२७ साउन २०७० | 4 August 2013

सारङ्गीको साइज

Share:
  
गन्धर्व समुदायमै पनि सारङ्गी बोकेर गाउँदै हिंड्ने युवकहरू भेटिन छाडेको अवस्थामा भानु–९ तनहुँका सोवित राना मगर (४०) सारङ्गी उस्ताद बनेका छन् ।

ऋषिराम कट्टेल

नेपाली समाजमा गन्धर्व र सारङ्गीको सांस्कृतिक महत्व छ । एक समयमा गन्धर्वहरू संगीत, संस्कृति र संचारका माध्यम थिए । तर, आज त्यो स्थिति छैन । गन्धर्व समुदायमै पनि सारङ्गी बोकेर गाउँदै हिंड्ने युवक भेटिन छाडेको छ । यो अवस्थामा भानु–९ तनहुँका सोवित राना मगर (४०) सारङ्गी उस्ताद बनेका छन् । उनी सारङ्गी बजाउन मात्रै होइन, बनाउन पनि खप्पिस छन् । त्यसो त उनी डेढ दर्जनभन्दा बढी लोकबाजा राम्रोसँग बजाउँछन् र बनाउँछन् पनि ।

सारङ्गी बोकेर सिंगापुर, बेलायत, हङकङ जस्ता मुलुक घुमिसकेका सोवितले काठमाडौं ठमेलको अशोक गल्लीमा वाद्य यन्त्रहरूको पसल खोलेका छन् । पसलमा आफैंले बनाएका सारङ्गी, टुङ्गुना, खैंजडी, विनायो, यलम्बर, एकतारे, जिम्बे, माहुरी, बाँसुरी, मुरली लगायत नेपाली बाजा छन् ।

यो पसल पनि पैसाको लागि नभई नेपाली बाजा प्रवद्र्धनका लागि भएको सोवित बताउँछन् । “सारङ्गी नेपालको महत्वपूर्ण बाजा भए पनि अझै साइजको टुंगो छैन”, सोवित भन्छन्, “उपयुक्त साइज निर्धारण गरेर विश्व संगीतमा यसलाई स्थापित गर्ने मेरो उद्देश्य हो ।”

सोवित कुनै बेला ‘हिमालयन फिलिङ्स’मा थिए । यो ब्याण्डले होटल याक एण्ड यतीको कल्चरल/म्युजिकल प्रोग्राम चलाउँथ्यो, जसका कम्पोजर/एरेन्जर प्रवीण गुरुङ्ग थिए । तर, तत्कालीन युवराज पारस शाहले हाँकेको गाडी दुर्घटनामा प्रवीणको निधन भएपछि ब्याण्ड तितरवितर भयो ।

युवराज श्रेष्ठ

comments powered by Disqus

रमझम