२७ साउन २०७० | 4 August 2013

केश काट्ने केटी

Share:
  
- बच्चु विक, धनगढी

तस्वीरहरुः बच्चु विक

उमेर ढल्किएका बाबुआमाबाट दुई दाजु र तीन दिदी पछि जन्मिएकी रमा कठरिया (१९) को बाल्यकाल दुःखैमा बित्यो । किशोरकालमा गरेको संघर्षले अहिले उनलाई ७५ वर्षीया ललितादेवी र ७१ वर्षका बुबा लौटन कठरियाको भरपर्दो सहारा बनाएको छ । अनि अभिभावकलाई समेत भरथेग गर्ने रमाको इलम भएको छ– कपाल काट्ने सीप ।

“कपाल काट्ने तालीममा म मात्र केटी थिएँ”, कैलालीको मनुवा–२ कञ्चनपुरकी रमा भन्छिन्, “तर, मैले जसरी पनि तालीम सकेर पेशा बनाउने सोच बनाएकीले सफल भएँ ।” रमाका दाजु र दिदीहरूको बिहे भएर सबैले घर छाडिसके ।

घर–आँगन बाहेक जग्गा–जमीन नभएका वृद्ध आमाबुबाले रमालाई ६ कक्षाभन्दा माथि पढाउन सकेनन् । बाबुआमालाई पाल्न स्कूल छाडेर केही काम नगरी नहुने अवस्था आएपछि कृषि मजदूरी गर्दागर्दै कपाल काट्ने तालीम लिएको उनी बताउँछिन् ।

“ब्यूटिसिएनको तालीम लिएँ, गाउँघरमा कामै लागेन”, रमा भन्छिन्, “त्यसपछि सिलाइ–कटाइको तालीम लिएँ, तर पसल राख्ने पैसा भएन । आखिरमा छोटो समयको कपाल काट्ने तालीम काम लाग्यो ।”

दुई वर्षअघि टीकापुर नगरपालिका–८ विजयनगरमा रमाले झुण्ड्याएको ‘शैलेश हेयर कटिङ्ग सेन्टर एण्ड ब्यूटीपार्लर’को बोर्डमुनि अहिले कपाल काट्नेहरू पालो कुरेर बसेका हुन्छन् । बाध्यता र अनुभवले सिपालु भइसकेकी उनी कपाल काटेको रु.४० र सेभिङ्ग गरेको रु.२५ लिन्छिन् ।

उनको शैलून बिहान ८ देखि साँझ ७ बजेसम्म खुल्छ । अब त शैलूनलाई नियमित ग्राहकले मात्र पनि पुग्ने भइसकेको छ । उनको नामै ‘केश काट्ने केटी’ भएको छ । अब आफ्नो जीवनभरिको पेशा नै यही हुने उनले बताइन् ।

बच्चु विक, कञ्चनपुर

comments powered by Disqus

रमझम