१–१५ माघ २०५६ | 15-29 Jan 2000

एक नवदम्पतीको डायरीऽ बन्धक हुँदाका आठ दिन

Share:
  
१७८ जना यात्रु लिएर ९ पुसको साँझ्तिर काठमाडौँबाट दिल्ली जान उडेको इण्डियन एयरलाइन्सको विमान अपहरण भएपछि आठ दिनसम्म विमानभित्रै बन्धक बनाइएका यात्रुहरूले कस्तो अवस्था भोग्नुप/यो ? उनीहरूको हालत र मनस्थिति कस्तो थियो ? प्रस्तुत छ, सो फ्लाइटका एकजना नवविवाहित नेपाली यात्रु सञ्जय धितालले शिब गाउँले र मनीष गौतमको सहयोगमा तयार पारेको आठ दिनको ‘अपहरण डायरी’ ।

९ पुस शुक्रबार

म बिहे गर्न एक महिनाको छुट्टी लिएर पेशावरबाट नेपाल आएको थिएँ र मङ्सिर १५ गते बिहे भएपछि केही दिन घुमघाम गरेर श्रीमतीसहित पुस नौ गते पेशावर जाँदै थिए । पेशावरको टिकट त्यो दिनको लागि पीआईएमा कन्फर्म भएन र मैले सधैँ जाने गरेको कराँची रुट छाडेर इण्डियन एयरलाइन्सबाट दिल्ली हुँदै त्यहाँ जानलाई टिकट लिएँ । मेरो फ्लाइट १.५० मा थियो र म ठीक समयमा नै एयरपोर्ट पुगेको थिएँ तर दुर्भाग्यवश ४.३० मा मात्र हवाईजहाज उड्यो ।

५ बजेतिर हामीहरूलाई एयर होस्टेजहरूले खाने कुरा बाँड्न थाले । मैले खान शुरु मात्रै के गरेको थिएँ, एक्कासि ‘हेड डाउन, डोन्ट मूभ’ भनेर कराएको जस्तो आवाज आयो । के भयो भनेर यसो पछाडि फर्केर हेर्दा वायाँतर्फको प्यासेजमा मास्क लगाएका तीन जना मान्छेहरू देखेँ । तीमध्ये दुई जनाको हातमा छोटो पिस्तोल थियो । त्यो नक्कली हो कि सक्कली मलाई थाहा भएन । त्यति साह्रो उज्यालो पनि थिएन । अर्काको हातमा भने ग्रिनेड जस्तो लाग्ने लाम्चो वस्तु देखिन्थ्यो । ती तीन जना ‘हे, यु डोन्ट मूभ, होशियार होने की कोशिश मत करो, गोली मार दिया जाएगा’ भनेर कराउँदै थिए । अनि सबैले विस्तारै त्यसै गरे । मैले पनि खान छोेडेँ र घुँडामा टाउको घोप्ट्याएर आँखा चिम्लेर चूपचापसँग बसेँ । एकैछिनमा एउटाले घोषणा ग/यो– “प्लेन हाईज्याक हो चुका है, कोई होशियारी दिखाने की कोशिश ना करे, सब हेड डाउन करें, अगर किसी ने होशियारी दिखाने की कोशिश की तो गोली मार दिया जाएगा ।” हाईज्याकरले त्यसो भनेको एक–दुई मिनेटपछि ककपिटबाट क्याप्टेनले पनि “वी ह्याभ वीन हाईज्याक्ड । प्लीज ट्राइ टु बी प्यासेन्ट । ओबे द इन्स्ट्रक्शन्स फ्रम दोज गाइज” भन्यो । त्यसपछि विमान अपहरण भयो भन्ने निश्चित भइहाल्यो । त्यतिखेरसम्म हामी घुँडामा टाउको राखेर निहुरिरहेकै थियौँ ।

एकैछिनमा सबैले पट्टी बाँध्ने भनेर हाईज्याकरहरू कराउन थाले । फटाफट एकजना एयर होस्टेज आइपुगिन् र आत्तिँदै सीटको सेतो कभर निकालेर मेरो आँखामा पट्टी बाँध्न थालिन् । यसरी बाँध्दा त्यो कपडा सानो भयो, बाँध्न पुगेन । त्यो देखेर हाईज्याकरले ‘जल्दी करो, जल्दी करो, दो इकठ्ठा करके बाँध लो’ भन्यो । उनले त्यसै गरिन् । पट्टी बाँधेपछि म टाउको अलिक उठाए पनि शिर निहुराएरै बसेँ । त्यसपछि हाईज्याकरहरू यताउति गरेको, कसैलाई पाट्टपुट्ट गरेको र डोन्ट मूभ भनेको आवाज मात्रै सुनिन्थ्यो, केही देखिँदैनथ्यो ।

त्यत्तिकैमा प्लेन एक ठाउँमा रोकियो । तर कहाँ रोकियो, थाहा भएन । अब कमाण्डो एक्सन होला भन्ने मलाई लाग्यो । तर अवतरण गरेको २०–२५ मिनेटमा प्लेन फेरि उड्यो । त्यसपछि मलाई यिनीहरूले कहाँ लगेका हुन् भनेर एकदमै डर लाग्यो । सँगै बसेकी मेरी श्रीमती पनि सुँक्कसुँक्क गरिराखेकी थिइन् । हेर्ने त कुरै भएन । के गर्ने ? मैले छामछुम गरेर श्रीमतीको देब्रे हात समातेँ र थुम्थुम्याएर सान्त्वना दिएँ । त्यस्तै फेरि एकपल्ट प्लेन रोक्ने र उड्ने भयो । मलाई चाहिँ उड्दाखेरि निकै डर लाग्थ्यो ।

१० पुस शनिबार

चौथो स्टपमा पुगेपछि चाहिँ जहाज उड्दै उडेन । तर हामी कुन ठाउँमा छौँ, केही थाहा छैन । जहाज रोकिएपछि मैले आँखाको पट्टी यसो अलिकति खोलेर घडी हेरेँ, मेरो घडीमा नेपाली टाइम थियो, विहानको ९ बजेको थियो ।

अनि एकैछिनपछि एकजना मान्छे आएर मलाई घचघच्यायो । उसैले पट्टी तानेर खोलिदियो । यसो हेरेको, त्यो हाईज्याकर नै रहेछ । उसले हामी दुवैलाई उठ्न लगायो र ‘तिमीहरू पछाडि गएर बस’ भन्यो । अनि हामीलाई अलिक पछाडिको सीटमा लगेर राखियो । त्यहाँ अरू जोडीहरू पनि थिए । बसिसकेपछि फेरि आँखामा पट्टी बाँध्न र टाउको निहु/याएर बस्न लगायो । यसरी धेरैबेर बसिसकेपछि दिउँसो दुई बजेतिर प्लाष्टिकको गिलासमा थोरै पानी र चारवटा बिस्कुट दियो । अनि पट्टी खोलेर खाओ, ट्वाइलेट जाने भए एक एक गरेर हात उठाएर जानू भन्यो ।

बिस्कुट टोक्ने बेला मेरा आँखामा आँसु आयो । जस्तो पायो त्यस्तो खान मन पर्दैनथ्यो । खाने कुरामा मलाई मेरी आमाले मात्र चित्त बुझउन सक्नुहुन्थ्यो । नेपालमा हुँदा मलाई जे मन पर्छ त्यही खुवाउनुहुन्थ्यो । आमालाई सम्झ्ेपछि, बिस्कुट टोकेर पानी घटुक्क निल्दा असह्य भयो । मेरी श्रीमतीले पनि मलाई पुलुक्क हेरिन्; मैले यताउति हेरेर आँसु पुछेँ । श्रीमतीले मुश्किलले दुई पिस बिस्कुट खाइन् । यसैबीच एक एक जनाले हात उठाउँथे र ट्वाइलेट जान्थे । पहिलो पटक ट्वाइलेट जान त्यही बेला दिइएको हो ।

त्यसपछि लोग्ने मान्छे जतिलाई फेरि आँखामा पट्टी बाँध भन्यो । फेरि आँखामा पट्टी बाँधियो । तर टाउको घुँडामा राख्न परेन । यताउति हलचल गर्ने कुरै थिएन । वातावरण एकदम सुनसान थियो । कसैले खासखुस कुरा गर्न खोज्दा, जीउ हल्लाउँदा हाईज्याकरहरू “हे, यु डोन्ट मूभ, होसियारी दिखाने की कोशिश मत करो” भनेर हप्काउँथे र ‘पिन ड्रप साइलेन्स’ को आदेश दिन्थे ।

राति १० बजेतिर फेरि खानेकुरा ल्याए । कडा खालको भात र गेडागुडीको तर्कारी । थोरै पानी पनि दिएको थियो । खाना खाइसकेपछि पट्टी बाँध्न परेन तर आँखा चिम्लिने आदेश दिए । राति साह्रै जाडो भयो । पछि थाहा पाइयो, बाहिर माइनस आठ डिग्री टेम्पे्रचर रहेछ । ब्ल्याङ्केट पनि थिएन । मलाई पटक्कै निद्रा लागेन । घरमा के भइराखेको होला, हाईज्याक भएको थाहा भो भएन भन्ने खुल्दुली भयो । फेरि मेरी नयाँ श्रीमती, विचरा यसले बेकार दुःख पाई जस्तो लाग्थ्यो । बैचेनी भइराख्थ्यो । जाडोले हाम्रा हात खुट्टा पूरै चिसा भइसकेका थिए, केही तातो हुन्छ कि भनेर हामी एक–आपसमा खुट्टा जोडेर बस्न खोज्यौँ तर त्यसले पनि केही पत्तो लागेन । फेरि फेरि प्लेन कहाँ लाने हो भनेर रातभरि डर लागिरह्यो ।

११ पुस आइतबार

विहान ८ बजेतिर मलाई एकदमै तिर्खा लाग्यो । अगाडि एउटा हाईज्याकर उभिइराखेको थियो । अरू हाईज्याकरहरू उसलाई डाक्टर भनेर बोलाउँथे । ऊ अलि नरम मिजासको मानिस थियो । मैले आफूसँग भएको प्लाष्टिकको गिलास देखाएर ऊसँग पानी मागेँ । उनले पानी त छैन तर यही पी भनेर सोडा पानी दियो । मैले अलिकति पिएँ र बाँकी श्रीमतीलाई पिउन दिएँ । त्यसपछि आँखा चिम्लेर बसेँ । एकछिनपछि बाहिर केही गडबडी भएछ कि के हो, फेरि पट्टी बाँधेर बस भने । त्यसबेला आइमाईहरूले पनि पट्टी बाँध्नुप/यो । फेरि एकछिनपछि पट्टी खोल्न लगाएर खाना दिए । त्यो बेला मेरो घडीमा दिउँसोको एक बजेको थियो । खानामा त्यही अफगानी रोटी (नान) थियो जोसँग म पहिलेदेखि नै परिचित थिएँ । त्यसबाट मैले थाहा पाएँ कि हामी अफगानिस्तानमा रहेछौँ । फेरि त्यो ‘लञ्च बक्स’मा जुन चम्चा थियो, त्यसमा पनि काबुल एअरलाइन्सको नाम थियो । अनि मैले खुसुक्क श्रीमतीलाई भनेँ, “हामी अफगानिस्तानमा छौँ ।” त्यसपछि बियर सर्भ गरे, तर म बियर खान्नथेँ । राति ११ बजेतिर फेरि दालभात खान दिए र त्यसबेला एउटा सुन्तला पनि दिए । सुन्तला छोडाएर खाँदा मन हरर्र भयो, स्वर्ग पुग्या जस्तो लाग्यो ।

१२ पुस सोमबार

बिहान ९ बजेतिर पहिलेको जस्तै बिस्कुट दिए । साथमा अलिकति बदाम र ड्राईफूट पनि दिए । बाह्र बजेतिर शुरुमा पानी र त्यसपछि बियर खान दिए । साढे एक बजे खाना आयो । त्यो दिन खानापछि फेरि पानी दिए । हिजो उनीहरूले थर्काएका थिए, “हामीले सबै अन्तर्राष्ट्रिय जगतलाई अपील ग/यौँ वार्ता चल्दैछ । तर इण्डियन गभर्नमेन्टले तिमीहरूको लागि केही पहल गरेन ।” त्यसपछि क्याप्टेनले पनि भनेको थियो, “हामीलाई बचाउन कोही आएन, इण्डियन गभर्नमेन्टले पनि केही गरेन । मैले इन्टरन्याशनल डिप्लोम्याटहरूलाई सीएनएन, बीबीसीमार्फत केही गरिदिनुस् भनेको छु । हेरौँ के हुन्छ ?” त्यसपछि अपहरणकर्ताहरूले भनेका थिए– “सरकारलाई तिमीहरू चाहिँदैन भनेपछि तिमीहरू किन फर्किने ? हामी सबै सँगै मरौँ !” उनीहरू बीचबीचमा संयुक्त राष्ट्रसंघ र अमेरिकालाई गाली गर्थे । अनि भन्थे– चेचेन्यामा त्यत्रो मुसलमान मरेका छन्, तर वास्ता छैन ।

तर आज बिहान नास्ता खाइसकेपछि १२ बजेतिर उनीहरूले अनाउन्स गरे, “अब इस्लामावादबाट युएन डिप्ल्योम्याट कुरा गर्न आउँदैछन् ।” त्यही कुरा क्याप्टेनले पनि भन्यो र बतायो, “अस्पुष्ट जानकारी अनुसार भारतीय डेलिगेट्सहरू पनि आज साँझ्सम्ममा यहाँ आइपुग्दैछन् ।” त्यसपछि हामीहरूलाई अलिकति रिलिफ भयो र अपहरणकारीहरू पनि अलिक नरम भए । आँखा चिम्लेर बस्नुपर्ने बाध्यता भएन ।सानो स्वरमा अलि अलि कुराकानी हुन थाल्यो । बेलुका फेरि एउटा अपहरणकारीले भन्यो, “भारतीय डेलिगेट्स आउँदैछन् रे ! उनीहरू त्यहाँबाट हिँडिसके, यहाँ आउनासाथ हाम्रो वार्ता शुरु हुन्छ ।” यो सुनेर हामी पनि खुशी भयौँ ।

तर मलाई कस्तो लाग्थ्यो भने उनीहरू त आउँछन्, तर यिनीहरूको माग पक्कै ठूलो छ, त्यो उनीहरूले पूरा गर्न सक्तैनन् । अपहरणकारीहरूले भनेका थिए, “हामीहरू कश्मिरी हौँ, तिमीहरूसँग हाम्रो दुश्मनी छैन, हाम्रो केही माग भारत सरकारसँग छन्, वाध्यतावश तिमीहरूलाई यो स्थितिमा ल्याएका हौँ, हाम्रा माग पूरा भयो भने सहीसलामत तिमीहरूलाई घरमा पु/याउँछौँ, तर भएन भने हामी पनि मर्छौँ, तिमीहरूलाई पनि सिध्याइदिन्छौँ ।” त्यही भएर मलाई लाग्यो कि यिनीहरूको माग पक्कै ठूलो होला, यो माग भारतीय डेलिगेशनले पूरा गर्दैन, यो सब औपचारिकता मात्र हो । वार्ता भङ्ग भयो भन्छन् र मारिदिन्छन् जस्तो लागिराख्यो ।

यसै दिन एउटा हाईज्याकरले हाम्रा गजेन्द्र ताम्राकारलाई गब्बर सिंह घोषित ग/यो र ‘गब्बरसिंह का डाइलग बोल’ भन्यो । गजेन्द्रले गब्बर सिंहको डायलग बोलेर खूब हँसाए । उनी बोल्नासाथ हामी सबै हास्थ्यौँ । खुब रमाइलो वातावरण हुन्थ्यो कुनै बेला त ।

१३ पुस मङ्गलबार

अपहरणकारीहरूमध्ये एउटा बर्गर भन्ने थियो । त्यसले भन्यो, “वार्ता एकदम प्रोग्रेसमा गइरा’छ ।” हामीलाई खुशी लाग्यो । त्यसपछि बर्गर आफैँले जोकिङ गर्न थाल्यो । तिमीहरू किन यस्तो अँध्यारो मुख लाएर बसेको, राम्रो भएर बस, अब घर जान पाइहालिन्छ भन्यो । कसैलाई जोक आउँछ भने भन, शायरी भन भन्न थाल्यो र आफैँले पनि हाते माइक लिएर शायरी सुनाउन थाल्यो । अनि त वातावरण नै बेग्लै भयो । अब भरेसम्ममा जान पाइन्छ भन्ने भयो ।

मेरो पासपोर्ट र पैसा भएको हातेब्याग विजिनेस क्लासमा लगेर राखिएको थियो । पासपोर्ट लिउँ लिउँ जस्तो लाग्यो र अलि सजिलो वातावरण भएकोले मैले बर्गरलाई ‘मेरो पासपोर्ट त्यहाँ छ, सुरक्षित छ कि छैन ?’ भनेर सोधेँ । उसले ‘सुरक्षित छ, तैंले चाहन्छस् भने लिएर आइज’ भन्यो । म लिन गएँ र ब्याग खोजेँ । पासपोर्ट ब्यागबाट निकालेँ, त्यही क्रममा मसँग भएको पाकिस्तानी दुई हजार रुपैयाँ निकाल्दै थिएँ अर्को अपकरणकारीले देखेर सोध्यो, “तँ पाकिस्तानी होस् ?” मैले भनेँ, “म पेशावरमा अफगानी शरणार्थीहरूका लागि काम गर्छु । हाम्रो क्लिनिक छ ।” उसले मलाई ‘ल ठीक छ’ भनेर पठायो तर अलिक अगाडि आएपछि शङ्कर भन्नेले फेरि बोलायो र ‘पासपोर्ट देखा’ भन्यो । पासपोर्ट देखाएपछि ‘तँ नेपाली ?’ भनेर सोध्यो । मैले आफ्नो सबै कुरा बताएँ । मलाई केही डर लागेन किनकि मैले मुश्लिमहरूलाई नै सर्भ गरेर बसिरा’छु, उनीहरूको सफ्ट कर्नर ममा हुन्छ भन्ने थियो ।

१४ पुस बुधबार

बिहान ११ बजे नास्तामा ड्राईफ्रुट र बिस्कुटहरू दियो । लेडिजहरूलाई दूध खान दिएको थियो । तर यस दिन ट्वाइलेट गन्हाएर खपिनसक्नुभएको थियो । प्लेनमा भएको स्प्रे एयर होस्टेजहरूले छर्किन्थे र एकछिनलाई सजिलो हुन्थ्यो । तर एकछिनपछि उस्तै । झ्न् पछाडितिर (ट्वाइलेट नजिकै) बस्नेहरूलाई त एकदमै समस्या थियो । त्यही सम्झ्एिर ट्वाइलेट जान पनि मन लाग्दैनथ्यो । म, आफू र श्रीमतीलाई पखाला लाग्ला कि भनेर डराएको थिएँ । किनकि, यस्तो भएमा कहाँ जाने भन्ने समस्या थियो ।

हामीले नास्ता गरिसकेपछि प्लेनको लाइट झयाप्प निभ्यो, शायद ब्याट्री डाउन भएर होला । अन्धकार भयो । झयाल ढोका बन्द छन् । त्यसपछि हामीलाई सफोकेशन (उकुसमुकुस) हुन थाल्यो । यात्रीहरूमध्ये एक पुरुष र एक महिला डाक्टर पनि थिए । उनीहरूले बिरामी यात्रुहरूको औषधी उपचार गरिरा’थे । तर यसबेला त्यही महिला डाक्टर आफैँ बेहोश भइन् । पुरुष डाक्टरले उसको उपचार गर्न थाल्यो । त्यसपछि सबै आत्तिन थाले । तर अपहरणकारीहरू त्यसबेला कडा नभएकोले केही सजिलो भएको थियो । समय समयमा आएर “वार्ता राम्रो भइराखेको छ” भन्थे ।

त्यही बीचमा एकजना तालिवान आएर ट्वाइलेट सफा ग/यो र केही राहत भयो । बर्गर हामीसँग घुलमिल भएको थियो । लेडिजहरूले उसलाई भैया भैया भनेर बोलाउँथे । उनीहरूले उसैलाई ‘भैया सफोकेशन होरहा है, खिडकी और दरबाजे खोल दो’ भने । बर्गरले अगाडिको ढोका खोल्दियो र विन्डस्क्रिन पनि खोल्न दियो । त्यसपछि यसो बाहिर हेर्दा कन्दहार एयरपोर्ट लेखिएको देखियो । हामी प्रतीक्षारत हुन थाल्यौँ । रातिसम्म वार्ताको टुङ्गो भएन । अपहरणकारीले ‘हाम्रो वार्ता भरेसम्म सकिन्छ, तिमीहरू भोलि घर जान पाउँछौँ’ भनेका थिए । त्यसदिन खानेहरूलाई चिकेन चिल्ली पनि खान दिए । प्लेन चढेपछि त्यसै दिन राति म पहिलोपटक एकछिन निदाएँ ।

१५ पुस बिहिबार

आज प्लेन भित्रको वातावरणमा बडो नाटकीय उतारचढाव आयो । बिहान साढे आठ बजेतिर बर्गर हातेमाइक लिएर आयो र सबैलाई जाग्ने आदेश दिँदै भन्यो, “तिमीहरूका लागि ज्यादै नराम्रो खबर छ । हिजो राति १२ बजेपछि अचानक वार्ता विफल भयो । भारत सरकारले हाम्रो कुनै माग स्वीकार गरेन । हामी आशावादी थियौँ, तर अब कुनै उपाय छैन । अब एउटा मात्रै काम बाँकी छ । हामीले पहिले पनि भनेका थियौँ, हाम्रो माग पूरा भएन भने तिमीहरूलाई पनि मार्छौँ र हामी पनि मर्छौँ । तिमीहरूलाई तिमीहरूकै सरकारले वास्ता गरेन, उसलाई तिमीहरू चाहिँदा रहेनछौ । अब तिमीहरू मरेर पनि के फरक पर्छ र ! अब हामी एक एक गरेर शुरु गर्छौँ । आई एम भेरी सिरियस । म जति नरम छु, त्यति नै कडा छु । यो मेरो बाध्यता हो । एकै छिनमा हामी तिमीहरूलाई गोली ठोक्न थाल्छौँ । अब एक जना पनि जीवित रहन पाउनेवाला छैन । कसैले रुने कराउने कोशिश नगर्नू । तिमीहरू अल्लाह, भगवानको नाउँ लेओ ।”

ऊ एकदमै सिरियस थियो, उसको मुख एकदमै मलिन थियो । उसको अनुहार हेर्दा मलाई लाग्यो– ऊ हामीलाई मार्न चाहँदैनथ्यो तर बाध्यतावश त्यसो गर्न लागेको थियो । अब खत्तम भइयो भन्ने भयो । मेरो आँखाबाट आँसु निस्कियो । मर्नै परेपछि सौभाग्यको चिह्न लगाएरै मरौँ भन्ने लागेर होला मेरी श्रीमतीले हातेब्यागबाट टीका निकालेर मलाई लगाइदिन भनिन् । मेरो मुटु भरिएर आयो । मैले टीका लगाइदिएँ । मलाई श्रीमतीको चिन्ता लाग्न थाल्यो । म एक्लै भएको भए खासै फरक पर्दैनथ्यो । विचरीलाई दुःख पाउन लेख्या रहेछ । घरको याद आयो । त्यसपछि ससुरालीतिर पनि सम्झ्एिँ ।

एक–डेढ घण्टापछि बर्गरले सोध्यो, “कोई खाना खाएगा ?” तर मार्ने घोषणा भइसकेपछि को बोल्थ्यो ? फेरि भन्यो, “जिसको खाना खाना हो हात उठाओ, यह तुम्हारी जिन्दगी का अन्तिम खाना है ।” कसैले हात उठाएन । सबै चूपचाप थिए । फेरि “किसीको नहीं चाहिए ?” भनेर सोध्यो । त्यसबेला हाम्रा गजेन्द्र ताम्राकारले हात उठाए र खाना मागे । उनलाई खाना ल्याइदियो र उनले मजाले खाना खाए । त्यतिका प्यासेन्जरमध्ये खाना खाने उनी एक्लै थिए । सबैमा एकै किसिमको डर थियो, कुन बेला मार्न शुरु गर्ने हो । तर एयर होस्टेजहरू बोल्ड रहेछन्, खासखुस भन्थे, “कुछ नहीँ होगा ।”

दिउँसो साढे बाह्र बजेतिर भोला आएर बर्गरलाई ‘चीफले बोलाएको छ’ भन्यो र बर्गर दौडेर गयो । हामीलाई लाग्यो, अब सूट गर्ने आदेश दियो होला । तर, १५ मिनेट जति पछि बर्गर उज्यालो अनुहार लगाएर ‘अस्सलाम आलेकुम दोस्त’ भन्दै आयो । उसले हामीलाई भन्यो, “आप लोग देख रहे होंगे, मेरे चेहरे में खुशी है । तालिवानके सुप्रिम लिडर के हम्बल रिक्वेष्ट (विनम्र प्रार्थना) में भारतीय सरकार वार्ता कर रही है । उम्मीद करते हैं, वार्ता सफल होगी । भगवानको पुकारो, मै भी अल्लाहको पुकारुँगा ।”

फेरि डेढ घण्टा पछि वर्गरले नै आएर भन्यो, “बहुत बहुत मुबारक, हमारा ८० परसेन्ट माग पूरा हो चुका है ।” उसले भन्यो – हामीले तिमीहरूलाई अपहरण गरेर ४० जना हाम्रा साथीहरूलाई जेलबाट छुटाउन माग गरेका थियौँ । तीमध्ये हाम्रा तीन जना साथीलाई मात्रै छोडिदिन्छु भनेर भारत सरकारले भन्दा पनि हामीले तिमीहरूको मुख हेरेर हुन्छ भनेका छौँ । अब हाम्रा साथीहरू यहाँ आइपुग्नासाथ तिमीहरूलाई छोडिदिन्छौँ । त्यसपछि एकछिन अगाडिसम्मको डर खुशीमा बदलियो । हामीहरू औधी खुशी भयौँ । अपहरणकारीहरू पनि समय समयमा हाम्रा साथीहरू दिल्ली आइपुगे, त्यहाँबाट उडिसके भन्दै खबर गर्दथे ।

१६ पुस शुक्रबार

विहान सबैजनाको अनुहार उज्यालो थियो । अब छुट्ने भइयो भनेर सबै खुशी थिए । यस दिन, तालिवान सरकारले तिमीहरूलाई छुटाउन सघाएको सट्टा उसलाई उपहार दिनुपर्छ, के दिने, सल्लाह गरौँ भनेर बर्गरले भन्यो । अनि, इण्डियन एयरलाइन्सको त्यही हवाईजहाजको मोडेल लिएर त्यसमा यो प्लेन यो दिन अपहरण भयो, यति यात्री थिए, यहाँ अवतरण ग/यो, यो दिनमा रिलिज भयो आदि सबै विवरण लेखेर उपहार दिने भन्ने निर्णय भयो । उपहारका लागि सबै यात्रीले पैसा दिए र ७१ हजार भा.रु. उठ्यो । तर प्लेनको त्यस्तो मोडेल अफगानिस्तानमा नपाइने भएकोले दिल्लीबाट मगाउने कुरा भयो । त्यसका लागि १८/२० हजार खर्च लाग्ने हुँदा बाँकी पैसा अफगानिस्तानको कुनै अस्पताललाई औषधि किनेर दिने भन्ने निर्णय गरियो । म त्यहीँ काम गर्ने हुनाले के छ यहाँका अस्पतालको हाल भनेर सोधे र मैले कन्दहारमा रहेका अपाङ्गहरूको अस्पताललाई औषधि किनेर दिऊँ भनेँ । सबैले यसको जिम्मा मलाई दिए । एरोप्लेनको मोडल बनाएर तालिवानलाई पठाउने जिम्मा दुई जना भारतीयले लिएका थिए । तर छुटेर भारत आइपुगेपछि चाहिँ उनीहरूले ‘हामीले नभ्याउने भयौँ, यो पैसा पनि तैँ राख्” भने । मसँग अहिले ७१ हजार भारतीय रुपैयाँ छ । त्यसको औषधि किनेर तालिवान सरकारलाई बुझइदिन्छु ।

अपराह्न ४ बजेतिर अपहरणकारीहरूका तीनजना साथीहरू छुटेर आइपुगे । अनि बर्गरले हामीसँग भन्यो, “मेरा दिदीबहिनी, दाजुभाइ ! हामीलाई माफ गर । तिमीहरूको कुनै दोष छैन । तिमीहरूलाई व्यक्तिगत दुःख दिने हाम्रो आशय थिएन । हाम्रो बाध्यताले यसो गर्नुप/यो । तिमीहरूको परिवारलाई कति चिन्ता भयो होला । मलाई माफ गर, हाम्रो चीफले पनि तिमीहरूसँग माफी मागेको छ ।

हामी तिमीहरूबाट एकचोटि हामीलाई ‘माफ गर्दियौँ’ भन्ने सुन्न चाहन्छौँ ।” त्यसपछि सबै यात्रुहरूले ‘माफ कर दिया’ भने । अनि बर्गर पनि ‘ह्याभ अ नाइस ट्रिप, बाई बाई’ भन्दै प्लेनबाट फुत्त निस्कियो । यसपछि ऊ कता लाग्यो, केही थाहा भएन । एकछिनपछि भारतीय डेलिगेट्सका मान्छेहरू आए अनि हामी दिल्लीतर्फ लाग्यौँ ।

comments powered by Disqus

रमझम