४-१० भदौ २०७४ | 20-26 August 2017

ट्रम्पको तगारो

Share:
  
- राजेश कोइराला
शरणार्थीप्रति अनुदार अमेरिकी राष्ट्रपति ट्रम्पको व्यवहारबाट नेपालमा रहेका भूटानी शरणार्थीले सास्ती खेप्नु परेको छ।

राजेश कोइराला
न्यू ह्याम्सर राज्यको हुक्सेटस्थित 'मेन्टेनिङ्ग इन्डिपेन्डेन्स ड–केयर' मा आफ्नो दैनिकीमा व्यस्त नेपालीभाषी भूटानी वृद्धवृद्धा।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी स्वीकार गर्ने संख्यामा आधा कटौतीको घोषणा गरेसँगै नेपालीभाषी भूटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम प्रभावित भएको छ। पुनर्स्थापित शरणार्थीको संख्या गत वर्षको तुलनामा आधाभन्दा कम भएको छ।

शरणार्थी स्वीकार आधाभन्दा कम गर्ने ट्रम्पको घोषणाको अर्थ वर्षमा करीब ५० हजारभन्दा बढी शरणार्थीलाई प्रवेश नदिने भन्ने हो। यो संख्या जुलाइ, २०१७ मै पुगिसकेको छ। त्यसकारण पनि अब कति भूटानी शरणार्थी अमेरिका पुनर्स्थापित हुने हुन् भन्न कठिन छ।

२०१७ फेब्रुअरीदेखि ३१ जुलाइसम्मको ट्रम्प कार्यकालको अवधिमा १ हजार ६८ भूटानी अमेरिका भित्रिएको देखिन्छ। जबकि गत वर्ष यही अवधिमा २ हजार ८६६ भूटानी शरणार्थी पुनर्स्थापित भएका थिए। भूटानीसहित यो ६ महीनामा अन्य देशका कुल १८ हजार ३१ जना शरणार्थीका रूपमा अमेरिकामा आए। तर, गत वर्षको यही मितिमा ४० हजार ९३१ शरणार्थी पुनर्स्थापित भएका थिए।

शरणार्थी पुनर्स्थापना प्रभावित गराउने ट्रम्पको अर्को निर्णय थियो– मुसलमानबहुल ७ राष्ट्र– इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकमाथिको यात्रा प्रतिबन्ध। अहिले यात्रा प्रतिबन्धको सूचीमा इराक छैन। तर, अमेरिकी सर्वोच्च अदालतले यात्रा प्रतिबन्ध अक्टोबर २०१७ सम्म आंशिक रूपमा बहाल राख्न मञ्जुरी दिएको छ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको बहालीपछि मुख्य रूपमा मुसलमान शरणार्थी प्रभावित छन्। सबै शरणार्थीमध्ये करीब आधा इसाई र ३८ प्रतिशत मुस्लिम छन्। मुस्लिम शरणार्थीको संख्या घटाएर इसाईको संख्या बढाउने ट्रम्पको योजनाले गत फेब्रुअरीमै नतिजा देखाएको थियो। फेब्रुअरीमा मुस्लिम ५० प्रतिशत थिए भने अहिले ३१ प्रतिशतको हाराहारी मात्र छन्। तर विश्वव्यापी रूपमा शरणार्थी संख्या भने मुसलमानकै बढी छ, त्यसमा पनि सिरियाका सबभन्दा धेरै छन्। त्यसपछि अफगानिस्तान र सोमालिया आउँछ।

सन् २००२ देखि २०१६ का बीचमा मुस्लिम शरणार्थीले इसाई शरणार्थीलाई तीन वर्ष मात्र उछिनेका थिएः २००५, २००६ र २०१६ मा। अमेरिकामा शरणार्थी पुनर्स्थापित हुने शीर्ष ६ देशमा तीन क्रमशः इराक, सोमालिया र सिरिया छन्, जसमध्ये बहुसंख्यक मुसलमान छन्।

यता आएर दृश्य बदलिएको छ। ट्रम्प कार्यकालको अप्रिलमा शीर्ष ६ देशमा इराक, कंगो, म्यानमार, यूक्रेन, भूटान र इरिटि्रया देखिन्छन्। संख्या कटौतीमा परे पनि भूटान शीर्ष ६ देशको सूचीमा भने छँदैछ। भाषाका आधारमा भने अरबीपछि नेपाली बोल्ने दोस्रोमा छन्। त्यसपछि क्रमशः सोमाली र करेन छन्।

अमेरिकी रणनीति बमोजिम नै शरणार्थीको अमेरिका प्रवेश घट्दो छ। सन् २०१६ मा ८५ हजार शरणार्थी सीमा तोकेको अमेरिकामा ८४ हजार ९९४ शरणार्थी पुनर्स्थापित भएका थिए। १ अक्टोबर २०१६ मा शुरू भएको चालू आर्थिक वर्षका ९ महीनामा भने केवल ५० हजार ४७९ जना मात्र पुनर्स्थापित भएका छन्। “५० हजार पुगेपछि त ठप्पै भएको छ”, अमेरिकास्थित इन्टरनेशनल इन्ष्टिच्यूट अफ न्यू इङ्गल्याण्डका शरणार्थी स्वास्थ्य संयोजक पुष्पमान जोशी भन्छन्।

(कोइराला, अमेरिकामा 'अक्षरिका' नेपाली न्यूजलेटर सम्पादन गर्छन्।)

comments powered by Disqus

रमझम