नीति-निर्माताहरूको ध्यान गएको छैन। दशकौं अघि बनेका ती पुलहरूको सिद्धिंदो आयुतर्फ उनीहरू उदासीन छन्। आखिर २०१९ सालमा बनेको कोशी पुलले युगयुगान्तर धान्ने त हैन होला! विकासलाई वरदान बनाउने कर्ममा जाँगर देखाउनेहरूको जय होस्!

comments powered by Disqus

रमझम