१५-२१ साउन २०७४ | 30 July - 5 August 2017

अर्थतन्त्रको अवयव

Share:
  

व्यवस्थापिका संसद्बाट गएको २९ असारमा दुई आश्रित विधेयकहरू– राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित भएपछि १६ वर्षपछि नयाँ आर्थिक वर्ष शुरु नहुँदै बजेट पास भएको छ। संविधानमै मिति तोकेर १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि गत वर्ष समयमै बजेट पारित हुनसकेको थिएन। यसको सीधा असर चालू आवको पूँजीगत खर्चमा देखियो। रु.३६ अर्ब पूँजीगत खर्च असारको अन्तिम तीन दिनमा गरियो। अर्कोतिर चालू खर्च भने विनियोजनको शतप्रतिशत नै खर्च हुँदै आएको छ।

पुस्तक समकालीन नेपाली अर्थतन्त्र लेखक गजेन्द्र बुढाथोकी प्रकाशक सांग्रिला बुक्स पृष्ठ २५४+६, मूल्य रु.३५०
यो त नेपाली अर्थतन्त्रको संरचनागत समस्याको नमूना मात्रै हो। आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक समकालीन नेपाली अर्थतन्त्र मा यस्ता थुप्रै बेथिति केलाउने प्रयत्न गरिएको छ।

लेखकले विकास खर्च ८५ देखि ९० प्रतिशतभन्दा बढी हुन नसक्नुमा राजनीतिक अस्थिरता र सरकारको खर्च प्रणालीलाई दोष दिएका छन्। समयमै बजेट नआउनु, साउनमै शुरु हुनुपर्ने काम मंसीरपछि मात्रै हुनु, एउटा सरकारले ल्याएको बजेटको स्वामित्व अर्को सरकारले नलिनु जस्ता कारणले विनियोजित विकास खर्च हुन नसकेको उनको ठम्याइ छ।

उच्च मूल्यवृद्धि, व्यापार घाटा, भ्रष्टाचार, बढ्दो बेरोजगारी, चन्दा, अस्पष्ट आर्थिक मुद्दा आदिलाई अर्थतन्त्रका अन्य संरचनागत समस्याको रुपमा पुस्तकमा व्याख्या गरिएको छ। दृढ इच्छाशक्ति, सबल ऐन–कानून, दूरदर्शी नेतृत्व र प्रभावकारी कानून कार्यान्वयन गर्न सक्ने संस्थाहरू भए मात्रै बाह्य निर्भरता घटाउन सकिने तर्क अघि सार्दै यसका लागि जलस्रोत, कृषि, स्वदेशी उद्योग, जडीबुटी, खानी, खनिज तत्व, परम्परागत शिल्पमा जोड दिइनुपर्ने सुझाव दिइएको छ। तर, पछिल्लो समय अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान दिइरहेका पर्यटन, प्रविधि आदिलाई भने लेखकले नजरअन्दाज गरेको देखिन्छ।

विश्वव्यापी आर्थिक उदारीकरणको लहर चलेका बेला २०४८ सालपछिको सरकारले नेपालमा पनि उदारीकरणलाई आत्मसात् गर्‍यो। लेखकले त्यसपछिको अर्थात् प्रजातन्त्र पुनर्स्थापनापछिको पाँच वर्षको अवधिलाई 'स्वर्णिम काल' मानेका छन्। उदारीकरणपछिका वर्षहरूमा दाताको निर्देशन मान्ने क्रममा दलहरूले गरेको अनेक प्रयोगका कारण सरकारले कल्याणकारी भूमिका नपाएको लेखकको निष्कर्ष छ। “न निजीकरण सफल भयो न त सरकारको कल्याणकारी भूमिका नै बलियो भयो”, लेखकको भनाइ छ।

विप्रेषण, तीव्र शहरीकरण, कृषि ज्यालामा भएको वृद्धि, आर्थिक रुपमा सक्रिय जनसंख्याको हिस्सामा भएको वृद्धिले गरीबी घटेको भन्ने दाबीलाई चुनौती दिंदै लेखक बरु धनी र गरीबबीचको खाडल उच्च दरले बढेको तर्क गर्छन्। 'खासगरी खाद्यान्नको बढ्दो मूल्यले धनी र गरीबबीचको अनुपात बढाउन ऊर्जाको काम गरिरहेको छ'– पुस्तकमा भनिएको छ। गरीबी न्यूनीकरण वा आर्थिक उन्नतिको मूल आधार भने फेरि पनि सबल शिक्षा नै भएको लेखकको धारणा छ।

पुस्तकमा समाविष्ट तथ्यांकसहितका प्रस्तुतिले लेखकको तर्कलाई बलियो बनाएको छ। पर्याप्त सन्दर्भ सामग्रीको भने अभाव खट्किन्छ। कठिन प्राविधिक शब्दावली र महत्वपूर्ण आर्थिक सन्दर्भलाई आम पाठकले समेत सजिलै बुझ्ने गरी पस्कन सक्नु भने पुस्तकको सबल पक्ष हो।

सन्त गाहा मगर


पुस्तक मेरो मधुशाला

लेखक गगनसिंह थापा

प्रकाशक सांग्रिला बुक्स

पृष्ठ ३२०+४,

मूल्य रु.४५४

गगनसिंह थापाको चौथो कृति हो मेरो मधुशाला। तीस–चालीस दशकको सुदूरपश्चिमको कटाँसे बजारको जनजीवनबारे लेखिएको पछिल्लो उपन्यास खासगरी मदिराको कुलतले निम्त्याएको समस्यामा केन्द्रित छ। पुस्तकमा 'मधुका प्यासीभन्दा मधुका दासी धेरै छन्', लेखकले भनेका छन्।

पुस्तक अप्ठ्यारो बाटो

लेखक श्रीभक्त खनाल

प्रकाशक सांग्रिला बुक्स

पृष्ठ २१८+६,

मूल्य रु.३५०

श्रीभक्त खनालको पछिल्लो पुस्तक हो, अप्ठ्यारो बाटो। पुस्तकको आवरणमै 'तिब्बती शरणार्थीको सङ्घर्ष–कथा' भनेर उल्लेख गरिएको यो पुस्तकमा नेपालमा रहेका तिब्बती शरणार्थीको आरोह–अवरोह पढ्न सकिन्छ। नियात्रा शैलीमा लेखिएको यो पुस्तकमा लेखक खनालले तिब्बती शरणार्थीका नसुनिएका पीडा बाहिर ल्याएका छन्।

पुस्तक बिन्दुमा सिन्धु

लेखक राजन पनेरु

प्रकाशक कविडाँडा साहित्य समाज

पृष्ठ १०४+४,

मूल्य रु.२००

युवा लेखक राजन पनेरुले समसामयिक विषयवस्तुमा रहेर लेखेका लघुकथाहरुको सङ्ग्रह हो, बिन्दुमा सिन्धु। यसमा समावेश ७४ वटा लघुकथाले ग्रामीण र युवा पुस्ताका विषयवस्तुलाई उठान गरेको छ। पहिलो कृतिमै उनी संभावना भएको लघुकथाकारका रुपमा उभिएका छन्, बिन्दुमा सिन्धु मार्फत ।

comments powered by Disqus

रमझम