२७ साउन २०७० | 4 August 2013

आनीसँग आँखा जुधाउँदा...

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
१२ वर्ष कमलरी जीवन विताएकी उर्मिला चौधरीले आठ वर्षपछि गत साता आनी छोइङ डोल्मासँग गरेको प्रत्यक्ष भेट बाहिर देखिए जस्तो सामान्य थिएन।

डम्बरकृष्ण श्रेष्ठ

२१ चैत २०६२

काठमाडौंको हायात रिजेन्सी होटलमा फूलको आँखामा फूलै संसार... गाइरहेकी आनीलाई हलको एउटा कुनाबाट हेर्दा/सुन्दा उर्मिला १४ वर्षकी थिइन्। उनले त्यो मौका आफ्नी मालिक्नीको कारको ढोका खोल्न, सामान बोक्न र उनका आफन्तहरूको बालबच्चा हेरचाह गर्न होटल आउँदा पाएकी थिइन्।

१६ साउन २०७०

ललितपुरको हिमालय होटलमा आयोजित कार्यक्रममा भने २२ वर्षीया उर्मिला मञ्चमा आनीसँगै थिइन्, वक्ताको रुपमा। युनिसेफले आयोजना गरेको बालबालिका विरुद्ध हुने हिंसा अन्त्यको अभियान घोषणा कार्यक्रममा युनिसेफकी नेपाल प्रतिनिधि हाना सिङ्गरसँगै बसेर दोस्रो पटक आनीलाई प्रत्यक्ष सुनेकी उर्मिलाले भाषणको क्रममा भनिन्, “आठ वर्ष अगाडि आनीलाई देख्दा मलाई उहाँ जस्तै उदाहरणीय बन्ने रहर लागेको थियो।”

दाङकी उर्मिलाले १२ वर्ष कमलरी बनेर राजधानीको शाह र राणा परिवारमा विताइन्। त्यो समय उनका लागि पिंजडामा कुँजिए जस्तो थियो। १ माघ २०६३ मा मुक्त भएकी उनी वितेको सात वर्षमा पूरै फेरिएकी छन्। मुक्त भएपछि आफ्नै गाउँ गढवा फर्केर कक्षा ५ मा नाम लेखाइन् र अरु कमलरीहरूलाई मुक्त गर्ने सामाजिक अभियानमा लागिन्। यसरी कमलरी उद्धार अभियानकी सिपाही बनेकी उनी आफ्नो अनुभव सुनाउन सन् २०१० मा जर्मनी, २०११ मा नर्वे र २०१२ मा अमेरिका पुगिन्। मुक्त कमलरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला एक महीना अघि सिंहदरबार केन्द्रित आन्दोलनमा प्रहरीको लाठीचार्जमा परेर ४८ घण्टा बेहोश भएकी थिइन्।

पीडादायी बाल्यकाल

शाह परिवारले उर्मिलाको अभिभावकको ऋण तिरिदिएर उनलाई काठमाडौं ल्याएका थिए। त्यसवेला उनले मालिकका दुई स्कूले बच्चालाई दैनिक सामाखुसीको कपुरधाराबाट लैनचौरको स्कूल बस आउने ठाउँसम्म पुर्‍याउने–ल्याउनेदेखि सानी भएकीले टुलमाथि चढेर चिया पकाउने र भाँडा माझ्नेसम्मको काम गर्नुपर्थ्यो। घर सरसफाईदेखि गाडी धुनेसम्मको काम पनि उनैलाई लगाइन्थ्यो। उनी राति १२ देखि बिहान ४ बजेसम्म मात्र सुत्न पाउँथिन्। मालिक्नीहरू बाहिर जाँदा उर्मिलालाई बाहिरबाट ताला लगाएर घरमै थुनिन्थ्यो।

१२ वर्षमा जम्मा तीन पटक दाङ जान पाइन्, त्यो पनि घरमा एक दिन मात्र बस्ने गरी। यसबीचमा उनको हातमा एक पैसा परेन। त्यो अवधिमा उनलाई रमाइलो लागेको दिन भनेको मालिक्नीले कृष्णजन्माष्टमीमा दिनभर सत्संग र २०६२ चैतमा हायात होटलमा लगेको दिन नै हो। त्यो दिन उनले आनीको गीत कण्ठ पारेर त्यसलाई जीवनको मन्त्र बनाइन्।

दुई वर्षअघि 'फूलको आँखामा' किताब प्रकाशित भएको थाहा पाउनासाथ काठमाडौंबाट मगाएर पढिन् अनि आनीको जीवनकथाबाट अरु प्रभावित भइन्। “मैले हायातको रंगमञ्चमा गाइरहेको देखेकी आनीले त बाल्यकालमा मैले जस्तै चरम पीडा र घरेलु हिंसा पो खेपेकी रहिछन्”, उर्मिला भन्छिन्, “त्यसपछि आनीप्रति अझ्ा सम्मान बढ्यो। आज सँगै एउटै मञ्चमा वक्ताको रुपमा उभिंदा र आँखामा आँखा जुधाएर बोल्न पाउँदा जीवनकै ठूलो खुशी पाएको महसूस भएको छ।”

फरक परिवेशमा काम गरिरहेका यी दुई सिपाहीको सफलताले नेपाली समाजलाई सुन्दर बनाउनेछ।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम