*कृष्णनारायण सिंह थापा (शाही सेनाका अवकाश प्राप्त रथी) *
नेपालले आफ्नो सुरक्षा अवधारणा सीमावर्ती छिमेकी राष्ट्रहरूलाई हेरेर बनाउनुपर्छ र बनाएको पनि छ । भारत हाम्रो दक्षिणी छिमेकी र चीन उत्तरी । सुरक्षाका दृष्टिकोणले यी दुई देश नै हाम्रा सम्भाव्य शत्रु पनि हुन् । यही वास्तविकतालाई ध्यानमा राखेर हाम्रो सुरक्षा रणनीति बन्नुपर्दछ । हाम्रो अहिलेको अवस्था भनेको कसैले आक्रमण गरिहाले भने कसरी त्यसको मुकाविला गर्ने भन्ने हो । हाम्रो सैनिक क्षमता त्यस्तो मुकाविला गर्न हरेक दृष्टिकोणले सक्षम छ । प्रत्याक्रमणको रणनीति नेपालको एकीकरण सँगसँगैदेखि अपनाइएको छ । त्यसबेला पृथ्वीनारायण शाहले भन्नुभएको थियो, “जाई कटक नगर्नू, झ्किी कटक गर्नू ।” पृथ्वीनारायण शाहकै पालादेखि हाम्रो सुरक्षा अवधारणा भनेको आक्रामक नभएर प्रत्याक्रमण गर्ने मात्र हो, जुन अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
एक अर्ब जनसङ्ख्या भएको भारत र त्योभन्दा ठूलो चीनसँग नेपाल दुई सेकेण्ड पनि टिक्दैन भन्ने कुराहरू पनि गरिन्छन्, तर त्यो होइन । हाम्रो भौगोलिक बनावट नै सबैभन्दा बलियो ‘डिफेण्डर’ अर्थात् सुरक्षा कवच हो । हामीले चार वर्षसम्म भारतसँग लडाइँ नगरेको होइन, ब्रिटिस सेनाहरू चुरेभन्दा उत्तर बढ्न सकेनन् । हाम्रो भौगोलिक अवस्थितिका कारण उत्तरी र दक्षिणी दुबै देशले सोझ्ै आक्रमण गर्नसक्ने अवस्था छैन । भारतले नेपालमा हमला नगरेर स्वतन्त्र राष्ट्रकै रूपमा त्यसै राखेको होइन, जित्न नसकेर मात्र हो । भारतसँगको लडाइँ सुगौली सन्धिमा गएर अन्त्य भयो । भारतसँगको त्यसपछिको हाम्रो सुरक्षा रणनीति त्यही सन्धिबाट निर्देशित हुँदै आएको मान्न सकिन्छ । त्यस्तै हामीले भोटसँग पनि युद्ध गरी अन्त्यमा सम्झैता गरेका थियौँ ।
जुन परिवेशमा १८१५ मा सुगौली सन्धि भयो, त्यो ब्रिटिश भारतका लागि चीन खतरनाक भएको अवस्थामा गरिएको हो । त्यतिबेला नेपालको सीमा भएर चीनबाट भारतमा आक्रमण हुन्छ भन्ने मानसिकता थियो र त्यसको पहिलो झ्ड्का नेपाललाई लागोस् भन्ने चाहना ब्रिटिश भारतको रहेको थियो । तर सन् १९४७ मा भारत स्वतन्त्र भैसकेपछि पनि भारतीय नेताहरूको सोचाइ ब्रिटिशहरूको जस्तै रह्यो । १९५० को सन्धि त्यही मानसिकताबाट प्रेरित छ । त्यसबेलाका भारतीय वरिष्ठ नेताहरूले “डिफेन्स अफ नेपाल इज डिफेन्स अफ इण्डिया” (नेपालको सुरक्षा भारतको सुरक्षा हो) भन्ने खालका भनाइहरू व्यक्त गरेका हुन्, जसको काउण्टरमा चाउ एन लाईले पनि “डिफेन्स अफ नेपाल इज डिफेन्स अफ चाइना” भनेका थिए । दुई परस्परविरोधी देशहरूले नेपाललाई लिएर गरेका यस्ता खालका अभिव्यक्तिले हाम्रो तटस्थ महŒव प्रस्ट गरेको छ । यस परिप्रेक्ष्यमा नेपालको तटस्थ परराष्ट्र नीति नै सबैभन्दा ठूलो सुरक्षा रणनीति पनि हो ।
नेपालको सुरक्षा अवधारणाको अर्को पक्ष भनेको संयुक्त राष्ट्रसंघको सदस्यता हो । अन्तर्राष्ट्रिय जगतमा हामीले राम्रो ठाउँ पाएका छौँ र विश्वशान्तिका लागि प्रशस्त योगदान पनि दिइसकेका छौँ । बितेको तीन दशकदेखि नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सक्रिय सहभागी बनेर विश्वशान्तिका निम्ति सहयोग पु/याएको छ । यो पनि हाम्रो सुरक्षा अवधारणाप्रति विचार पु/याउने पक्ष हो ।
तर, अहिले सुरक्षा वा प्रतिरक्षाको त्यो परम्परागत अवधारणा फिक्का हुँदै गएको छ । भारत र चीन आफैँ नजिकिँदै छन् । उनीहरू दुवै विश्वका शक्तिशाली राष्ट्रका रूपमा विकसित हुँदैछन् । आर्थिक, सामाजिक र अरू कारणहरूले गर्दा चीन झ्ैँ भारत पनि राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य बन्न खोजिरहेको छ । दुवै राष्ट्रसँग आणविक क्षमता छ । यस्तो अवस्थामा यी दुई देशबीच लडाइँ नै भयो भने पनि स्थलगत युद्ध हुँदैन । साथै “न्यूक्लियर वार” मा कसैको पनि विजय हुँदैन, सबै पराजित मात्र हुन्छन् ।
हाम्रो सन्दर्भमा हेर्दा, अहिलेको परिस्थितिमा हाम्रो सुरक्षा समस्या भनेको दक्षिणतिरको खुला बोर्डर हो । यही अनियन्त्रित सिमानाका कारण यहाँ तस्करी सम्भव भएको छ, हत्या आतङ्क भएको छ । हाम्रा सांसदलाई राजधानीमै मार्ने काम भएको छ । आपराधिक क्रियाकलाप बढ्दैछन् । यो अवस्थामा भारतले बारम्बार चर्चामा ल्याउने “सेक्युरिटी अम्ब्रेला” पनि पुरानो कुरा भइसकेको छ । अब त दुई देश बीचको खुल्ला सिमाना कसरी व्यवस्थित गर्ने भन्ने कुरालाई संवेदनशील भएर हेर्नुपर्दछ ।
भारत नेपालमा हुने गतिविधिबाट उसको सुरक्षामा खतरा आइपरेको छ भन्ने मानसिकताबाट ग्रसित देखिन्छ । र, बेलाबेलामा भारतीय नेताहरूले आफ्नो देशको कमजोर सुरक्षा व्यवस्थाको दोष नेपाललाई लगाउने गरेका छन् । कूटनीतिक तवरबाट समय समयमा नेपालले भारतविरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाउने गरेको पनि पाइन्छ । तर यी सबै वास्तविकता बाहिरका कुरा हुन् । नेपालको सुरक्षा व्यवस्थामा कमजोरी भयो भने त त्यसको गम्भीर असर हामीलाई नै पर्छ, भारतलाई पर्ने कुरा होइन ।
भारतले हालै भएको हवाईजहाज अपहरणको घटनालाई लिएर नेपालको सुरक्षा व्यवस्था कमजोर छ भन्ने आरोप लगाउनु उचित छैन र यसैलाई बहाना बनाएर नेपालमा पुरानो सुरक्षा अवधारणा हाबी बनाउन खोज्नु पनि ठीक होइन । उनीहरूले आरोपित गरेको समस्या भनेको एयरपोर्टमा मात्र हो । यसमा पनि सुरक्षाको व्यापक अर्थ खोज्न जरुरी छैन । भारतमा होस् वा नेपालमा मानिसलाई किन्न सकिन्छ, छक्याउन सकिन्छ वा सम्झैता गर्न सकिन्छ । अहिले नै घटना भएको दिन सुरक्षामा कमजोरी थियो वा थिएन भने टुङ्गो पनि लागेको छैन, अध्ययन कमिटीले रिपोर्ट दिएपछि मात्र त्यसका बारेमा भन्न सकिन्छ । एयरपोर्टको सुरक्षाका बारेमा अरू केही गर्नु पर्दैन, इमान्दार मानिसहरू राखे भइहाल्छ ।
भारत र पाकिस्तानको आपसी द्वन्द्व पर्दा नेपाल मुछिन सक्छ । यो अत्यन्त स्वाभाविक कुरा हो । कारण, काठमाडौँमा पी.आई.ए. पनि आउँछ, इण्डियन एयरलाइन्स पनि आउँछ । यी दुवै देशले हाम्रो सरलता, सज्जनता र इमान्दारीको फाइदा उठाउन सक्छन् । भारत, पाकिस्तान जन्मदेखि नै दुश्मन हुन् । तर यी दुवै नेपालका मित्र देश हुन् । नेपालमा उनीहरूले खेल्ने कूटनीतिक प्रयासहरूमाथि हामीले नियन्त्रण गर्न मिल्दैन । कुन कुन दूतावासले के गर्छ भनेर चियो गर्ने काम नेपालको होइन, हाम्रो कानून विपरीत काम गर्दा उनीहरूमाथि कदम चलाउने मात्र हो ।
पाकिस्तानले भारत विरुद्ध र भारतले पाकिस्तान विरुद्ध गर्ने गतिविधिका लागि नेपाल बाहेकको अर्को राम्रो सजिलो विकल्प छैन, यो पनि वास्तविकता हो । जहाँसम्म काश्मिरी उग्रवादी र पाकिस्तानी उग्रवादीलाई शरण दिएको छ भन्ने भारतको आरोप छ, यदि त्यस्तो छ भने यसको समाधानको एउटै उपाय छ, खुला सिमानालाई नियन्त्रण गर्ने र नियमित गर्ने । पी.आई.ए.बाट काश्मिरी उग्रवादी काठमाडौँ आएर रक्सौल पुग्छ । त्यहाँबाट रेल चढेर दिल्ली पुग्छ र बम पड्काउँछ भने हामीले मात्र कसरी कन्ट्रोल गर्ने ? उसको निधारमा काश्मिरी भनेर लेखेको त हुँदैन । अनुहार पनि उस्तै हुन्छ, राम्रो हिन्दी बोल्छ ।
हाम्रा सानातिना कमजोरीलाई लिएर एयरपोर्टमा भारतीय सुरक्षाकर्मी राख्ने जस्ता कुरा उठ्नु नै ठीक होइन । एउटा स्वतन्त्र राष्ट्रले अर्को स्वतन्त्र राष्ट्रलाई यस्तो प्रस्ताव राख्नै मिल्दैन । हो, इण्डियन एयरलाइन्सको प्लेनभित्रै कमाण्डो राखेर जाँच गर्न, एक्सरे गर्न उसले पाउँछ, किनभने यो उसैको प्लेन हो तर नेपालको जमिनमा उनीहरू उत्रनु हुँदैन । यस्तो गर्नु भारतकै छविको निम्ति पनि राम्रो हुने कुरा हैन । हुनत भारतीय पक्षबाट यस्तो आशय पहिलोपटक मात्र प्रकट भएको होइन । २००८ सालमा पनि नेपालको रक्षा, परराष्ट्र मामला हामीले हेर्छौँ भनेर ड्राफ्ट नै पठाइएको हो । तर, त्यसबेला पनि नेपालले त्यो प्रस्ताव अस्वीकार गरिदियो । यस्ता प्रयासलाई नेपाललाई अन्तर्राष्ट्रिय रूपमा अपहेलना गर्ने प्रयत्नको रूपमा लिइनुपर्छ । इण्डियन एयरलाइन्स अपहरण भएकै दिनदेखि भारतले नेपालमा भारतीय एयरलाइन्सहरू नपठाउने निर्णय ग/यो । दुर्भाग्यवश एउटा दुर्घटना भयो, यसलाई यति ठूलो निहुँ बनाउन मिल्छ ? त्यसो हो भने किन थाई, सिङ्गापुर र अन्य अन्तर्राष्ट्रिय एयरवेजले उडान भरिरहेका छन् ? भारतले नेपालको एयरपोर्टलाई व्यवस्थित बनाउन सहयोग गर्न अत्याधुनिक स्क्रिनिङ मेसिन दिन सक्छ, काम गर्ने मानिसलाई तालिम दिन सक्छ, छिमेकीले गर्ने नै यस्तै हो । तर सुरक्षाको नाममा भारतीय सुरक्षाकर्मी नेपालमा आउने कुरा कल्पना गर्न पनि नमिल्ने स्तरको कुरा हो ।
भारत स्वयं आफ्नै देशभित्र काश्मिरी, उल्फा आदि आतङ्कवादीलाई सघाउने विभिन्न तत्वहरूप्रति सचेत रहँदारहँदै पनि खुला सिमानाका कारण तिनलाई पूर्णतः नियन्त्रण गर्न सक्ने अवस्थामा नेपाल छैन । हामीले भारतलाई बारम्बार सिमाना नियन्त्रण गर्न आग्रह गरेका छौँ । भारतबाट हजारौँ मानिस आउँछन्, नेपालबाट पनि जान्छन् । उनीहरूलाई कहाँबाट आएको, कहाँ जाने, कति दिन बस्ने, के कामका लागि आएका हुन् भन्ने सामान्य कुराको रेकर्ड त राख्नु प/यो ! त्यसको मतलब पासपोर्ट र भिसा लगाउने भनेको होइन । यति मात्र गर्दा भारतलाई फाइदा हुन्छ, हामीलाई पनि फाइदा हन्छ । यस्ता प्रस्ताव हामीले बारम्बार राख्तै आएका छौँ, तर अब भारतले पनि यसलाई गम्भीरतापूर्वक लिने बेला आइसकेको छ ।
अपहरणकै घटनालाई लिएर भन्ने हो भने पनि नेपालले यो घटनाबाट हामी धेरै दुःखी छौँ, अब सीमा नियन्त्रणको काम गरौँ भन्ने प्रस्ताव राख्नुपर्छ । हामीसँग इच्छा छ भने उपाय अवश्य निस्कन्छ । तर यसरी नै अनियन्त्रित सीमा राख्ने हो भने भोलिका दिनहरूमा यसले अझ् बढी समस्या निम्त्याउने कुरामा दुई मत छैन । र, त्यसको परिणाम दुवै देशले यसैगरी भोग्नुपर्ने हुन्छ ।
प्रचारको आशय र अनुत्तरित प्रश्नहरू
पुरुषोत्तम दाहाल
इण्डियन एयरलाइन्सको विमान अपहरण काण्ड रक्तपातविहीन भएर सकिए पनि यसले अनेक अनुत्तरित र सम्भावित प्रश्नहरू उठाएको छ । खासगरी विगत दश वर्ष यता ‘समस्या रहित सम्बन्ध’ भनी परिभाषित नेपाल र भारत बीचको सम्बन्धको कतै न कतै विश्वासमा त्रुटि रहेको तथ्यलाई सार्वजनिक गरेको छ ।
इण्डियन एयरलाइन्सको विमान अपहरण हुनुपूर्व नेपालबाट उडेको हो । र, यहीँबाट सुरक्षा जाँच पार गरेका पाँच जना व्यक्तिहरूले सो अपहरण गरेका हुन् । त्यस अर्थमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अत्यन्त जिम्मेदारीका साथ हाम्रो सुरक्षा व्यवस्थामा केही कमजोरी रहेको हुनसक्ने स्वीकार गरी दुःख समेत प्रकट गर्नुभयो । बस्तुतः एक वर्षअघि जे जस्तो सुरक्षा व्यवस्था थियो त्यो आज पनि छ । जाँच्ने र हेर्ने प्रक्रिया उस्तै छ । यत्ति हो, हिजोका दिनमा बसाइएको राज्ययन्त्रलाई ‘लाभ–हानि’ का प्रक्रियामा सामेल गर्ने प्रक्रिया भित्रभित्रै छ भन्ने तथ्यलाई छर्लङ्ग पारेको छ र आजको ‘निष्कलङ्क छवि’ बनाउन कृतसङ्कल्प नेतृत्वलाई ठाडो चुनौती थपिएको छ । जसलाई हामीले कमजोरीका रूपमा स्वीकार गर्नै पर्दछ ।
विमान अपहरणको घटनालाई निहुँ बनाएर भारतीय नेतृत्व र सञ्चारमाध्यमहरूले तीन वटा पक्षलाई स्थापित गर्ने र अर्को एक विषयलाई थोपर्ने प्रयास गरेको देखियो । ती पक्षहरू हुन् : १. नेपालमा आतङ्ककारी गतिविधि तीव्र छ । २. त्यो गतिविधि पाकिस्तानी जासूसी संस्था आई.एस.आई.को नेतृत्वमा चलेको र भारतविरुद्ध लक्षित रहेको छ । ३. नेपाल आतङ्ककारी गतिविधि रोक्न असमर्थ छ, किनकि नेपालको सुरक्षा व्यवस्था अत्यधिक कमजोर र लापर्वाह छ । त्यसैले उनीहरू अर्को विषय अर्थात् नेपालमा भारतीय सुरक्षा निकायहरूको औपचारिक, अनौपचारिक कुनै पनि रूपमा उपस्थिति अनिवार्य छ भन्ने थोपर्न चाहन्छन् । नेपाललाई तर्साएर, धम्क्याएर हुन्छ कि फकाएर हुन्छ, उनीहरू आफ्नो लक्ष्य कार्यान्वयन गर्न उत्सुक छन् । नेपाल भारतसँग कुनै पनि अर्थमा जोरी खोज्न सक्दैन र खोज्दैन भन्नेमा उनीहरू ढुक्क छन् ।
विमान अपहरण, त्यो पनि नेपाली भूमिबाट उडान यात्रा आरम्भ गरेपछि हुनु निश्चय पनि दुःखद पक्ष हो । तर, भनिए जस्तै गरी यसमा पाकिस्तानी आई.एस.आई. र ‘भारतीय विखण्डनवादी’ हरूको हात भएको प्रमाणित भयो भने पाकिस्तानी रणनीतिकार र भारतीय विखण्डनवादीहरूका रणनीतिकारहरूको सबभन्दा ठूलो कूटनीतिक एवं कार्यगत विफलता मान्नु पर्दछ । किनकि, भारतीय पक्षले यी दुवैको गतिविधिको सुविधाजनक केन्द्र नेपाल भएको भन्ने आरोप लगाइरहेको छ । त्यस्तो गतिविधिको ‘सेल्टर’ लाई उदाङ्ग पारेर खतरामा पुग्न कोही पनि चाहँदैन । ‘सेल्टर’ बन्द गर्ने निष्कर्षमा नपुगी त्यसो हुनु सम्भव छैन । यस अर्थमा आतङ्ककारी (आई.एस.आई. वा भारतीय विखण्डनवादी) जो भए पनि गलत रणनीति हो भन्ने बुझनुपर्ने हुन्छ । नेपाललाई अप्ठ्यारो पारेर उनीहरू यहाँ सुरक्षित हुनै सक्दैनन् । अपहरणका लागि नेपालको भूमिलाई नै प्रयोग गरेको हुनाले के भन्न सकिन्छ भने – भारतले भनिरहे जस्तो भारतविरोधी आतङ्ककारीहरूको सुविधाजनक केन्द्र नेपाल होइन र हुन सक्दैन ।
यस पटकको विमान अपहरणको ‘रहस्य’ यस शताब्दीको नसुल्झ्एिको मध्ये अर्को एक भएको छ । तर यही नसुल्झ्एिको रहस्यमा भारतीय प्रचार माध्यमहरूले नेपालको तेजोबध गर्ने प्रचुर प्रयत्न गरे । यद्यपि नेपालले आफ्नो अवस्था स्पष्ट गर्ने काम गरि नै रह्यो । तर, ०४५/४६ को नाकाबन्दीको समय जस्तै गरी नेपाल विरुद्ध व्यापक प्रचारको काम भयो । विगत दश वर्ष यता पहिलो पटक संचारमाध्यमहरू र भारतीय नेताहरूका अभिव्यक्तिहरू नेपाल विरुद्ध यति चिसा देखिए । यसबाट नेपालले र नेपालीहरूले अरु धेरै कुरा बुझनुपर्ने हुन्छ । ती बुझनुपर्ने कुराहरूको भविष्यमा व्याख्या हुँदै जाला । अहिले चाहिँ के हो भने नेपालमा बाह्य आतङ्ककारीहरू प्रचार गरिए झैँ यहाँ छैनन्, केही भएका भए भारत विरुद्ध कार्य गर्न तिनीहरूलाई नेपालले रोक्न सक्दछ, नेपाल कुनै पनि आतङ्कवादी गतिविधि विरुद्ध छ, नेपाल आफ्नो सुरक्षा व्यवस्था गर्न समर्थ छ र आवश्यकता अनुरुप सुधार गर्दै जानेछ, यस निम्ति अरु कुनै पनि राष्ट्रका सुरक्षा निकायको कुनै पनि खाले उपस्थिति स्वीकार गर्दैन भन्ने यथार्थलाई भने सबैले बुझने गरी राख्नु जरुरी छ ।