२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

चिरु र बामपुड्के बँदेल

Share:
  
- कमल मादेन
नेपालमा कहिल्यै नपाइएको चिरु र लोप भइसकेको बामपुड्के बँदेल सरकारको संरक्षित सूचीमा भने बाँचिरहेका छन्।

ब्रायन एच. हड्सन (सन् १८००–१८९४) लाई नेपालमा वन्यजन्तुको अध्ययनका शुरूआतकर्ता मानिन्छ। तत्कालीन इष्ट इण्डिया कम्पनीको क्रमशः कर्मचारी, सहायक आवासीय प्रतिनिधि र चौथो आवासीय प्रतिनिधि भएर सन् १८२०–४३ मा नेपाल बसेका हड्सनले त्यसपछिका वर्षहरू समेत गरी झ्ण्डै ४० वर्ष नेपालका स्तनधारी, चरा, सरीसृप, उभयचर र माछा समूहको अध्ययन गरेका थिए। नेपाल बसाइँकै क्रममा हड्सनका वन्यजन्तु सम्बन्धी ११७ वटा र पछिका केही वर्ष दार्जीलिङ बस्दा थप २९ वटा वैज्ञानिक लेख प्रकाशित भएको पाइन्छ। नछापिएका लेख र पुस्तकमध्ये धेरैजसो जुलोजिकल सोसाइटी अफ लण्डनमा संग्रहित छन्।

कूटनीतिज्ञ हड्सनको विशेष रुचि स्तनधारी जीवमा थियो। त्यसैले पनि हुन सक्छ, उनका ८२ वटा वैज्ञानिक लेख स्तनधारीकै बारेमा छन्। उनले नेपाल रहँदा स्तनधारीका ११४ प्रजातिका ३७३ वटा नमूना संकलन गरेका र तीमध्ये २७ प्रजाति विश्वकै निम्ति नयाँ थिए। हड्सन संकलित नमूनामध्येबाटै अन्य जन्तुविज्ञले विश्वका निम्ति थप नयाँ प्रजाति पत्ता लगाए। आज नेपालमा जे–जति स्तनधारी प्रजाति सूचीकृत छन्, ती सबै विदेशी अनुसन्धानकर्ताले नै पत्ता लगाएका हुन्। नेपाली जन्तुविज्ञ प्रा.करनबहादुर शाहले भने विश्वका लागि नभए पनि नेपालका लागि दुई नयाँ स्तनधारीका प्रजाति पत्ता लगाएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सन् २०११ मा प्रकाशन गरेको 'द स्टेट्स अफ नेपाल्स म्यामल्स् : द नेशनल रेड लिष्ट सेरिज' अनुसार, नेपालमा २०८ प्रजातिका स्तनधारी जीव छन्। तर, सन् २०१४ मा जर्नल अफ थ्रेटेन्ड ट्याक्सा मा छापिएको जन्तुविज्ञ सञ्जन थापाको लेख भने मुलुकमा स्तनधारीका १९२ प्रजाति मात्र रहेको उल्लेख छ।

कति छन् त नेपालमा स्तनधारीका प्रजाति? यकिन देखिंदैन। समयक्रममा कुन प्रजाति लोप भए र कुन थपिए? यसबारे झ्नै बहस भएको देखिंदैन। तर, हड्सनलगायतका अन्य विज्ञले पत्ता लगाएका दुई स्तनधारी जीवबारे रोचक प्रसंग भने यस्तो छ।

चिरु

सन् १९४० ताका ब्रायन हड्सनले बनाउन लगाएको चिरुको चित्र नेपाली चित्रकार राजमान सिंहले बनाएको अनुमान गरिन्छ
सन् १८२६ मा प्रकाशित 'द एशियाटिक जर्नल एण्ड मन्थ्ली रजिष्टर' को भोल्युम २२ मा उल्लेख भए अनुसार, हड्सनले चिरुको छाला र सिङको नमूना भारत पठाए। ३२००–५५०० मिटर उँचाइका फराकिला भू–भागमा पाइने चिरु नेपालमा पाइन असम्भव झैं थियो। चिरु अध्ययनको जिम्मा वनस्पति विज्ञ डा. क्लार्क एबेललाई दिइयो। १८१६–१८१७ सम्म मेडिकल अफिसर र नेचुरलिष्टका रूपमा चीन खटाइएका डा. एबेलले सन् १८२५ ताका प्राप्त चिरुको नमूनालाई 'विश्वकै निम्ति नयाँ प्रजातिको स्तनधारी' ठहर्‍याउँदै 'एन्टिलोप हड्सोनी' को वैज्ञानिक नामकरण समेत गरेका थिए, जुन हड्सनकै नामबाट राखिएको थियो। डा. एबेलको चिरु सम्बन्धी लेख १८२६ मा कलकत्ता गभर्मेन्ट गजेटमा छापियो। तर, हड्सनले सन् १८३४ मा चिरुको नाम प्यान्थोलोप्स हड्सोनी राखे, जुन अद्यापि कायम छ।

त्यसयता नेपालमा चिरु कतै पाइएको छैन। वास्तविकता त के थियो भने, हड्सनले भेटेको भनिएको चिरु पनि नेपालको थिएन। राजदरबारलाई तिब्बतस्थित लामाहरूले उपहारस्वरुप दिएको चिरुलाई नै हड्सनले नमूनाका रूपमा भारत पठाएका थिए। जुन तिब्बतको टिन्ग्री उपत्यकाबाट ल्याइएको थियो।

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, अनुसार चिरु अहिले पनि नेपालको संरक्षित वन्यजन्तु हो। विभागद्वारा प्रकाशित 'रेड लिष्ट सिरिज' मा चिरु नेपालबाट लोप भएको तर यो अन्नपूर्ण संरक्षण क्षेत्र, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र हुम्लामा पाइन सक्ने अनुमान गरिएको छ।

तिब्बतमा भने चिरु प्रशस्त पाइन्छ। फोटोग्राफर लिउ वेइ–चियाङको चिङहाइ–तिब्बत रेल्वेमार्ग मुन्तिर दौडिरहेका चिरुका लस्कर देखाइएको तस्वीरले निकै चर्चा पाएको थियो। द्रुत विकासका नाममा चीनले लोपोन्मुख चिरुलाई ध्यान नदिएको भन्दै पर्यावरणविद्हरूले चिन्तासमेत प्रकट गरेका थिए। तर, यो चित्र पछि मोन्टाज गरिएको भन्ने पत्ता लाग्यो।

बामपुड्के बँदेल

बामपुड्के बँदेल (पिग्मी हग)।
हड्सनले सन् १८३०–३२ ताका एकजना मेचे शिकारीमार्फत 'नेपालमा विश्वकै सबैभन्दा सानो बँदेल पाइन्छ' भन्ने सुने। सम्भवतः ती मेचे शिकारी पूर्वी नेपालको मेची नदी आसपास बसोबास गर्ने मेचे समुदायकै पूर्वज हुनुपर्छ। उनले त्यो बँदेलको शरीर भेटेनन्। तर, अस्थिपञ्जर अध्ययनमार्फत उक्त बँदेल अन्य बँदेल प्रजातिसँग नमिल्ने निष्कर्ष निकालेका थिए।

त्यो बँदेलको सग्लो शरीर हेर्ने धोको भने हड्सनलाई नेपाल छाडेपछि मात्रै प्राप्त भयो। उनले सन् १८४४–४५ तिर सिक्किमको समथर भागमा उक्त बँदेल देखे। सन् १८४७ मा प्रकाशित जर्नल अफ द एशियाटिक सोसाइटी अफ बङ्गालको भोल्युम १६ मा हड्सनले यसबारे विस्तृतमा लेखेका छन्। लेखमा हड्सनले बँदेललाई पोर्कुला साल्भानिया नाम दिएका थिए। उनले यो बँदेल साल अर्थात् सखुवाको जंगलमा मात्र पाइन्छ भनी लेखेका छन्।

जीबी कोर्बेट र जेइ हिल लिखित 'द म्यामल्स अफ दि इन्डोमलायन रिजनः अ सिस्टमेटिक रिभ्यू' (सन् १९९२) पुस्तकमा हड्सनले पत्ता लगाएको सानो बँदेलबारे पनि चर्चा गरिएको छ। यी लेखकद्वयले हड्सनको सानो बँदेल पोर्कुला नभई सस् भनिने जाति (जिनस) हो भन्दै सस् साल्भानियस नाम दिए। तर, स्टेफन मार्क फन्कसहित अन्य लेखकहरूको अध्ययनले उक्त बँदेलको वैज्ञानिक नाम पोर्कला साल्भानिया नै सही भएको ठहर गर्‍यो। सन् २००७ मा 'साइन्सडाइरेक्ट' जर्नलको अंक ४५ मा प्रकाशित 'द पिग्मी हग इज अ युनिक जिनसः नाइन्टिन्थ सेन्चुरी ट्याक्सोनोमिष्ट्स गट इट राइट फर्स्ट टाइम राउण्ड' लेखमा यी वैज्ञानिकहरूले यो तथ्यलाई पुनः प्रमाणित गरेका थिए।

तर, वन, राष्ट्रिय निकुञ्ज र वातावरण सम्बन्धी ऐन तथा नियमावलीको संग्रह, २०७१ मा सानो बँदेलको नाम सस् साल्भानस नै राखिएको छ। हड्सनले पत्ता लगाएको त्यो बँदेललाई अंग्रेजीमा 'पिग्मी हग' अर्थात् बामपुड्के बँदेल पनि भनिन्छ। हड्सनका अनुसार, यो बँदेल ८ देखि १० इन्चसम्म अग्लो, १८ देखि २० इन्चसम्म लम्बाइ र ७ देखि १० (विरलै १२) केजीसम्म तौलको हुने गरेको छ।

१९औं शताब्दीसम्म नेपाल, भारतलगायत भूटानमा पनि पाइने बँदेल अहिले भूटानमा लोप भइसकेको छ। नेपालमा सन् १९७० यता यो बँदेल भेटिएको जानकारी छैन। तर, वन्यजन्तु संरक्षण ऐनमा यही बँदेललाई संरक्षित वन्यजन्तुको सूचीबाट हटाएको छैन।
भारतमै पनि आसामको मानस राष्ट्रिय निकुञ्ज बाहेक अन्यत्रका सबै बँदेल मासिएका छन्। त्यसयता भारतमा 'पिग्मी हग कन्जर्भेसन प्रोग्राम' सञ्चालनमा छ।

अहिलेसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ आधा दर्जन भन्दा बढी पटक संशोधन भइसकेको छ। तर, ऐनमा रहेका यस्ता गलत 'तथ्य' भने सच्चिएका छैनन्। ऐनका गलत कुरा पढेर, पढाएर विद्यार्थी मात्र होइन, विज्ञहरू समेत दिग्भ्रमित छन्। संवेदनशील विषयमा यस्ता थुप्रै गलत जानकारी सरकारी प्रकाशनहरूले बाँडिरहेका छन्। तर, यसलाई सुधार्ने आवश्यकता अहिलेसम्म सम्बन्धित मन्त्रालय र विभागहरूले देखेकै छैनन्।

comments powered by Disqus

रमझम