१-७ असोज २०७४ | 17-23 September 2017

आकर्षक आलमारी

Share:
  

ग्लासिक स्टुडियो
पहिले काठैकाठ प्रयोग गरिएका दराजमा नै कपडा लगायतका सामान राखिन्थ्यो। त्यसपछि स्टिलका हलुका दराज रोजाइमा पर्न थाले। लाग्थ्यो, अब काठका दिन गए। तर, होइन रहेछ। अहिले फेरि काठका आकर्षक आलमारीको माग बढ्न थालेको छ।

नेपाल फर्निचर एण्ड फर्निसिङ एसोसिएसनका उपाध्यक्ष माधव पौडेलका अनुसार अहिले उपभोक्ता कपडा, ब्यागलगायतका सामग्री मात्र नभएर शो पिस समेत राखेर सजाउन सकिने काठका आलमारी विशेष मान्न थालेका छन्। किचन क्याबिनेट र डाइनिङ तथा लिभिङ रुममा 'डिस्प्ले युनिट' बनाउन थालिएको छ।

इन्टेरियर डिजाइनर अमिता चित्रकार बेडरुम तथा ड्रेसिङ रुममा समेत आलमारी अत्यावश्यक ठान्न थालिएको बताउँछिन्। आलमारीमा एउटै प्रयोगमा आउने फरक फरक कपडा एउटा खण्डमा र अर्को खण्डमा अर्का खाले कपडा राख्नु राम्रो मानिन्छ। “व्यस्त जीवनशैलीमा कपडा एकै ठाउँमा राख्दा भेट्न गाह्रो हुने भएकाले पनि आलमारीको आवश्यकता बढेको हो” उनी भन्छिन्, “यसले व्यस्त हुनेहरुलाई सजिलो बनाएको छ।” उनका अनुसार आधुनिक फर्निचर, आलमारीले घरको शोभा समेत बढाउँछ।

आलमारी बहुउपयोगी मानिन्छ। कपडा मात्र नभएर; ब्याग, जुत्ता, चप्पल, सजावटका सामग्री, पुस्तक, किताब, फाइललगायत अन्य वस्तु पनि राख्न मिल्ने आलमारी बनाउन सकिन्छ। पछिल्लो समय भित्तामा 'अट्याच' गरिएका आलमारी उपभोक्ताले रुचाउन थालेका छन्।

'वाल अट्याच' आलमारी

कविन्द्र ताम्राकार
फर्निसिङ एसोसिएसनका पौडेल चीनमा बनेका फिनिसिङ राम्रो देखिने आलमारी चल्तीमा भए पनि टिकाउका हिसाबले भने नेपालमै बनेका आलमारी रोज्न सुझाउँछन्। “इच्छा अनुसारको आकार र डिजाइनमा यहीं पनि आकर्षक आलमारी बनाउन सकिन्छ”, उनी भन्छन्।

ललितपुरको हिमालयन उड कार्भिङ एण्ड इन्टेरियरका सञ्चालक कविन्द्र ताम्राकार घरमा उपलब्ध ठाउँ अनुसार, जुनसुकै स्थानमा पनि आलमारी बनाएर राख्न सकिने बताउँछन्। कतिपयले शो रुमबाट तयारी आलमारी लैजान्छन् भने केहीले ठाउँ अनुसार आलमारी तयार गर्न लगाउँछन्। 'वाल अट्याच' आलमारीले कोठाको खाली ठाउँको उपयोग गर्न मद्दत गर्छ। कोठाको जुनसुकै खाली ठाउँ, नमिलेका कुनामा पनि यस्ता आलमारी डिजाइन गर्न सकिन्छ।

आलमारी आकर्षक बनाउन बाहिरी तथा भित्री भागमा विभिन्न बुट्टा कुँद्न सकिन्छ। रङरोगन गर्न पनि मिल्छ। आलमारीमा केही भाग खुला राखेर लाइट राख्दा घरभित्रको विन्यासमा थप निखार ल्याउँछ। ऐना राखेर ड्रेसिङ रुमको आवश्यकता पनि पूरा गर्न सकिन्छ। घर बनाउनुअघि नै योजना बनाएर आलमारी बनाउने ठाउँ छुट्याउनु बुद्धिमानी हुने ताम्राकार बताउँछन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम