२७ साउन २०७० | 4 August 2013

‘स्तरहीन काम गर्दिनँ’

Share:
  

आनन्द कार्की, गायक

साङ्गीतिक यात्राको २८ वर्षमा १४ औं अल्बम गए जाला ज्यान निकालेका आनन्द कार्कीसँगको छोटो कुराकानीः

अरुले त अल्बम निकाल्नै छोडिसके नि ?

अहिले सङ्गीतको बजार राम्रो छैन । एउटा राम्रो अल्बम निकाल्दा रु.५–६ लाख खर्च हुन्छ, तर त्यसको ‘रिटर्न’ हुँदैन । यस्तो समयमा श्रोताले नबिर्सिउन् भनेर मात्र अल्बम निकालेको हुँ ।

****क्यासेट–सीडी बिक्री घटे पनि डिजिटल बजार त बढेको छ हैन ?

हो, तर त्यसको ‘रिटर्न’ हुँदैन । सीआरबीटी भन्छन्, टेलिकम र म्युजिक कम्पनीहरुले आफैं खाइदिन्छन् । गीत हिट भए पनि गाउनेले केही पाउँदैन ।

विदेशमा धेरै बस्नुभयो नि ?

माओवादी आएपछि देशको माहोल डामाडोल हुँदा संगीत क्षेत्र पनि अछुतो रहेन । त्यसकारण, कार्यक्रमको लागि सिंगापुर गएको, एक वर्ष उतै बसें । त्यसपछि पनि नेपालको हालत नसुध्रेपछि ६–६ महीना गरेर अढाइ वर्ष उतै बसें । अहिले यतै छु ।

पछिल्ला वर्षमा चर्चामा हुनुहुन्न हैन ?

अहिले कामभन्दा बढी चर्चा चाहनेहरुको बोलवाला छ । म चाहिं चूपचाप काम गरिरहेको छु ।

पाश्र्वगायनमा पनि तपाईंको उपस्थिति देखिन्न नि ?

पहिला राम्रा निर्माता/निर्देशक फलानो हिरोको लागि फलानो गायकको स्वर मिल्छ भनेर गाउन बोलाउँथे । अहिलेका निर्माताहरु सस्तो गायक खोज्छन् र पाएसम्म आफैं गाउँछन् । अर्को कुरा, भल्गर टाइपका गीत गाउन अस्वीकार गरें । यत्रो वर्ष राम्रो काम गरेको छु भने अब किन स्तरहीन काम गरुँ ?

comments powered by Disqus

रमझम