बर्माको सम्झना–१९

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

लामो बाँसमा अगाडि पछाडि बलिया र गतिला मानिस बीचमा आइमाई केटाकेटीलाई समात्न लाई पार लाउने गरेछन्। यसै गर्दा पनि कति रोजै मर्ने गरेका थिए। तैपनि मानिसको धुइरो तर्न लागि नै रहेछ। नदी पार तरेर उकालो ओरालो पार गर्दै हुकौं भेली पार गरेर नागा हिल पुगे। उहाँ १५/१५ दिन पानी पर्नाले दुनियाँलाई अनेक कष्ट सहन गर्न पर्‍यो। ठाउँ ठाउँमा अन्न–कष्ट अत्यन्त दुःखदायी हुन गएको थियो। यस बाटोमा गोराहरू पनि बहुतै थिए। तिनीहरू हवाइजहाजमा जान पाइएला भनेर मचीनामा थुप्रिएका थिए, जापान आइपुग्नाले भाग्नु पर्‍यो र पैदल बाटामा धेरै कष्ट यिनले पनि पाए। धेरथोर त सबै बाटामा थिए, विशेष यही बाटामा यिनीहरू परे। मानिसमध्येका बुढाबुढीका र केटाकेटीको अत्यन्त दुर्गति भो। हिंड्दा हिंड्दा बुढाबुढी पछि रही गए। छोराछोरी अगाडि गइगए। पखर्ौं के खाएर पर्खनु? अन्न पाएका ठाउँमा १५ दिन पर्खंदा पनि बुढाबुढी आएनन्। मर्ने मर्दैछन्, हिंड्ने हिंडिरहेका छन्। कसैका लोग्ने बेपत्ता! कसैका स्वास्नी, कतिका आमाबाबु मरे, छोराछोरी बेपत्ता। कतै रोइरहेका केटीलाई नानी आउ मसित हिंड भन्दा केटी भन्छिन्– आमैले मिठाई ल्याई दिन भनी गएकी छन्, अलिबेरमा आउँछिन्। माताको के हाल भो कता गई यादै छैन! कोही मानिस खोला पारी कराउँदै छन्, कोही खोलो वारी। यस्ता दुःख सही मचीनातिर मानिस मारगरेट स्टेशन पुगेर भारत आए।

अर्को बाटो पहाडतिरदेखि कछारमा निस्कने चीन हिल्सको थियो। यो बाटादेखि पनि केही मानिस भारत आए– एउटा सय डेढ सय मानिसको हूल जसमा नेपाली मात्र थिए। उनको हूल चीन हिल्सबाट निस्क्यो। यिनका संगत गरेर २/४ अरू जातका मानिस पनि थिए। प्रयम हिंडेका दिनमा जस्तै दुनियाँले आफ्ना माल असबाव फाली गाडी पाखा लाई रुँदै हिंडे यिनका पनि उही गत थियो। कोही बास बस्ने ठाउँमा चाँडै पुगे, कोही बेलुका पुगे, कोही रात परेपछि। वर्षा ऋतु आरम्भ भइसकेको थियो। बालकहरू रुन्छन् कराउँछन्। आकाशमा मेघ गर्जिरहेको छ। पानी पर्न आँटेको छ। कसै कसैले आगो बाली भात पकाई खाइसके। कोही पकाउँदैछन्। हे राम, हे प्रभू, हे ईश्वर, दया गर, पार लाइदेऊ! देखि सिवाय केही कसैको मुखबाट सुनिन्न। रात पर्‍यो। बालकहरू निद्रामा परे। ठूला मानिस भोलि बाटालाई खाजाको बन्दोबस्तमा लागे। कति ओछ्यानमा लडिरहेका छन्, निद्रा आउँदैन। निद्रा कहाँबाट आओस्? खाटमा सुख सुविस्तासित सुत्ने मानिस भुईंमा लडिरहेछ। आफ्ना घरमा नोकरचाकर राखेका र अरूले ल्याए पकाएका खाने र चाकरैमाथि राज गर्ने मानिसले सबै कुरो आफ्नै हातले गर्न परिरहेछ। मनलाई सन्तोष छैन! कहाँ जाने के गर्ने इत्यादि मनमा उथलपुथल छ, निद्रा कहाँबाट आओस्। कोही सुते, कसैले केही खाए, कसैले खाएनन्। कोही आधा रातमा पनि मानिस आउँदैछन्। यही हूलमा एउटी गडवाली आइमाईले पुत्र प्रसव गरिन्। सुत्केरी भएकीलाई अब के गर्ने, बिहानै मानिस उठेर काठपातको डोली बनाई बोकी हिंडे। अर्को दिन अर्को पहाडमा पुगे, उहाँ पनि क्रम उही रह्यो। भोलिको बाटो लामो छ, राति नै उठेर नहिंडी यी केटाकेटीलाई उकालोमा धेरै कष्ट पर्नेछ, उकालो बाटोमा घाम लाग्न गए झ्न् दुःख होला भनी धेरै भाइहरू सल्लाह गर्न लागे। आखिरमा चाँडै हिंड्न पर्छ भन्ने भो राति १२ बजे नै मानिस उठेर बाटो हिंड्ने तरखर गर्न लागे। भरिया, घोडा बोलाई मालमत्ता बाँधीवरि रातका बीचमा बत्ती बाली साना साना केटाकेटीलाई डोकामा हाली ३ बजे राती हिंडे। बास बसेका ठाउँदेखि डेढ २ कोस माथि डाँडामा पुग्दा आकाशमा मेघ गर्जन लाग्यो। बिजुलीको झ्लक चम्कन थाल्यो। अन्धाधुन्द बतास, अनि बतासको साथै पानी पर्न लाग्यो। बतासले छाता, टोपी, साना साना बालकहरूलाई घाम छेल्न ओढाएका तिरपाल उडाई जंगलभित्र पुर्‍याइदिए। मानिस जम्मै भिजेर निथ्रुक्कै भए। चिसो बतासले मुटु काम्न थाल्यो। बालेर ल्याएको लालटिन अघि नै निभ्यो। अँधेरोमा केही देखा पर्दैन, मुसलधार वर्षा भल बग्न लाग्यो। घोडामाथि लादी ल्याएका पेटीहरू घोडा तर्सी उफ्रँदा मालमत्ता खाडलमा पुग्न गो। बोकेका केटाकेटी जम्मै भिजी मर्न आँटेका छन्। जाडाले थर थर काम्दै मातापिताले आफ्ना आफ्ना बालकलाई छातीमा चेपेका छन्। दुनियाँमा जाडोले पानीले चुटेर मानिस मर्छन् भन्ने सुनिन्थ्यो, आज सबैले प्रत्यक्ष अनुभव गरे– ए यसरी मानिस मर्दा रहेछन्। फर्की जाउँ भने बाटो ओरालो छ, केही देखा पर्दैन, अगाडि जाउँ हालत उही, बसिरहुँ भने जाडोले दुर्गति गरिसक्यो। हे भगवान् के गरौं, कष्ट सहँदा सहँदा मन आत्तिइरहेछ। आइमाई केटाकेटी सबै रोइरहेका छन्।

पूर्व दिशामा साधारण उज्यालोको आभा देखा पर्न लाग्यो। वर्षा थोरै कमी भो। बाटोको रूप अलि अलि देखिन लाग्यो। कति मानिस जहाँबाट हिंडेका थिए उतै फर्की झ्रेर बास बसेका ठाउँमा पुगी आगो बाली लुगाफाटा सुकाई फेरि हिंडेको बाटोतिर लागे। जुन ठाउँमा पुग्दा जाडाले थर थर कामी मर्ने हाल भएर फर्कन परेको थियो ठीक त्यही ठाउँमा पुग्दा जाडाले मर्न आँटेका मानिसका देहबाट पसिनाको धार बहीरहेको छ। आकाशमा घाम चर्किरहेछ, गर्मीले गर्दा उकालोमा एक पाइलो सार्न कठिन परिरहेछ। प्रकृतिको यो अदभूत परिवर्तन चार पाँच घण्टैमा यस्ता कार्य नेपाली हूलले सहन गर्न पर्‍यो। आरामसित बाटो काटिएला भन्दा यो दुःख पर्नाले अर्को दिनदेखि राति हिंड्न हुन्न, जे भए पनि दिनमै हिंड्नुपर्छ― भन्ने भयो। यी हावा र बतास वर्षाको विशेष प्रभाव ठूला मानिसहरूभन्दा साना बालकहरूलाई पर्न गो। र बास बसेको ठाउँमै ३–४ जना केटाकेटीहरू बिरामी हुन गए। बाटाको कठिनता बढ्न लाग्यो। जति दिन बित्दै जान्छ उत्ति उत्ति मानिस बिरामी हुन लागे।

comments powered by Disqus

रमझम