२७ साउन २०७० | 4 August 2013

घातक खेलौना

Share:
  
- मीना शर्मा
घातक रसायन प्रयोग गरेर बनाइएका खेलौनाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको छ।

डम्बरकृष्ण श्रेष्ठ
पसलमा बेच्न राखिएका खेलौना।

सन् २०१२ मा रु.८१ करोडको खेलौना नेपाल भित्रिएको भन्सार विभागको तथ्याङक छ। हातमा बोकिने, अनुहार र शरीरमा टाँसिने ती खेलौनाले बालबालिकालाई मनोरञ्जन दिन्छन् कि रोग पनि सार्छन् भन्नेबारे धेरैको ध्यान गएको पाइँदैन। खेलौना बारे अनुसन्धान गरेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड)का कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साह भन्छन्, खेलौना बनाउँदा प्रयोग हुने अस्वस्थ रसायनले बालबालिकाको स्वास्थ्यलाई गम्भीर असर पारेको छ। साहका अनुसार, बालबालिकाले स्कूल लैजाने टिफिन बक्स पनि रसायन मिसाएर बनाइने भएकाले स्वास्थ्यका लागि घातक छ।

हानिकारक रसायन

सेफेडले उपत्यकाका असन, महाबौद्ध, पुल्चोक, सानेपा, लगनखेल, बानेश्वर, कोटेश्वर, जावलाखेल र काभ्रेको बनेपामा १०० खेलौना किनेर अध्ययन गर्दा तिनमा लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमिन जस्ता घातक रसायन रहेको भेटिएको थियो। प्लाष्टिक, काठ, धातु, कागज, रबर, कृत्रिम रेसा, स्पञ्ज, माटो र फोमबाट बनेका कप, बोटल, गुडिया, कुकुर, भान्साको आइटम, कार, बेञ्जो बाजा, क्यामरा, बन्दूक, माक्स, पञ्जा, पुतली, मोबाइल, जनावर, घडी लगायत ३२ प्रकारका खेलौनामा ती रसायन मिसाइएको पाइएको थियो।

परीक्षण गरिएका कैयौं खेलौना चीन, भारत, थाइल्यान्ड, हङकङ, श्रीलंका र नेपालमा बनेका थिए भने केही खेलौनामा कहाँ बनेको हो केही लेखिएको थिएन। नेपाल ह्याण्डिक्र्याङ्गट टेस्टिङ ल्याब्रोटरी काठमाडौंमा गरिएको सो परीक्षणले २८ वटामा सिसा, एउटामा मर्करी (पारो), नौ वटामा क्याडमियम, १४ वटामा क्रोमियम र ४० वटामा ब्रोमिन मिसाइएको भेटियो। ५४ प्रतिशत खेलौनामा रसायनको मात्रा ३.६ पी.पी.एम देखि ८३०५.८ पी.पी.एम रहेको पाइयो। जबकि अमेरिकी मापदण्ड अनुसार सिसा ९०, मर्करी १, क्याडमियम ७५, क्रोमियम र ब्रोमिन ६० पी.पी.एम सम्म मात्र खेलौनामा प्रयोग गर्न पाइन्छ। परीक्षण गरिएका २९ प्रतिशत खेलौनाहरू ८ वर्षसम्मका बालबालिकाले प्रयोग गर्न नहुने देखिए पनि सबै उमेरका बालबालिकाले प्रयोग गर्ने गरेको र विद्यालयले नै किनेर बालबालिकालाई खेल्न दिइएको पाइयो। नेपालमा खेलौना र अरू सामानमा रसायन कतिसम्म प्रयोग गर्न पाइने भन्ने नियम नभएकाले स्वास्थ्यलाई खतरा हुनसक्ने खेलौना पनि खुलेआम बिक्री भइरहेको साह बताउँछन्।

बिक्री-वितरण निर्वाध

खेलौना बनाउँदा प्रयोग हुने अस्वस्थ रसायनले बालबालिकाको स्वास्थ्यलाई गम्भीर असर पारेको छ।

रामचरित्र साह,

वातावरणविद्

अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदन अनुसार सन् २००७ मा त्यहाँ गरिएको अध्ययनले बजारमा पाइने १५७ खेलौनामध्ये ९९ प्रतिशतमा सिसा लगायतका रसायन भेटिएका थिए। सन् २०११ मा गरिएको अर्को अध्ययनले ४५ प्रकारका खेलौनामा लेडमिश्रित रसायन पाइएको थियो भने वातावरणीय स्वास्थ्य परियोजनाले १२०० गुडियामा गरेको अर्को अध्ययनले दुईतिहाईभन्दा बढीमा लेड, मर्करी, क्याडमियम, तथा आर्सेनिक रहेको प्रतिवेदन दियो। सन् २०१२ मा फिलिपिन्समा ४३५ वटा खेलौनामा गरिएको अध्ययनले १२४ वटामा एन्टिमनी, आर्सेनिक, लिड, मर्करी, क्याडमियम जस्ता घातक धातु फेला पर्‍यो। परीक्षणबाट आएको सो नतीजापछि ती देशमा त्यस्ता खेलौनाको बिक्री वितरणमा प्रतिबन्ध लगाइए पनि नेपालमा भने हानिकारक रसायन मिसाइएका खेलौनाको बिक्री-वितरण निर्वाध छ।

देबकी विष्ट
कीर्तिपुरस्थित होजियारीमा उत्पादन गरिएका खेलौना।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जकी बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठका अनुसार सिसा, मर्करी, क्याडमियम जस्ता रसायनको नियमित नजिक रहने बालबालिकालाई रगत वृद्धि नहुने जस्ता स्वास्थ्य समस्या आउँछन्। गर्भवती महिला र नवजात शिशुलाई पनि त्यस्ता खेलौनाले घातक असर पार्ने भए पनि विस्तृत अध्ययन नभएकाले चिकित्सकहरू नै त्यसको असरबारे जानकार नरहेको उनले बताइन्।

स्वस्थ खेलौना बाहिर

नेपाली बजार विदेशका खेलौनाले ढाकिएकाले नेपालमै बनेका खेलौना कमै बिक्री हुन्छन्। यो वर्ष रु.५ लाखका खेलौना बनाउँदै गरेको कीर्तिपुर होजियारी उद्योगले बेलायत, अमेरिका, जापान, थाइल्याण्डमा खेलौना पठाउने गर्छ। नेपालमा बन्ने खेलौना विदेशीभन्दा केही महँगो हुने भएकाले नेपालमा विदेशी खेलौना बिक्री हुने गरेको बताउँदै उद्योगकी सञ्चालक सविता श्रेष्ठ भन्छिन्, महँगा भए पनि पर्यटकहरूले हाम्रो खेलौना किन्छन्। नेपाली खेलौना हातले बनाइने हुनाले महँगा भए पनि हानिकारक रसायन नमिसाइने हुनाले स्वस्थकर हुने उनको भनाइ छ।

comments powered by Disqus

रमझम