२७ साउन २०७० | 4 August 2013

शतप्रतिशत असल हुँ भन्दिनँ तर नियतमा खोट छैन

Share:
  
- प्रभात भट्टराई र रमेश कुमार
त्यसैले देशमा समस्या छ भन्दैमा आधा खाली गिलास देख्नुभन्दा आधा भरी छ भनेर योजना बनाउँछु।

मीनरत्न बज्राचार्य

चार दशकअघि चामल मीलबाट व्यवसायमा हात हालेको पञ्चकन्या समूह मुलुकको प्रमुख व्यापारिक घरानाको रूपमा स्थापित भइसकेको छ। प्रेमबहादुर श्रेष्ठले शुरू गरेको व्यवसायको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका छन्, माइला छोरा प्रदीपकुमार श्रेष्ठ (५४) ले। युवावस्थामै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालिसकेका प्रदीप मुलुक बाहिरका क्षेत्रीयस्तरका संघसंस्थामा समेत सक्रिय छन्। नैतिकतालाई मूलमन्त्र बनाएकाले पञ्चकन्या समूह कर छली जस्ता बदनामीमा नपरेको उनको भनाइ छ। धेरैजसो व्यावसायिक घराना व्यापारमा आकर्षित भइसक्दा पनि उद्योगमा रमाइरहेको पञ्चकन्या समूह मुलुकमा १० वर्षे द्वन्द्वमा समेत नयाँ उत्पादन बजारमा पुर्‍याउन सफल भएको थियो।

इलामको पञ्चकन्यामा जन्मिएर त्यहीं प्राथमिक शिक्षा, दार्जीलिङमा कलेज र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर प्रदीप आफ्नो उत्पादकत्व त्यसै मरेर नजाओस् भन्ने मान्यता अँगालेकाले जस्तोसुकै वातावरणमा पनि चूप लागेर बस्न नसकेको बताउँछन्। सानैदेखि खेलकुदमा रुचि राख्ने उनी एकताका फूटबलको रारयस्तरको खेलाडी थिए। पछिल्लो समय नियमित गल्फ खेल्ने श्रेष्ठले हिमाल का प्रभात भट्टराई र रमेश कुमारसँग छोराहरू समेत व्यवसायमा सक्रिय भइसकेकाले आगामी दिनमा समूहले नयाँ गति पाउने बताए।

पञ्चकन्या समूहले नयाँ लगानी गर्न लागेको क्षेत्र कुन हो?

हामी सिमेन्ट उद्योग स्थापनाको तयारीमा छौं। सिमेन्ट उद्योगको अध्ययनसँगै काठमाडौं नजिकै खानी लिइसकेका छौं। केही वर्ष अघिदेखि नै सिमेन्ट उत्पादन गर्ने हाम्रो योजना थियो। तर राम्रो खानी विना उत्पादनमा जान गाह्रो हुने र विदेशबाट क्लिंकर ल्याएर उद्योग संचालन गर्न नचाहेकाले केही ढिला हुन गएको हो। सिमेन्ट उत्पादनअघि अन्य क्षेत्रमा लगानी गर्ने हाम्रो योजना छ।

लगानीका अन्य क्षेत्र?

लगानीको वातावरण नहुँदा पनि पञ्चकन्या समूहले कम्तीमा हरेक दुई वर्षमा एउटा उत्पादन बजारमा ल्याइरहेकै छ। भर्खरै मात्र स्टील पानी ट्याङ्की ल्याएका छौं। हाम्रो पहिचान निर्माण सामग्री उत्पादनमा भएकाले नयाँ उद्योग पनि यससँग सम्बन्धित हुनेछ। बजारको आवश्यकता महसूस गरी उत्पादन र लगानी थपिरहेका छौं। त्यसैले लगानीको अबको क्षेत्र निर्माण सामग्री केन्द्रित हुनेछ। अहिलेको डिलरको नेटवर्कभित्रै काम हुने गरी लगानी विस्तार गर्ने योजना छ।

स्वदेशी उत्पादनहरूबीच पनि प्रतिस्पर्धा बढेको छ नि होइन?

प्रतिस्पर्धा भए पनि त्यसमा आत्तिनुपर्दैन। हामीकहाँ करमा अलि बढी नै समस्या छ। करको दायरामा आएकालाई घाँटी समाउने काम भएको छ। एउटा छिमेकी पसलेले भ्याट नतिर्ने तर अर्कोले तिनुपर्ने भएपछि कसरी स्वस्थ प्रतिस्पर्धा हुन्छ? त्यसैले सरकारले करको दर होइन, दायरा बढाउनुपर्छ।

पञ्चकन्या समूहको शुरूका तीन दशकको गति अहिले अलिक सुस्ताए जस्तो देखिन्छ नि !

त्यस्तो होइन। २०५२ पछिको दशकको द्वन्द्वकालमा देशमा लगानी गर्न सकिंदैन भनेर सबैतिरबाट कुरा उठ्दा पनि हामीले आधा दर्जन उद्योग थपेका थियौं। प्लाष्टिक पाइप, ग्याँस सिलिण्डर, रेडिमेड कंक्रिटदेखि पछिल्लो समय पानी ट्याङ्कीसम्म हाम्रो इन्नोभेसनका नमूना हुन्। पञ्चकन्या स्टीलको तुलनामा त्यसयता त्यति ठूला लगानीका उद्योग नआए पनि बजारको माग अनुसार नयाँ उद्योग खोलेका छौं।

निजी क्षेत्रले सधैं भन्ने गरेको लगानीको वातावरण किन बन्न नसकेको होला?

लगानीको पहिलो शर्त भनेकै स्थायी सरकार र नीतिगत स्थिरता हो। यो बाटोबाट जाँदा यति वर्षमा यति प्रतिफल आउला भन्ने लगानीकर्ताको सोचाइ हुन्छ। तर राजनीतिक अस्थिरताले गर्दा प्रतिफल अनिश्चित हुन्छ। यसैगरी हामीकहाँ बाटो, विद्युत् लगायतका भौतिक तथा सामाजिक र प्रशासनिक पूर्वाधारको कमी छ। यसका साथै श्रम समस्या त छँदैछ। बजारको हिसाबले उपभोक्ताको क्रयशक्ति नबढेकाले माग सिर्जना हुन सकेको छैन। खुल्ला सीमाका कारण निर्वाध भित्रिने वस्तुसँग करको दायरामा रहेका नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नु परेको छ। नेपाली उत्पादनले राज्यबाट संरक्षण पाएका छैनन्। यसका साथै, पटक पटक परिवर्तन भएका सरकारको प्राथमिकता आर्थिक नभई राजनीतिक विषय भएको छ।

पञ्चकन्या चाहिं यी समस्या चिर्न सफल भएको हो?

काम गर्ने वातावरण नभएर खाली हात बस्नु भनेको आफ्नो उत्पादकत्व आफैं घटाउनु हो। त्यसैले देशमा समस्या छ भन्दैमा आधा खाली गिलास देख्नुभन्दा आधा भरी छ भनेर योजना बनाउँछु। अर्कोतिर नेपालमा अहिले वित्तीय क्षेत्रको राम्रो विकास भएकोले ऋण लिन गाह्रो छैन। ब्याङ्कले सजिलै पत्याउँछन्। यो पञ्चकन्याको गुडविल पनि हो। त्यसैले पैसाभन्दा यो अवधिमा हामीले विश्वास बढी कमाएका छौं। त्यही विश्वासको बलमा व्यवसाय अघि बढाउँदैछौं। तर यहाँको वातावरण राम्रो भएको भए अहिलेभन्दा दुईतीन गुणा बढी सफल हुनेथियौं।

नेपालमा उद्योग सञ्चालनका लागि सबैभन्दा फाइदाजनक क्षेत्र कुन हो?

सबैभन्दा सम्भावनायुक्त क्षेत्र भनेकै पूर्वाधार उद्योगहरू हुन्। सिमेन्ट, जलविद्युत्, होटल बाहेकको महत्वपूर्ण क्षेत्र कृषिजन्य उद्योग हो। यसलाई व्यवसायीकरण गर्न सकिन्छ। नेपाल भूपरिवेष्ठित मुलुक भएकाले आयात निर्यातमा बढी खर्च हुन्छ। त्यसैले हाई भ्यालु उद्योगहरू जस्तै काष्ठकला, जेम्स एण्ड ज्वेलरी, हस्तकला आदिको सम्भावना प्रचूर छ। स्वीट्जरल्याण्डले घडी र चकलेट बेचे जस्तै हामी पनि खास वस्तुलाई उच्च मूल्यमा बेच्न सक्छौं। तर, सबै वस्तुमा बाजी मार्न सक्दैनौं। त्यसैले सम्भावना बोकेको क्षेत्रमा लगानी गर्दा तत्काल नतीजा आउँछ। यसका साथै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा पनि प्रतिस्पर्धात्मक फाइदा लिन सक्छौं।

कृषिमा संभावना छ भन्नुभयो, तर कृषिजन्य उद्योग खोल्न किन हिच्किचाउनुभएको?

पञ्चकन्याको सुरुआत कृषिजन्य उद्योगबाटै भएको हो। हामीले शुरूमा चामल, तेल आदि उत्पादन गरेका थियौं। तर, अहिले नेपालमा आयातमा आधारित व्यवसाय फस्टाइरहेको छ। विदेशको कमाइ नेपालमा भित्र्याउने अनि बजारबाट किनेर खाने आदत विकास हुँदै जाँदा कृषिमा दक्ष जनशक्तिको अभाव देखिएको छ। कृषिमा आधारित उद्योगका लागि उत्पादन वृद्धि पूर्वशर्त हो। यहाँको खण्डीकृत जग्गामा आधुनिक कृषि प्रणाली अपनाउन सकिंदैन। साथै सरकारले सिंचाइको आवश्यक व्यवस्था मिलाएको छैन। कृषिमा निजी क्षेत्र अग्रसर हुनका लागि सरकारको नीतिगत सहयोग चाहिन्छ। व्यवसायीसँग कसरी बढी कर उठाउने मात्र भन्दा पनि कसरी पूँजी निर्माण गर्न सकिन्छ भन्नेतिर सरकारको ध्यान केन्द्रित हुनुपर्छ।

सरकारी संस्थान नेपाल बिटुमन एण्ड ब्यारेललाई निजीकरणबाट लिएर राम्रो कमाइ गर्नुभएको छ होइन?

सरकारले निजीकरण गरेका उद्योगमध्ये सफलतापूर्वक सञ्चालन भइरहेको उद्योग हो यो। निजीकरण हुनुअघि सडक विभागले अग्रिम रकम जम्मा गरेर मात्र बिटुमिन पाउँथ्यो। तर अहिले हामी पहिला माल दिएपछि रकम लिन्छौं। सरकारी संस्थान हुँदा एकाधिकार रहेकोमा अहिले प्रतिस्पर्धा छ। विदेशबाट आयात हुने बिटुमिन र ब्यारेलसँग यहीं उत्पादन गरेर प्रतिस्पर्धा गरिरहेका छौं। तर, पनि मुनाफाबाट हरेक वर्ष शेयरधनीलाई लाभांश दिन सफल छौं। तर दुःखको कुरो सरकारले कच्चा पदार्थ र तयारी वस्तु आयात दुवैमा समान भन्सार दर राखेको छ। स्वदेशमा य्.भ्यालु एडिसन गर्ने गरी कच्चा पदार्थ आयात गर्नेलाई तयारी वस्तुको तुलनामा राहत दिने नीति हरेक सरकारको हुन्छ। तर, हामीकहाँ यसप्रति बेवास्ता गरिएको छ।

पञ्चकन्या समूहको वार्षिक कारोबार कति छ?

पञ्चकन्या समूह अन्तर्गतका करीब एक दर्जन उद्योगमा वर्षेनि अर्बौं रुपैयाँको कारोबार हुन्छ। एक हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छौं। सधैं असल करदाताका रूपमा रहन सफल छौं। त्यसैले पञ्चकन्या समूहले पैसाभन्दा धेरै विश्वास र इज्जत कमाएको छ। हाम्रो ब्राण्ड इमेज राम्रो छ। यदाकदा हुने मानवीय त्रुटि बाहेक हाम्रो कम्पनीले नियतवश कहिल्यै खराब काम गरेको छैन। म आफूलाई शतप्रतिशत असल हुँ भन्दिनँ तर नियतमा खोट छैन।

निर्यात पनि गर्नुहुन्छ?

भारत र तिब्बतमा पाइप तथा फिटिङका सामान केही मात्रामा निर्यात भए पनि मुख्यतः स्थानीय बजार लक्षित गरी उत्पादन गरिरहेका छौं। नेपाली उपभोक्तालाई स्वदेशी गुणस्तरीय निर्माण उपकरण उपलब्ध गराउनु हाम्रो मुख्य ध्येय हो। हालै मात्र बजारमा ल्याएको स्टील पानी ट्याङ्की बजारमा पाइने प्लाष्टिक ट्याङ्कीको तुलनामा केही महंगो भए पनि कम्तीमा पाँच गुणा बढी टिक्छ।

तपाईं सार्क चेम्बर अफ कमर्स र एशिया प्यासिफिक चेम्बर अफ कमर्स (क्यासी) को उपाध्यक्ष हुनुहुन्छ, त्यहाँ रहनुको प्रभाव के छ?

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा बसेर काम गरिसकेको छु। त्यो ठाउँ साथीहरूलाई छोडेर अन्तर्राष्टिय संघसंस्थामा उपस्थिति जनाउन खोजेको हुँ। यी दुवै संस्थामा रहँदाको फाइदा मैले वा पञ्चकन्या समूहले नभई देशले लिने हो, म त्यसैका लागि प्रयत्नरत छु। छिमेकी मुलुकबीचको क्षेत्रीय व्यापार विस्तार, आपसी सहयोग जस्ता मुद्दामा हामी केन्द्रित छौं। साथै व्यावसायिक मुद्दामा संस्थाका तर्फबाट सबै देशका सरकार र नीतिनिर्माताहरूलाई निरन्तर घच्घच्याइरहेका छौं।

तपाईं विदेशमा स्थापित हुँदै गर्दा उद्योग वाणिज्य महासंघमा पछिल्ला केही वर्षयता विवाद सुनिन्छ नि?

महासंघको चुनाव जित्न ५१ प्रतिशत मत आए पुग्छ तर ४९ प्रतिशत विरोधमा रहेको भुल्नुहुँदैन। सफल अध्यक्ष त्यही हो जसले विरोधीको समेत आवाज सुनेर उनीहरूको चित्त बुझाएर काम गर्न सक्छ। हो, पछिल्लो केही समययता महासंघमा धमिलोपन देखिएको छ। पूर्व अध्यक्षका हैसियतले हामी त्यसलाई सम्हाल्न खोजिरहेका छौं। तर, हाम्रो प्रयत्नले मात्र हुँदैन, कार्यकारी तहमा रहेकाले कुरो सुन्नुपर्छ। महासंघमा काम गर्ने शैली बदल्नै पर्छ।

comments powered by Disqus

रमझम