१–१५ माघ २०५६ | 15-29 Jan 2000

टी.भी. च्यानलहरूद्वारा ‘सोप अपेरा’ बनाइएको विमान अपहरण

Share:
  
- अजय दीक्षित

आईसी ८१४ अपहरणको घटना विना कुनै ठूलो दुर्घटना समाप्त भयो । क्षेत्रीय सुरक्षा तथा राजनीतिमा दूरगामी प्रभाव पार्ने यो घटनाले उठाएको सुरक्षाको विषयले क्षेत्रीय परिवेश निश्चय नै तात्नेछ । साथै यो घटनाले अघि ल्याएको महŒवपूर्ण विषय हो, निजी क्षेत्रका सञ्चारमाध्यमको भूमिका, जसबारे दक्षिण एसियाली नागरिक समाजले बस्तुपरक दृष्टिकोण अपनाउनु जरुरी छ । खासगरी राष्ट्रिय सीमा नाँघ्दै आकाशे बाटोबाट घर घरमा पुगेको विद्युतीय सञ्चारमाध्यमले हाम्रो समाजमा निकै ठूलो स्थान बनाइसकेकोे र यो माध्यममा व्यक्त हुने भ्रमोत्पादक विचारहरूले आम जनधारणालाई दिग्भ्रमित पार्नसक्ने हुँदा यिनको भूमिका र चरित्रको विश्लेषण आवश्यक हुन पुगेको हो ।

आफ्नो राजधानीबाट उडेको विमान अपहरणको घटनाबाट असमञ्जसमा परेका नेपालीहरू, विमान अपहरण हुनासाथ, नेपाल जाने सबै भारतीय विमान सेवा बन्द गर्ने भारतीय मन्त्रिमण्डलको निर्णयले अचम्ममा परे । तर त्योभन्दा पनि उदेकलाग्दो भूमिका त भारतमा निजी क्षेत्रमा संचालित टी.भी. च्यानलहरूको रह्यो । यी च्यानलमा भएका अन्तरक्रिया कार्यक्रममा भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए, जसमध्ये धेरैले नेपाली समाज आतङ्कवाद र तस्करीको केन्द्रविन्दु भएको निष्कर्ष अत्यन्तै सतही रूपमा निकाले र आफ्नो समाजको असुरक्षाबारे स्व–चिन्तन नगरी सजिलैसित असुरक्षाको जिम्मा छिमेकी देशले लिनुपर्ने तर्क ल्याए । पूरै नेपाली समाज निकम्मा छ सम्म पनि भनियो । सानो र केही दशकअघि मात्र आधुनिक संसारसित संसर्गमा आएको यस राष्ट्रका सामु सुशासनको ठूलो चुनौती रहेको तथ्य सबै नेपालीले मानेका छन् । यो सत्य हो कि नेपालीहरू यो स्थिति सुधार्न सक्षम हुन सकिरहेका छैनन् । तर सुशासनका चुनौती नेपालको मात्रै हैन, यस क्षेत्रका शक्तिशाली राष्ट्रहरूको पनि हो भन्ने वास्तविकता सञ्चारमाध्यमहरूले लुकाए ।

बी.बी.सी. र सी.एन.एन. जस्ता अन्तर्राष्ट्रिय टी.भी. च्यानलहरूले पनि यस घटनाबारे समाचार प्रसारण गरे । तर घटनाले मोड लिएपछि मात्रै त्यसबारे उनीहरू नयाँ विवरण प्रसारण गर्दथे । भारत सरकारको स्वामित्वमा रहेको सञ्चारमाध्यमले समेत त्यहाँका निजी सञ्चारमाध्यमभन्दा जिम्मेवार भएर घटनाको विश्लेषण गर्न खोजेको प्रतीत हुन्थ्यो । तर निजी क्षेत्रका भारतीय टी.भी. च्यानलहरूले भने अपहरणको घटनालाई सुनको फूल पार्ने अवसर बनाए । बचकाना, दम्भी र अतिरञ्जित गर्ने किसिमको थियो तिनीहरूको शैली । यस्तो लाग्थ्यो अन्तर्राष्ट्रिय कूटनीति र अन्तर सरकार सम्बन्धमा अत्यन्तै जटिल रूपमा देखिन पुगेको त्यो अपराधी घटनाको निराकरण गर्ने जिम्मा निजी च्यानलका ठेट्ना संचालकहरूलाई दिइएको छ । फलस्वरुप अपहरण जस्तो मानव त्रासदी, विज्ञापनको ब्रेकपछि फेरि आउने बाचा सहित देखाइने चौबीस घण्टे “सोप अपेरा” बन्न पुग्यो ।

मनगढन्त र सतही रूपमा बटुलिएको कुरालाई ठूल्ठूलो स्वरमा पटक पटक “हाम्रो सूत्रका अनुसार” भन्दै खबर बनाउने प्रयास गरिन्थ्यो । एक किसिमले अमेरिकी टी.भी च्यानलको हुबहु नक्कल गर्ने प्रयास, तर नितान्त असफल । अपहरित विमान उड्नुभन्दा पाँच घण्टा अगावै उडिसकेको विमानबाट अपहरणकारी सोझै अपहरित विमानभित्र पसे भन्ने खबर नक्कली चित्र सहित संप्रेषण गर्नु, अपुष्ट स्रोतको हवाला दिँदै नेपाली यात्रीलाई अपहरणकारी भन्नु (उनको नामको हिज्जे पनि गलत थियो), हाम्रा संवाददाता सुरक्षा जाँचै नगरी विना रोकटोक विमानमा पुगे भन्नु, हाते सामान लिएर हिँडेका यात्री सुरक्षा जाँचै नगरी अघि लागे भनि टी.भी. मा देखाउनु यसका नमूना थिए । अनि गलत सावित भइसकेपछि पनि भूल स्वीकार गर्नुको सट्टा अर्काको थाप्लोमा दोष थोपर्नु यी च्यानलको अनुत्तरदायी शैली थियो ।

निजी टी.भी. प्रसारणले दक्षिण एसियामा नागरिकहरू बीचको विश्वास खल्बल्याउने पत्रकारिता शुरु गरेको छ । भारतको टी.भी. ले अन्तर्वार्ता लिएको दर्शक खास छिमेकीलाई “आतङ्ककारी” भन्थ्यो भने पाकिस्तानी टी.भी.ले अन्तर्वार्ता लिएको व्यक्ति पनि छिमेकीलाई नै “आतङ्ककारी” भन्थ्यो । दक्षिण एसियाली समाजमा ‘अनियन्त्रित बजार’ कति कुरुप हुन सक्दोरहेछ भन्ने दृष्टान्तको रूपमा निजी क्षेत्रको टी.भी. देखाप¥यो । खबरको सत्यता र जवाफदेहीभन्दा आप्mनो च्यानलको रेटिङ्ग बढाउने उद्देश्यबाट प्रेरित भई हरेक दश मिनेटमा नितान्त नयाँ समाचार दिन खोज्ने धृष्टता सामुन्ने आयो । यो किन भयो, भविष्यमा यस्तो ‘सञ्चार दुर्घटना’ नदोहोरिन के गर्नु पर्दछ ? बौद्धिक समाज र जिम्मेवार पक्षबाट चिन्तन आवश्यक छ ।

यो घटनामा नेपालको प्रतिक्रिया केटाकेटी पाराको र अन्योल बढाउने किसिमको रह्यो । पर्दा पछाडि थुप्रै प्रभावकारी काम भयो भनी भारतका लागि नेपालका राजदूत डा. भेषबहादुर थापाले टी.भी. अन्तरक्रियामा बताउनुभयो । तर नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री, गृह मन्त्री, नागरिक उड्डयन मन्त्री र प्रहरी अधिकारीका सार्वजनिक भनाइ एक आपसमा विरोधाभाषपूर्ण रहे । समन्वयात्मक ढङ्गले सरकारी भनाइ राख्ने प्रवक्ता थिएनन्, पूरै घटनाक्रममा यो व्यवस्था नै गरिएन ।

नेपालमा विद्युतीय सञ्चारको जिम्मा लिएको नेपाल टी.भी. त यो प्रकरणमा रणभुल्लमा परेको देखियो । नेपाल र नेपालीको बारेमा दिनहुँ गलत समाचार र विश्लेषण संप्रेषण भइरहँदा पनि, अपहरणसित सम्बन्धित विषयहरूमा ने.टी.भी. ले तुरुन्तै सार्वजनिक छलफल गराउन र बुद्धिजीवीहरूको धारणा प्रस्तुत गर्न आवश्यक ठानेन, प्रयासै गरेन । पूर्वनिर्धारित कार्यक्रम तल माथि पार्न हुँदै नहुने जस्तो गरी मुख्य खबरपछिको महŒवपूर्ण समयमा फिल्मी नाचगानको कार्यक्रम चल्यो । ने.टी.भी. संचालन गर्ने र त्यहाँ काम गर्नेहरूले आपूmलाई त्यस संस्थाको जागिरे मात्रै नठानी, बदलिँदो क्षेत्रीय परिवेशमा महŒवपूर्ण भूमिका भएको समूहको रूपमा लिन सक्नुपथ्र्याे, सकेनन् ।

घटना अन्त्य भइसकेपछि ने.टी.भी. को छलफलमा परराष्ट्र मन्त्री डा. रामशरण महतले नेपालको सञ्चार क्षमता प्रभावकारी नभएको स्वीकार्नुभयो । तर यो समस्या प्रविधिको नभई संचालन परिवेशको भएको स्पष्ट हुँदाहुँदै पनि, अब स्याटलाइटबाट प्रसारण शुरु गर्नुपर्ने समाधान राख्नुभयो । प्रविधि त किन्न पाइन्छ, यो समस्या होइन । प्रविधिमा चलखेल गर्ने क्षमता भएका थुप्रै नेपाली विशेषज्ञहरू पनि भैसके । अगाडिको चुनौती हो जवाफदेही र नैतिकताले बाँधेको वस्तुपरक, निष्पक्ष, विश्वासिलो र अतिरञ्जित प्रचार गर्ने चरित्र नभएको सार्वजनिक विद्युतीय प्रसारण व्यवस्थाको विकास । विदेशी च्यानलले चिच्यायो भन्दैमा हामी पनि त्यसरी नै चिच्याउनु जरुरी छैन र त्यो बाटोमा जाने संभावनालाई बन्द गर्नु पर्दछ । दक्षिण एसियाका दर्शकले आफ्नो रिमोटले नेपाली कार्यक्रम छान्ने विद्युतीय सञ्चारमाध्यम हामीलाई चाहिएको छ । आशा गरौँ, सञ्चार क्षेत्रमा विषयगत रूपमा लागेकाहरूले यस विषयमाथि गहन सम्वाद शुरु गरी चाँडै उपयुक्त बाटो पहिल्याउलान् र तदनुरुप काम होला अनि विनाकारण देशको दुर्नाम हुने भविष्यको सम्भावनाको पनि निराकरण होला ।

comments powered by Disqus

रमझम