१-७ असोज २०७४ | 17-23 September 2017

भारतीय भिसामा लुम्बिनी

Share:
  
- बसन्त महर्जन
तेस्रो मुलुकका नागरिकहरूले भारतीय भिसामा लुम्बिनी भ्रमण गरिरहनु नेपालको लागि आपत्तिाको विषय हो।

अनलाइन तस्वीर
गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने तेस्रो मुलुकका नागरिकको पासपोर्टमा नेपालको भिसा लागेको हुनुपर्ने हो, तर भारतीय टूर अपरेटरहरूले आफ्नै देशको भिसामा विदेशीहरूलाई लुम्बिनीको भ्रमण गराउँदै आएका छन्। यो स्थितिले एकातिर लुम्बिनी पनि अन्य बौद्ध स्थलजस्तै भारतीय भूमिमा पर्छ भन्ने भ्रम सिर्जना गरिरहेको छ भने अर्कातिर नेपालको स्वाभिमानमा आँच पुर्‍याइरहेको छ।

लुम्बिनी आउने भारतीय नागरिकलाई भिसा चाहिंदैन। भारतका बौद्ध स्थलहरूमा जान नेपालीलाई पनि भिसा चाहिन्न, तर तेस्रो देशका नागरिकहरूलाई त नेपाल र भारत कहाँ घुम्ने हो, त्यही देशको भिसा अनिवार्य हुन्छ। लुम्बिनीको हकमा चाहिं यो लागू भइरहेको छैन। यो कमजोरी नेपाल राज्यको लापरबाहीको परिणाम हो भन्नेमा कुनै शंका छैन, जसले बुद्ध जन्मभूमिबारे भ्रामक प्रचारलाई सघाएको छ।

'प्याकेज प्रोग्राम' मा भारतीय भूमि भएर आउने तेस्रो देशका पर्यटकहरूको लुम्बिनी बसाइ पनि केही घण्टाको मात्र हुन्छ। तिनीहरूबाट नेपाललाई आर्थिक लाभ पनि नभएको गुनासो तथ्यमा आधारित छ। तेस्रो मुलुकका पर्यटकहरूलाई सीमामा तैनाथ नेपाली अधिकृतहरूलाई प्रभावमा पारेर लुम्बिनी छिराउने गरिएको टिप्पणी आफैंमा अत्यन्त गम्भीर र संवेदनशील छ। यसले हाम्रो सीमा सुरक्षा र अध्यागमन विभाग भारतीय टूर अपरेटरसँग अवैध लेनदेनमा फसेको छ भन्ने पनि देखाउँछ।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) को जन्मस्थल सम्बन्धमा सन् १८९६ यता भारतको कुनै पनि आधिकारिक निकायले कहिल्यै भारतको नाम जोडेको छैन। बुद्धको जन्मस्थलको सवालमा 'भारतले दाबी गर्‍यो' वा 'दुष्प्रचार गर्‍यो' भनी बेलाबेला नेपालीहरू उत्तेजित हुने अचम्म लाग्दो यथार्थ पनि छँदैछ। त्यस्तो बेला यो नितान्त पुरातत्वको विषय भएको कपिलवस्तुको सन्दर्भ लुम्बिनीसँग जोड्दा वा जोडिंदा भ्रम सिर्जना भएको भनी सम्बन्धित व्यक्ति वा निकायले खुलस्त पार्ने चासो लिएको पनि पाइन्न। यस्तो भ्रम वा समस्या पुनरावृत्ति भइराख्नुको पछाडि तेस्रो देशका पर्यटकहरूले लुम्बिनी पुगिसक्दा पनि नेपाली भूमिमा टेकेको थाहा नपाउनु प्रमुख कारण रहेको अनुमान गर्न सकिन्छ।

भारतीय टूर अपरेटरहरूले नेपाल, भारत दुवैतिरका बौद्ध स्थलहरू समेटेर विविध प्याकेज बेचिरहेका छन्। गौतम बुद्धको जीवनसँग सम्बन्धित प्रसिद्ध स्थलहरू बोधगया, सारनाथ, कुशीनगर, नालन्दा, राजगीर, गृढकूट, वैशाली, श्रावस्ती आदि स्थलको प्याकेज बनाउँदा जन्मस्थल लुम्बिनी छुट्ने कुरै भएन। तर, यो नेपालमा पर्छ भन्ने जनाउ दिन आवश्यक ठान्दैनन्, उनीहरू। सबै कागजपत्र टूर अपरेटरले नै मिलाउने हुँदा पर्यटकहरू राजनीतिक भूगोलबारे हेक्का राख्दैनन्। बौद्ध तीर्थयात्रीहरूका लागि बौद्ध स्थलहरू प्रधान र ती ठाउँ कुन देशमा पर्छन् भन्ने कुरा गौण हुनु अस्वाभाविक होइन पनि। यो प्रकरणलाई नेपालकै कमजोरी मानेर सच्याउनुपर्छ।

लुम्बिनीको पश्चिममा प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुलगायतका स्थलहरू पर्छन् भने पूर्वमा कोलिय राज्यको राजधानी देवदहलगायतका भूभागहरू। पुरातात्विक उत्खनन्हरूले यी स्थलहरू सम्बन्धी बौद्ध वाङ्मयको उल्लेखलाई प्रमाणित गरेकै छन्। बुद्धसँग सम्बन्धित स्थलहरू अहिले संसारभरका बौद्ध र गैर–बौद्धका लागि पनि आकर्षणको विषय बनेको छ। नेपाली भूमिमा रहेका बौद्ध स्थलहरूलाई 'टुरिज्म प्रडक्ट' का रूपमा प्रस्तुत गर्न सकिएको छैन। उता भारतले निकै अघि नै यसमा ध्यान दिएर गरेको लगानीबाट नाफा आर्जन गरिरहेको छ।

नेपालले लुम्बिनीको विकासमा लगानी गर्नुको उद्देश्य बौद्ध स्थलमा सबैलाई पहुँच दिनु वा समाजसेवा मात्र नभई यसबाट आर्थिक लाभ गर्ने पनि हो। यसका लागि गर्नुपर्ने बजारीकरणको काममा भने चुकिरहेको छ। भारतबाट आउने पर्यटकहरूलाई पनि विधिवत् सीमा प्रवेश गराउने, उनीहरूको लुम्बिनी बसाइ लम्बाउने र त्यसबाट आर्थिक लाभ लिने काम हामीले गर्नुपर्छ। त्यसका लागि आफैंले मार्केटिङ गर्ने र आफ्नै प्याकेज बनाएर अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्नुपर्छ।

भारतको पर्यटन उद्योग ठूलो र अनुभवी पनि छ। नेपालले त्यसलाई उपयोग गर्दा बढी आर्थिक लाभ लिन सकिन्छ। त्यसका लागि भारतीय प्याकेजमा लुम्बिनीबाहेकका बौद्ध स्थलहरू पनि समावेश गराएर नेपालमा पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। त्यो गर्न नसके पनि भारत भएर लुम्बिनी आउने तेस्रो देशका बौद्ध पर्यटकहरूलाई नियमानुसार भिसा दस्तुर लगाएर राजस्व बढाउन सकिन्छ। लुम्बिनीमा पाइला टेक्ने पर्यटकको पासपोर्टमा नेपालको भिसा लाग्नुको पनि ठूलो अर्थ हुने कुरा बिर्सन मिल्दैन।

comments powered by Disqus

रमझम