२७ साउन २०७० | 4 August 2013

नेपालीलाई सन्चो छैन

Share:
  

गर्मी र बर्खायाममा दूषित पानीका कारण अनेकौं रोगको प्रकोप फैलन्छ। हिमाल ले गत साता राजधानी सहित देशका प्रमुख १२ शहरमा ३७५ जनासँग गरेको सर्वेक्षणले बहुसंख्यक उत्तरदाताका आफन्त बिरामी परेको देखाएको छ। पछिल्लो डेढ–दुई महीनायता तपाईं या तपाईंको घरका कोही बिरामी भएका छन्? भन्ने प्रश्नको जवाफमा ७२ प्रतिशतले बिरामी परेको उत्तर दिए। २५.३ प्रतिशतले बिरामी नपरेको बताए भने थाहा छैन भन्ने उत्तरदाता २.७ प्रतिशत थिए।

आफू वा परिवारका सदस्य बिरामी परेको जवाफ दिनेमा सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलका ९२ तथा पश्चिमाञ्चलका ७६, पूर्वाञ्चलका ७३.३, मध्यमाञ्चलका ७२ र मध्यपश्चिमाञ्चलका ५६ प्रतिशत छन्। आफू वा परिवारका सदस्य बिरामी नपरेको भन्ने जवाफ दिनेमा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलका ४४ प्रतिशत छन्। वीरगञ्जका शतप्रतिशत तथा नारायणगढ र धनगढीका ९२ प्रतिशत उत्तरदाताले परिवारका सदस्य बिरामी भएको बताए। बिरामी पर्नेमा मधेशी दलित शतप्रतिशत, मधेशी ८३.८, पहाडी ७६.७ तथा पहाडी दलित ७० प्रतिशत छन्। बिरामी भएको छैन भन्नेमा सबैभन्दा धेरै मुस्लिम ४०, पहाडी जनजाति ३२.९ र नेवार ३१.८ प्रतिशत छन्।

बिरामी पर्नेमध्ये सबैभन्दा धेरै ज्वरोका भेटिए। कस्तो खालको बिरामी भएको हो? भन्ने प्रश्नमा ३०.४ ज्वरो, २०.७ रुघाखोकी र १०.७ प्रतिशतले टाउको दुख्नुलाई बिरामीको कारण भनेका छन्। ९.३ प्रतिशतले हातगोडा, शरीर बेस्सरी झ्मझ्माएर दुख्ने, ८.९ प्रतिशतले झाडापखाला चल्ने, ६.७ प्रतिशतले दुर्घटनामा परेर तथा १.९ प्रतिशतले आँखा पाक्ने रोगको बिरामी परेको बताए। १.५ प्रतिशतले थाहा छैन र ०.७ प्रतिशतले भन्न चाहन्न भन्ने जवाफ दिए भने ९.३ प्रतिशतले अन्य रोगलाई कारण मानेको बताए।

झ्ाडा–पखालाका बिरामी मध्यपश्चिममा सबैभन्दा धेरै २८.६, पश्चिमाञ्चलमा १०.५ र सुदूरपश्चिमाञ्चलमा ८.७ प्रतिशत भेटिए। ज्वरोका रोगी सबैभन्दा धेरै धरानमा ५०, काठमाडौंमा ४४.१ तथा नारायणगढमा ४३.५ प्रतिशत भेटिए। रुघाखोकीका रोगी सबैभन्दा धेरै दमकमा ४२.१, विराटनगरमा २७.३ तथा जनकपुरमा २६.३ प्रतिशत भेटिए।

बिरामी हुँदा बहुसंख्यक उत्तरदाता डाक्टरकहाँ गएको पाइयो। बिरामी हुँदा के गर्नुभयो? भन्ने प्रश्नमा ५५.६ प्रतिशतले डाक्टरसँग जँचाएर औषधि चलाएको बताए। १८.९ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नु परेको भेटियो। २३ प्रतिशत उत्तरदाताले केही दिनपछि रोग आफैं ठीक भएको बताए।

रोगप्रति बेवास्ता गर्नेमा निरक्षरहरू बढी रहेको सर्वेक्षणले देखायो। 'केही गरिएन, केही दिनपछि आफैं निको भयो' भनेर उत्तर दिनेमा सबैभन्दा धेरै निरक्षर ३८.१ प्रतिशत भेटिए। सबैभन्दा धेरै मुस्लिम ६६.७ प्रतिशत, मधेशी जनजाति ५७.१ प्रतिशत तथा पहाडी दलित २८.६ प्रतिशतले केही नगरी निको भएको जवाफ दिए। 'डाक्टरसँग जँचाएर औषधि चलाइयो' भन्ने उत्तर दिनेमा सबैभन्दा धेरै स्नातकोत्तर तह वा सोभन्दा माथि अध्ययन गरेका ६६.७ प्रतिशत भेटिए। पहाडी ५६.८, नेवार ६४, तथा मधेशी ६१.३ प्रतिशतले डाक्टरसँग जँचाएर औषधि चलाएको जवाफ दिए।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम