आफैंतिर फर्केर हेर्दा

Share:
  
- ज्ञानमणि नेपाल
सित्ता्केल कुशबिर्ताको स्याहामोहरले हामी नेपाल बाहुनहरू दैलेखको नेपा कान्लाबाट पाल्पा, सिपा–मण्डन, नेपालदुन हुँदै भोजपुर पुगेको स्पष्ट पार्छ।

आफ्ना पुस्तक छाप्ने काममा सं. २०१६ देखि म बनारस जान थालेको हुँ। बनारस, सबैतिरका नेपाली जमघट हुने थलो। नेपालका विद्यार्थी, तीर्थयात्री र निर्वासित राजनीतिकर्मीदेखि दोर्जेलिङ्ग–सुखीमतिरका पुस्तक प्रकाशनार्थी सबै त्यहीं जम्मा हुन्थे। चिया–पान खान, पत्रिका हेर्न नेपालीहरू जगदम्बा धर्मशालामा भेला हुन्थे। त्यही मेसोमा तीनदशकअघि नेपाली समाजले मेरो एक प्रवचन कार्यक्रम राख्यो। त्यसबेला दोर्जेलिङ्गका साहित्यकार गुमानसिंह चाम्लिङ्गले मेरो अन्तर्वार्ता पनि लिएका थिए।

अर्को एकपल्ट हिन्दू विश्वविद्यालयको संस्कृति संकायले मेरो प्रवचन कार्यक्रम गरेको थियो। त्यसमा मैले 'हिन्दुस्तानको भन्दा नेपालको संस्कृति उँचो छ। नेपालको प्रस्तरकला, काष्ठकला, धर्म–संस्कृति पनि विश्वलाई आकर्षण गर्ने खालको छ। हिन्दू–बौद्ध संस्कृतिको समन्वय हेर्नुछ भने नेपाल जानुपर्छ। नेपालमा वैदिककालदेखिका जात्रा–उत्सवको संस्कृति छ। प्राचीन नेपालमा विशिष्ट आत्मबल भएका विद्वानहरूको कमी थिएन। ब्रह्मसूत्रको भाष्यकार शङ्कराचार्य भन्दा पहिल्यै नेपालमा ब्रह्मसूत्रको व्याख्या गर्न सक्ने अनुपरम गोमी जस्ता विद्वान थिए। धर्मशास्त्र, व्याकरण, काव्य–साहित्यका ज्ञाता महासामन्त अंशुवर्मा, कवि बुद्धकीर्ति राजा जयदेवहरूको नाम प्रसिद्ध छ' भनेको थिएँ।

मेरो प्रवचनबाट बूढापाका प्रोफेसरहरू प्रसन्न भएनन्। बाहिर निस्कनासाथ युवा प्राध्यापक तथा विद्यार्थीले मलाई घेरेर पूरा परिचय दिनुहोस् भन्न थाले। अघि दिएकै परिचय हो मेरो भन्दा उनीहरूले भने, “नहीं, आप नेपालके प्राध्यापक है, यह तो समझ्लिया। हम आपको टाइटल पुछरहे है।”

'टाइटल' पनि यही हो भन्दा उनीहरूले पत्याएनन्। अनि मैले झा, मिश्र, द्विवेदी, त्रिवेदी, ओझ्ा, तिवारी आदि टाइटल (थर) का ब्राह्मणहरू नेपालमा पनि हुन्छन्, कतै उच्चारणमा अलि फरक पर्छ। यी भारतबाटै गएका ब्राह्मण हुन्। हामी चाहिं कान्यकुब्जी ब्राह्मण हौं। हामीकहाँ बसेको स्थानको नामबाट धेरैजसो थर बन्छन्। अधिकारी, आचार्य थर कामबाट बनेका हुन्। हाम्रा पुर्खालाई पश्चिम कर्णाली प्रदेश सिंजाका खस मल्ल राजाले नेपा काल्ला बिर्ता दिए, त्यहाँ बस्ने नेपाल भए। वरैदरा बिर्ता पाउने वराल, खन्नादरा पाउने खनाल भए। यस्तो परम्परा तपाईंहरूको देशमा पनि छ। जस्तो, गढवालको पोखरी जिल्लामा बस्ने पोखर्‍याल (पोख्रेल), पौडी बस्ने पोड्वाल वा पौडेल आदि भनेर स्पष्ट पार्न खोजें।

त्यसपछि उनीहरूले भने, “अच्छा, अच्छा समझ्लिया आप कश्मीरी पण्डित ब्राह्मण है।”

तीमध्ये एकजनाले थपे, “आपका सकल और पहिरन से हि समझ्लिया। जवाहरलाल नेहरू कश्मीरी पण्डित है। इधर आकर नहर के आसपास रहने लगे तो नेहरू भी कहने लगे।”

नाकनक्शा र टोपी हेरेर उनले म कश्मीरी पण्डित हुँ भन्ने अड्कल लगाएका थिए। हुन पनि, हामी सबैजसो कान्यकुब्जी ब्राह्मणको पूर्व अभिजन कश्मीर नै हो। पुरानो थर पण्डित र भट्ट नै हो। उनलाई मैले नेपालबाट आउने सबैको थर नेपाल हुन्छ भनेर नसम्झ्नुहोला, थरको उत्पत्ति बिर्ता–बासस्थानबाट भएको हुन्छ। नेपाल देशको व्युत्पत्ति बेग्लै छ। प्राचीनकालमा वैदिक नीप नामको गण जातिले आवाद गरेर बसेका हुनाले देश नेपाल कहलाएको हो। नीप जस्तै पारगणहरू आएर गण्डकी प्रदेशमा शासन चलाई बसेकाले पारकोट कहलियो। त्यस क्षेत्रका शासक र जनता मात्र नभई तिनले पालेका भैंसीलगायतका पशु पनि पारकोटे कहिन्छन्। गोरखाका शाह राजा समेत पारकोटवंशी भनिन्थे।

बाह्रौं, तेह्रौं शताब्दीमा सिंजाका खस–मल्ल राजाहरूले ब्राह्मणलाई बिर्ता, क्षत्री र अरू जातिलाई छापखर्क, किपट जागीर दिएर विजित प्रदेश आवाद गरिरहेका थिए। उसबखतका कागतपत्र चाहिं धेरै नष्ट भए हुन्, ताम्रपत्र चाहिं पाइन्छन्। मध्यकालमा पाल्पामा सेन वंशको राज्य स्थापित भयो। सोह्रौं शताब्दीमा यो राज्यको सिमाना पूर्वमा टिष्टासम्म पुग्यो। पछि यो राज्य छुट्टिएर साना–ठूला धेरैवटा राज्य भए। तीमध्ये पूर्वका मकवानपुर, विजयपुर र चौदण्डी प्रसिद्ध छन्। अबका आलेखहरूमा ती राज्यहरूले दिएका बिर्ताका छापखर्क जागीर गाउँका पाएसम्म स्याहामोहर सकलै, नपाए नक्कल भए पनि दिएर बिर्तावार, जागीरदारहरूका परिचय दिइनेछ। पहिले म आफ्नै पुर्खाले पाएको खेत–खर्कको संक्षिप्त परिचय दिने प्रयत्न गर्दछु।

सिजापति राजाले जय विद्याकर पण्डितलाई दुल्लु दैलेखको नेपा कान्ला भन्ने जग्गा बिर्ता दिएका थिए। त्यो जग्गा आवाद गरी बसेका पण्डित वंश नेपाल (नेपा177आल) कहलियो। एउटा बिर्तामा बढी से बढी दुई सय वर्ष मात्र वंश अटाउँदोरहेछ। नेपाल कान्लामा नअट्ने भएपछि नेपालहरूको एक शाखा त्यहाँबाट पाल्पा आएर फैलियो। अर्को शाखा नुवाकोटको झिल्टुङ्ग (त्रिशूली किनार) को उब्जाउ खेतखर्क बिर्ता पाएर फैलियो। अर्को बिर्ता सिपा–मण्डन (सिन्धुपाल्चोक) मा पनि थियो। झिल्टुङ्ग र सिपा–मण्डनको बिर्ताको अनुश्रुति मात्र सुनिन्छ। नेपालहरूको बस्ती फैलिएको देखिन्छ, तर बिर्ता दिने राजाहरूको नाम सुनिंदैन। ती राजाहरू नेपालदुनका मल्लहरू नै हुनुपर्छ।

झिल्टुङ्ग बिर्ताका धेरै नेपाल बन्धुहरू नेपालदुनतर्फ फैलिए। सिपा–मण्डनका कति नेपालदुनतिर आए भने कति पूर्वतिर लागे। पूर्व फैलने क्रम कहिलेबाट चल्यो, यकिन छैन। अघिको इतिहासतिर फर्केर हेर्दा विक्रमको सातांै शताब्दीमा कश्मीर मण्डलका ब्राह्मणहरू कान्यकुब्जमा फैलिसकेका देखिन्छ। काश्मीरी ब्राह्मणहरू कान्यकुब्जी कहलाउँथे। कान्यकुब्जमा सम्राट हर्षवर्द्धनको साम्राज्य थियो। त्यसबेला त्यहाँ प्रचलित धर्म–संस्कृति नेपालमा यथावत् चलिरहेको छ। त्यसको ज्वलन्त उदाहरण हाम्रो चन्द्रसूर्याङ्कित झ्ण्डा हो। सातौं शताब्दीको कान्यकुब्जमा यस्तै झ्ण्डा फर्फहराउँथ्यो।
सम्राट हर्षको सेखपछि त्यहाँ काश्मीरी कर्कोटक वंशी राजाको प्रभाव फैलिएको देखिन्छ। विक्रमको नवौं शताब्दीमा कश्मीरका राजा जयापीड काश्मीरी सैन्यसाथ महाकाली तरेर पूर्व विजय गर्दै कालीगण्डकीसम्म आइपुगे। जयापीडलाई त्यहाँका राजा अरमुडिले जुक्तिले जितेर ठूलो किल्लामा कैद गरी राखे। कश्मीरको इतिहासमा अरमुडिलाई नेपालका राजा भनिए पनि ती स्थानीय रजौटा थिए।

विक्रमको बाह्रौं शताब्दीतिर खस राजा नागराजले कर्णालीको सिंजामा राज्य स्थापना गरे। यो राज्य जति फैलँदै गयो त्यति नै खस, बाहुन, मगर, गुरुङ, तामाङहरूको पनि फैलावट हुँदै आयो। यी राजाले मन खोलेर बिर्ता, जागीर, किपट, सोह्राना, छापखर्क दिंदै रहे। त्यसपछि स्थापित सेन साम्राज्यले पनि त्यसरी नै मन फुकाएर आफ्नो राज्यमा आवाद–गुल्जार गर्ने उद्देश्यले सबै जातिलाई छापखर्क, किपट, सोह्राना, बिर्ता दिने प्रचलन बढाएरै ल्याए। यस प्रचलनको सामान्य सिंहावलोकन गर्दा र आफैंतिर फर्केर हेर्दा मैले नेपाल बिर्तादेखि पाल्पा, झिल्टुङ्ग र सिपा–मण्डनसम्म फैलिएको नेपाल बन्धुहरूको कैरन माथि संक्षेपमा कहें।

सिपा–मण्डन बिर्तामा पनि अंशवण्डा गर्दागर्दै नअट्ने भएपछि शिवराम र गोपाल पूर्वतिर लागे। त्यसबेला पश्चिममा एउटा हौवा चलेको थियो– पूर्वमा त पानी लिन जाँदा बाजा बजाएर जान पाइन्छ रे! बिहान खाएको भाँडा बिहानै, बेलुका खाएको बेलुकै फाल्नुपर्छ, मानु मुरी धान फल्छ रे! अनि दुई दाजुभाइ शिवराम र गोपाल पूर्व लागेछन्। शिवराम भोजपुर पश्चिम (अहिले सिक्तेल) गाउँको चतरा गुठीको जग्गा आवाद गरेर बसेछन्, गोपाल चाहिं त्यहीं नजिक दुई खोलाबीचमा उत्तर–दक्षिण फैलिएको जंगलमा गोठ पालेर बसेछन्। यजुर्वेद कण्ठाग्र हुँदा रहँदाबस्ता गोपालले चौदण्डीका राजा विक्रमसेनबाट बिर्ता पाए। राजाले चार किल्ला छुट्याएर आऊ भनेपछि उनले हतुवा गढीका राई मुखियालाई किपट बाहेकको जग्गा छुट्याई मागेछन्। राईले सिक्तेलको गोठमा बसेकी आफ्नी बहिनीलाई बाहुनको लागि साँध–सीमा छुट्याउन अह्राएछन्। सिक्तेलनी बूढीको रोहबरमा बिर्ताको साँध–सीमा छुट्टिएपछि आफूले गोठ पालेको ठाउँ घडेरी, तल पाखाको खेत, सिक्तेल खोलाको खेत र आहाले (सल्लेनी) खर्क बिर्ता कायम गराउन गोपालले छोरा हरिनारायणलाई राजाकोमा पठाएछन्। विक्रमसेनले तिल, जौ, कुश र माटोको संकल्प गरी हरिनारायणलाई कुशविर्ताको स्याहामोहर गरिदिए। रइनी बूढीले गोठ राखेको ठाउँ बूढी लोहोसे भनिंदैछ। उनकै नामले सिक्तेल थुम सित्ते्कलखोले भनी कहिंदैछ। हाम्रो गाउँ सिक्तेल कुशविर्ता कहिंदैछ।


हरिनारायणले पाएको सित्ता्केल कुशबिर्ता स्याहामोहरको सार

(प्रशस्ति विक्रमसेन)

आगे सिक्तेलका अम्बल मध्ये विक्रमसेनले हरि नारायणलाई दियाको सित्ते्कल गाउँ घड्यारी किला साउन्या खोलादेखि पूर्व हुलुवा खोलादेखि पश्चिम हुलुवा वारीका थुम्काको लुहकील उत्तर आरुसुवारा तल्ला डिल देखि दखिन यति चार किल्ला भित्र गाउ घड्यारी व्यासी खेत ३।५० आहाल्या खरक भत्यारा टार सहेल्या खेतको सीमाना कुलावाध देखि पूर्व ताङलवा खोल्सादेखि पसिम सिक्तेल खोला देखि दखिन खेत गह्रा कान्ला देखि उत्तर यति ४ किल्लाभित्रको खेत मुरी ४५ (घरमा आगलागी हुँदा परेकोले यसको सकल स्याहामोहर, राजा विक्रमसेनको प्रशस्ति छैन। रुजु बस्ने चौताराको नाउँ, मोहरको मिति पनि छैन। यो सं. १८०८ तिरको स्याहामोहर हो भन्ने बुझिन्छ।)

comments powered by Disqus

रमझम