लालनपालनमा खोट

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
काम, करिअर र आधुनिक जीवनशैलीप्रति आमाबाबुको एकोहोरो आसक्तिले सन्तानको लालनपालनमा खोट देखिन थालेको छ।


p21
दुर्लभ बन्दै गएको दृश्यः १९ साउन २०६९ को बिहान पाटनको कृष्ण मन्दिर परिसरमा नातिनी विपन्कालाई घुमाउन निस्केका स्थानीय ५७ वर्षीय नन्दसिद्धि शिल्पकार। तस्बिर: डम्बरकृष्ण श्रेष्ठ
गएको असार दोस्रो साता ५७ वर्षीय नन्दसिद्धि शिल्पकार पाटन दरबार स्क्वायरमा तीन वर्षकी नातिनी विपन्कासँग खेलिरहेका थिए (हे. तस्बीर)। दुई छोरा, एक छोरी र तीन भाइको संयुक्त परिवार भएको शिल्पकारका ७८ वर्षीय बुबा नन्दलाल श्रीपेच जस्तो भएर बसेका छन्। यो माहोलमा हुर्किरहेकी विपन्काले जिजुबाजेसम्मको काखमा खेल्न पाएकी छन्।

नेपाली समाजमा संयुक्त परिवारमा हुर्कन पाउने विपन्का जस्ता बालबालिकालाई 'भाग्यमानी' ठान्नुपर्ने अवस्था आएको छ। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा–हजुरआमालाई भेट्न दशैं पर्खनुपर्छ, बाबुआमासँग भेट पनि दुर्लभ हुनथालेको छ। संयुक्त परिवार टुक्रिएका र त्यसको मार बालबालिका र वृद्धवृद्धाले खेपिरहेका छन्।

हरेक बिहान बाबुआमाको प्रतिमामा पूजा गरेर दैनिकी थाल्ने ९३ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, आज काम वा पढाइका लागि शहर पसेकाहरू यतै जोडी बाँधेर बस्छन् या विदेशिंदै र शहरकाहरू बिहेवारी हुने बित्तिकै छुट्टिंदैछन्भने अलग भएका छोराछोरीका सन्तान र बाजेबज्यैको सम्पर्क हुँदैन। “यसरी पछिल्लो पुस्तामा हजुरबा–हजुरआमा र आफन्तको महत्व घट्दै गएको छ। तिनको ठाउँ किन्डर गार्टेन र स्कूलका दौंतरीहरूले लिएका छन्”, जोशी भन्छन्, “आजका नातिनातिना हजुरबा–हजुरआमाबाट गाउँखाने कथा, उखान आदिमार्फत पाइने जीवनोपयोगी सांस्कृतिक शिक्षाबाट वञ्चित भएका छन्।” (हे. बक्स)

कमजोर परिवार
हजुरबा–हजुरआमा र नातिनातिनाबीच मात्र होइन, बाबुआमा र छोराछोरीबीच पनि सम्बन्ध पातलिएको छ। दिनहुँ पैसा कमाउन धपेडी गरिरहेका अभिभावक छोराछोरीकै लागि दुःख गरेको बताउँछन्, तर छोराछोरी बाबुआमाको सामीप्य नपाएर व्यक्तिवादी, एकलकाँटे र कति त संवेदनहीन बनेर हुर्कंदैछन्। छोराछोरीलाई महँगो शिक्षा, पर्याप्त खर्च, आधुनिक लवाइ–खुवाइ र प्रविधि दिन कन्जुस्याईं नगर्ने अभिभावकहरू समय दिन चुकिरहेका छन्।

६ चैत २०६६ मा बेबिलोन डिस्कोमा समातिएका ३५६ किशोरकिशोरी राजधानीका नाम चलेका स्कूल र प्लस टु कलेजका विद्यार्थी थिए। फिल्म हल, होटल–रेस्टुरेन्ट र डिस्को–डान्सबारमा विद्यालय पोशाकमै किशोरकिशोरीलाई चुरोट, मदिरा तानिरहेका देखिनु सामान्य भएको छ। कति त लागूऔषधको नशामा समेत लट्ठ देखिन्छन्। देशभर स्कूल–कलेज पढ्ने करीब डेढलाख तन्नेरी लागूऔषध दुर्व्यसनमा फँसेको अनुमान छ।

सन् १९९० पछिको आर्थिक उदारीकरणसँगै भित्रिएको आधुनिक प्रविधिले नेपालीहरूको जीवनशैलीमा आमूल परिवर्तन ल्यायो। कृषिमा निर्भर घरपरिवारहरू नयाँ पेशा र रोजगारीमा जाँदा खेतीपातीलाई आवश्यक संयुक्त पारिवारको सामूहिकता चाहिएन। संयुक्त परिवार टुक्रिएसँगै सम्बन्धको दूरी बढ्यो। युवा पुस्ता नयाँ पेशा र रोजगारीको खोजीमा शहर हुँदै विदेश पुग्यो। छोराको पेशाबारे बाबुआमा अनभिज्ञ हुनपुगे।

यसरी संयुक्तबाट एकल परिवारमा रूपान्तरण भइरहेको समाजमा हुर्किरहेका धेरै बालबालिका घरभित्रै एक्लोपनको शिकार भएका छन्, उनीहरूको पारिवारिक सम्बन्ध कमजोर बन्दैछ। राजधानीलगायत देशका ठूला शहरमा मात्र हैन, 'आधुनिकता' पुगेका गाउँका किशोर किशोरीमा समेत इट्स माई लाइफ ले घर गरेको छ। अभिभावक, आफन्त, नातेदार, शिक्षक र समाजप्रति खासै वास्ता नराख्ने यो पुस्ताको एउटा ठूलै हिस्सामा त माओवादीको हिंसात्मक विद्रोहले हिंसाप्रतिको आकर्षण बढाइदिएको छ। समाजशास्त्री डिल्लीराम दाहाल भन्छन्, “द्वन्द्वकालमा हुर्केको पुस्ताको मनोदशाको मूल्य अन्ततः समाजले चुकाउनुपर्ने हुन्छ।”

माओवादीले २०५२ सालमा भित्र्याएको हिंसात्मक संस्कृति अहिले अन्य समूहमा पनि फैलिएको छ। घरभित्र राम्रो हेरचाह नपाएका र समाजमा हिंसा बेहोर्दै हुर्किएका बालबालिका अटेरी बन्दै गएका छन्। शहरमा ट्राफिक नियम उल्लंघन गर्ने, देशलाई गाली गर्दै विदेशिने युवायुवतीको संख्या थपिंदो छ। मनोविज्ञ रुचिरा कोइराला यस्तो जनसंख्या चाँडै अधीर र 'डिप्रेशन' को शिकार हुने बताउँछिन्। वर्षेनि दुई प्रतिशतले बढिरहेको नेपालको जनसंख्यामा २० वर्षमुनि र ६० वर्षमाथिकाको अनुपात धेरै छ। घट्दो संख्यामा रहेका बीचको उमेर समूहमा आर्थिक भार बढिरहेको छ।

शहरिया समाजमा कमाइ–धमाइको व्यस्तताबाट निस्कने थोरै समयलाई पार्टी–मनोरञ्जनमा खर्च गर्ने चलनले छोराछोरीलाई मात्र हैन, बूढा बाबुआमालाई समेत बिर्सने संस्कार व्याप्त हुँदैछ। अधिकांश कामकाजी बाबुआमा सन्तानलाई राम्रो स्कूलमा पढाउनु र तिनको आवश्यकता पूरा गर्नुलाई नै स्तरीय लालनपालन हो भन्ठान्छन्। तर, लगानी जति गरे पनि उचित निगरानीको अभावमा यस्तो लालनपालन खोटपूर्ण बनिरहेको छ।

बाबुआमाबाट पर्याप्त समय नपाएका र नयाँ–नयाँ प्रविधिको सोखसँगै आधुनिक माहोलमा हुर्किरहेका किशोरकिशोरी घर बाहिर अभ्यस्त हुन्छन् र त्यसले अभिभावकसँगको दूरी झ्नै बढाउँछ। मनोरञ्जनका लागि दोहोरी र डान्सबार जाने अभिभावकका छोराछोरी डिस्कोथेक र क्लबमा रमाउनु असामान्य होइन। घरमा इन्टरनेट राखिदिने बाबुआमा छोराछोरीले कस्ता साइट हेर्छन् भनेर ध्यान दिन सक्दैनन्। प्रायः 'लेटनाइट पार्टी' बाट फर्कने कैयौं 'आधुनिक' बाबुआमा छोराछोरी ढिलो घर आएको चाल पाउँदैनन्। मनोविज्ञ रुचिरा कोइराला भन्छिन्, “बाबुआमाको निकटता नपाएका १०–१३ वर्ष समूहका बालबालिकामा आफ्नै धुनमा खेल्ने, कसैलाई वास्ता नगर्ने, कम्प्युटर, भिडियो गेम, टीभीमा व्यस्त रहने, बाबुआमालाई खोज्दै नखोज्ने, घरमा आफन्त, छरछिमेक आउँदा वास्ता नगर्ने एकलकाँटे प्रवृत्ति देखिएको छ।”

मानवशास्त्री सुरेश ढकालका अनुसार, नेपाली समाजमा पारिवारिक मूल्यमान्यता कमजोर हुँदै गएको, बालबालिकाको हुर्काइ र वृद्धवृद्धाको हेरचाहको प्रक्रिया बदलिन थालेको र नयाँ पुस्तामा पारिवारिक मूल्यमान्यता सहितको व्यक्तित्व निर्माण गम्भीर समस्या बनेको छ। १२ वर्षदेखि सञ्चालित तन्नेरीहरूको समस्यामा केन्द्रित रेडियो कार्यक्रम साथीसँग मनका कुरा का हेमन्त पाठकको अनुभवमा, बाबुआमा र छोराछोरीबीचको प्रमुख समस्या एकअर्काबीच संचार नहुनु तथा एकले अर्काको समस्या नबुझनु हो।

सामाजिक कार्यकर्ता रूपा जोशी नेपाली समाजले आफू तयार नै नभई नयाँ 'ग्लोवल वेभ' लाई आत्मसात् गर्नुपरेकोले विश्रृंखलता आएको बताउँछिन्। “यो लहरले बाबुआमा र छोराछोरीलाई समान रूपले गाँजेको छ”, जोशी भन्छिन्, “नयाँ प्रविधिसँग खेल्न, ब्राण्डेड सामान चलाउन, रेस्टुरेन्टमा विदेशी स्वाद चाख्न र मस्तीमा रम्न बाबुआमा जस्तै छोराछोरी पनि तल्लीन छन्।”

दोषी बाबुआमा

p21a
निगरानीको अभावः ६ चैत २०६६ को एकाबिहानै काठमाडौंको बेबिलोन डिस्कोबाट राजधानीका नाम चलेका २१ वटा +२ विद्यालयका २५६ जना विद्यार्थीलाई स्कूल पोशाकमै मादक पदार्थ, धुम्रपान र लागूऔषध सेवन गरेर नाचिरहेको अवस्थामा पक्राउ गरी प्रहरीले अभिभावकलाई बुझाएको थियो। तस्बिर: माइसंसार
आजका किशोरकिशोरी आफैंमा कमसल वा खराब छैनन्, उनीहरूमा देखिएको अनुशासनहीनता बाबुआमाको उपेक्षाको परिणाम हो। सामाजिक मूल्यमान्यतामा कमजोर देखिए पनि उनीहरू बाबुआमाभन्दा 'एड्भान्स' छन्। धेरैजसो बाबुआमा छोराछोरीको होम वर्क सिकाउन नसक्ने अवस्थाका छन् भने धेरैजसो छोराछोरी प्रविधि र विश्व ज्ञानमा बढी जानकार। बाबुआमालाई तिनैले इन्टरनेट, इमेल र मोबाइल प्रविधि सिकाउँछन्। डा. सरोज धिताल नयाँ पुस्ता पुरानो पुस्ता भन्दा हरेक कुरामा 'राम्रो' भएको, तर बाबुआमामै आफ्ना छोराछोरीलाई कस्तो पारिवारिक परिवेशमा हुर्काउने भन्ने समस्या देखिएको बताउँछन्। (हे. छुट्टै लेख)

मोबाइल, इन्टरनेट, डिस्कोथेक, पिज्जा हट, केएफसी देख्न–भोग्न नपाएका बाबुआमाहरू नयाँ प्रविधि र पश्चिमा संस्कारको रमझ्ममा बढी बहकिंदा वा अनियन्त्रित हुँदा पनि छोराछोरीको लालनपालन र हेरचाहमा असर परिरहेको छ। राष्ट्रपतिका पे्रस सल्लाहकार वरिष्ठ पत्रकार राजेन्द्र दाहाल भन्छन्, “यस्ता परिवर्तनहरूबाट भाग्न मिल्दैन, तिनलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्छ।”

आजको पुस्ता भरपुर स्वतन्त्रता उपयोग गर्दै विश्व नागरिक बन्ने प्रयत्नमा छ। यो होडमा पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य बुझने पहिलो दायित्व बाबुआमाको, त्यसपछि विद्यालय र समुदायको हो। नत्र, उनीहरूमा मौलिक पहिचान नरहने काठमाडौं उपत्यका महानगरीय प्रहरी कार्यालयका एआईजी कुवेरसिंह रानाको धारणा छ। “पूरै समाज भौतिकवादी चिन्तन र मोजमस्तीमा लाग्दा बालबालिकाको उचित लालनपालन हुन छोडेको छ”, राना भन्छन्, “आपराधिक गतिविधिमा लाग्नेहरू पनि धेरैजसो राम्रो पारिवारिक, सामाजिक संगत नपाएकाहरू नै छन्।”

पूर्ण आधुनिक बन्न र परम्परागत पनि रहन नसकेको नेपालको कट्मिरो समाजमा धेरै किसिमका पारिवारिक, सामाजिक समस्या देखापरेका एआईजी रानाको अनुभव छ। कतिपय बाबुआमा नै चरित्रवान बन्न नसकेको संकेत गर्दै उनी भन्छन्, “छोराछोरीलाई रेखदेखको सट्टा पैसा दिएर आफू मोजमस्तीमा डुबेका र तिनका सन्तानले पनि त्यही कुरा सिकिरहेका छन्।”

पारिवारिक मूल्यमान्यतासहितको व्यक्तित्व निर्माणमा परिवारको प्रयासले मात्र नपुगी समाज र विद्यालयको पनि सहयोग चाहिन्छ। आधुनिक शिक्षाका नाममा पैसा कमाउने होडमा लागेका शिक्षण संस्थाहरू विदेशी नामका कारण आन्दोलन झ्ेलिरहेका छन्। यही बेला राष्ट्रिय जीवनका हरेक गतिविधिमाथि निगरानी गर्ने समाज पनि कमजोर छ।




बच्चासँग वार्ता गर्नुस्

p22
बच्चालाई चिनौं, बुझौ: हरेक बच्चामा मौलिक र भिन्न विशेषता हुन्छन्। ५–६ वर्षमा उसका धेरैजसो विशेषता र गुण प्रकट भइसक्छन्। उसले खेल्ने, घुम्ने क्रममा जति धेरै नयाँ वस्तु, मानिस र ठाउँसित अन्तरक्रिया गर्न पाउँछ, त्यति नै गुण र विशेषताहरू प्रकट हुन्छन्। बच्चा त हो नि भनेर उसकोे ज्ञान, अन्तरदृष्टि र क्षमताको उपेक्षा गर्दा सही विकास हुन पाउँदैन।

सम्मान गरौं, कुरा सुनौं: अभिभावकबाट बच्चा एक्लिंदै जानुको एउटा कारण बच्चाको भावना, विचार, रहर, इच्छा, अनुभूति र अनुभवलाई बेवास्ता गर्नु हो। बच्चाहरूलाई ठूला मानिसलाई झै सम्मान गर्नुपर्छ। बच्चाले मनमा लागेको कुरा निर्भयतापूर्वक राख्ने वातावरण बनाउनुपर्छ। साथसाथै बच्चाको बारेमा आफ्ना अनुभूतिहरू पनि खुलस्त रूपले ऊसित बाँड्नुपर्छ। यसबाट एकअर्कालाई बुझन, बुझाउन सजिलो हुन्छ।

नढाँटौं, नटारौं: बच्चालाई बाबुआमाबाटै ढाँट्न सिक्ने अवसर दिनुहुँदैन। बच्चाले भनेको वा मागेको कुरा पुर्‍याउन सम्भव छैन भने शुरूमै हुन्न भन्नुपर्छ, हुन्छ भनेपछि पूरा गर्नुपर्छ। रुचि र आवश्यकता अनुसार उसले गरेका माग पूरा गर्नुपर्छ, पूरा गर्न नसकिने रहेछ भने कारणसहित बुझाउनुपर्छ। यसबाट बच्चामा पनि त्यस्तै मान्यताको विकास हुन्छ।

पर्याप्त समय दिउँकः काखमा हुँदा र टुकुटुकु हिंड्दा मात्र होइन, किशोरवयमा टेक्दा पनि बाबुआमाले सन्तानलाई पर्याप्त समय दिनुपर्र्छ। बाबुआमासँग खेल्ने, घुम्ने, अनुभूति बाँड्ने रहर सबै बच्चामा हुन्छ। सँगै बस्दा, खेल्दा, बजार जाँदा वा काम गर्दा बच्चासित मूल्यमान्यताका कुरा पनि गर्नुपर्छ।

मिलेर काम गरौं: बच्चा हिंड्ने बेलादेखि नै बाबुआमाले सँगै मिलेर बच्चाले सक्ने काम उसैलाई गर्न दिनुपर्छ। यसबाट बच्चाले नयाँ सीप सिक्छ, उसमा सहकार्यको संस्कृति विकास हुन्छ र आत्मविश्वास बढ्छ। बालुवाको घर बनाओस् कि काठको रेल, नयाँ काममा प्रोत्साहित गर्नुपर्छ। यसबाट बच्चा कल्पनाशील र सृजनशील बन्छ। छोरी सानी छे भनेर उसको रुचिको काम खोस्नुको साटो सावधानी अपनाएर वा सँगै बसेर गराउनुपर्छ। छोरीहरूलाई अनावश्यक 'संरक्षण' गर्दा ठूलो भएपछि पनि वाञ्छित आत्मविश्वास पैदा हुँदैन।

निर्णयमा सहभागी गराऔं: बच्चाहरूलाई सानैदेखि निर्णय प्रक्रियामा सहभागी गराउँदै लैजानुपर्छ, जसबाट उनीहरू जिम्मेवार हुन प्रेरित होउन्। बच्चाको रुचि र रोजाइलाई उपेक्षा गरेर बाबुआमाको रोजाइ लाद्नुहँुदैन। घरको अनुशासन–नियम अभिभावकले पालना गरे मात्र बच्चाबाट पालना हुने अपेक्षा गर्नुपर्छ।

राम्रो बानीलाई पुरस्कृत गरौंः अभिभावकले बच्चाका क्रियाकलापहरूलाई अवलोकन गरिरहनुपर्छ। राम्रो ठानिएका क्रियाकलापलाई तुरुन्तै राम्रो भएको जनाउ दिनुपर्छ। बच्चाको राम्रो बानी, सोच या क्रियाकलापलाई खेलौना, लुगा आदिबाट पुरस्कृत गर्नुपर्छ। अभिभावकका यस्ता क्रियाकलापबाट बच्चाको मनमा 'मलाई बा–आमाले हरदम नियालिरहनुभएको छ' भन्ने छाप पार्छ।

संवेग प्रकट हुन दिउँ: हरेक मानिसमा प्रेम, करुणा, घृणा, रीस आदि संवेग हुन्छन्, जसलाई निर्वाध रूपले अभिव्यक्त हुन दिनुपर्छ। बच्चालाई रिसाउनु राम्रो होइन भन्नुको साटो आवेग र उत्तेजनालाई सुरक्षित तरिकाले फाल्ने तरिका सिकाइदिनुपर्छ। जस्तो बच्चालाई कुनै साथी, परिवारको सदस्य वा शिक्षकसित रीस उठेको छ भने सिरानीलाई त्यो मान्छे मानेर मुक्का हान्दा उसको आवेग फालिन्छ। कसैलाई पनि हानि नहुने यस्ता उपायको प्रयोगबाट बच्चाको संवेग व्यवस्थापन हुन्छ।

गल्तीबाट सिक्न दिउँ: बच्चाहरूलाई दबाब र त्रासबाट होइन आफैं गल्ती 'महसूस' गर्दै सिक्न दिनुपर्छ। ठूलै गल्ती गर्दा बच्चालाई यस्तो तरिकाले सम्झाउनु, बुझाउनुपर्छ जसबाट उसले 'महसूस' गरोस्। बच्चाहरूले तत्काल दण्ड हैन, सच्चिने मौका पाउनुपर्छ। दण्डले बालबच्चालाई इखालु, प्रतिशोधमुखी, विद्रोही र अन्ततः हिंसाको पक्षधर बनाउन सक्छ।

प्रस्तुतिः सुदर्शन घिमिरे

छोराका नाममा लज्जा

२७ साउनमा थानकोटका २४ वर्षीय महेश बलामीले आफूले मागेको रु.४० हजार नदिएको रीसमा ५० वर्षकी आमा गंगामायालाई हँसियाले हानेर मारे। ३० चैत २०६८ मा दाङदेउखुरी–७ का जुमानसिंह गिरी (२१) ले लाठीले हिर्काएर बुबा हीरालालको हत्या गरे। नेपाली समाजमा यस्ता घटना बाक्लै हुन थालेका छन्। जन्मदिने बाबुआमा वृद्ध भएपछि हेरचाह गर्नुको साटो भएको सम्पत्ति हडपेर सडकमा अलपत्र पार्ने 'कपुत' हरूको जमात बढ्दो छ। राजधानीका एक दर्जन आश्रम परिवारले त्यागेका बाबुआमाले खचाखच छन्। देशभरका वृद्धाश्रममा आफलिएका बाबुआमाको कथा पनि उस्तै छ।

p23c
दीपेन्द्र।
p23b
पारस।
p23a
प्रकाश।

नेपाली समाजमा बिग्रेका छोराहरूको कुरा गर्दा दीपेन्द्र शाह, पारस शाह र प्रकाश दाहालको नाम अग्रपंक्तिमा आउँछ। स्वर्गीय युवराज दीपेन्द्रले प्रेमको उन्मादमा मातापितासहित पूरै परिवारको हत्या गरेर आफूलाई पनि गोली हाने। सडकमा मान्छे किच्दै गाडी हुँइक्याउने पारसले युवराज घोषित भएपछि पनि उद्दण्डता मच्चाउन छाडेनन्। यता अरूलाई नैतिकता, सदाचार र न्यायको पाठ घोकाउँदै १५ हजार नेपालीको ज्यान जाने हिंसा मच्चाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका दोस्रो विवाह गरेर बसेका एक्ला पुत्र प्रकाशले अर्काकी श्रीमती भगाए। यी तीन युवकले यस्ता उपद्रो आफ्ना पिता देशको धनकुवेर र शक्तिशाली भएको बेला गरेका थिए। यसले बाबुआमाले सुविधासम्पन्न भएर, छोराछोरीलाई सबथोक उपलब्ध गराएर मात्र पुग्दैन, तिनको लालनपालनमा ध्यान दिनुपर्छ भन्ने देखाउँछ। 

संस्कार जोगाउँदै परिवर्तन सकारौं

सत्यमोहन जोशी
p24
आमाबाबु भगवानः संस्कृतविद् सत्यमोहन जोशीले घरमा स्वर्गीय बुबा शंकरराज र आमा नुगलदेवीको सालिक बनाएर दिनहुँ पूजा गर्दै आएका छन्।
केटाकेटी हुँदा हजुरबा–हजुरआमाले काखमा राखेर विभिन्न कथाकुथुङ्ग्री, नीति कथा र किम्वदन्ती सुनाउनुहुन्थ्यो। अहिले हजुरबा–हजुरआमाको ठाउँ किन्डर गार्टेनहरूले लिएका छन्। घरका वृद्ध–वृद्धा बढीमा नातिनातिनालाई स्कूलको गाडी चढाउन र लिन जानेमा सीमित छन्। बिहान–बेलुका घरमा बाजे–बज्यैको ठाउँ टीभी, भिडियो गेमले लिन्छ।

मेरै तीन छोरा, बुहारी र नातिनातिना आज मसँग छैनन्। पाटनका दुई वटा घरमा हामी बूढाबूढी एक्लो भएका छौं। १५ वर्षअघि काठमाडौं ताहाचलमा घर बनाएर जेठो छोराले छाड्यो, अरू दुई छोरा र बुहारी विदेश गए। पहिला एउटै चुल्हामा पाकेको खाना सबै मिलेर सँगै खान्थ्यौं। अहिले पढेलेखेका आधुनिक बुहारी, सासू–ससुरासँग बस्दैनन्। समयसँगै आएको यो परिवर्तनलाई मैले सहज रूपमा आत्मसात गरेको छु।

अमेरिका भ्रमणमा जाँदा क्यानडामा २० दिन बसें, छोराहरूसँग। छोराहरूले नेपालै फर्कने जस्तो कुरा गरे पनि उतै हुर्केका नातिनातिना फर्केलान् जस्तो लाग्दैन। उनीहरूले प्रगति गरेका छन्, सन्तुष्ट छन्, हामी बूढाबूढी पनि खुशी छौं। टाढा भए पनि बेलामौकामा आएर रीति अनुसार दोस्रो, तेस्रो बूढापास्नी गरिदिएका छन्। बेला–बेला हालखबर सोध्छन्। तर, कहिलेकाहीं नराम्रो लाग्छ। विदेशका त विदेशका भइहाले, त्यही ताहाचलमा भएको छोरो पनि आउँदैन। म ९३ वर्ष पुगें, श्रीमती ८५ वर्ष। अब त त्यताको घर भाडामा लगाएर यतै आओ, तिमीहरूकै सम्पत्ति हो भन्दा पनि आउँदैन। खाना पकाउनै नसक्ने भएर अर्को मान्छे राखेका छौं।

केहीअघि घरमै लडेर थला पर्दा 'सत्यमोहन जोशी लडे रे' भनेर दुनियाँ हेर्न आयो, सबै आफन्त आए। तर, बुहारी र जेठो नाति आएनन्। अमेरिकाबाट फर्कंदा नातिलाई ल्याएको लुगा पनि दिन पाएको छैन। आए पो दिन पाउनु! छोराबुहारीले हामीलाई नातिनातिनाबाट निकै टाढा पुर्‍याएछन्, जस्तो लाग्छ। तर, म कसैलाई दोष दिन्न, समाज नै यसरी परिवर्तन भइरहेको छ। कुनै मनमुटाव छैन, झ्गडा छैन र पनि भेटघाट हुँदैन। माया, स्नेह र पारिवारिक सम्बन्धहरू हराउँदै गएका छन्।

समाज पश्चिमा संस्कारमा रम्दैछ। जागिर पाउनासाथ छोराबुहारी अलग भइहाल्छन्। १५–२० वर्षयता आएको यो परिवर्तनले संयुक्त परिवारको लागि उदाहरणीय नेवारी समुदायलाई समेत गाँजेको छ। तर, समाजलाई पुरानै ठाउँमा फर्काउन नसकिने हुनाले हामीले पारिवारिक मूल्यमान्यता र संस्कारलाई पनि जीवितै राखेर यो परिवर्तनलाई आत्मसात गर्नुपर्छ।

पुस्तान्तरका गफ
परिवारको सांस्कृतिक बनोट, शिक्षा स्तर, अभिभावकको रवैया आदि कुरा ठीकठाक छन् भने बूढापाकाको आदर–सम्मानमा कमी हुँदैन।
सरोज धिताल
p25
हिमाल आर्काइभ
सुनिन्छ– अहिलेको पुस्ता बिग्रियो, पहिले जस्तो रहेन।
प्रायः पाका मानिसहरू आफू सानो छँदा धेरै असल, अनुशासित र जेहेन्दार तथा जवान हुँदा सक्षम, निडर, व्यावहारिक र बाबुआमा–मान्यजनप्रति विनम्र भएको भनेर सन्तानलाई सुनाउँदा आनन्द मान्छन्। कति त त्यतिले नपुगेर, आफ्नो त्यो सिङ्गो पुस्ता नै ज्ञानी थियो भन्न पछि पर्दैनन्।

कतिसम्म भने त्यो जमानाको टोल, बहाल, चोक, चौतारा, पोखरी, चाडबाड, शासक, गुरु, पण्डित, धामी, वैद्य जे पनि र जो पनि अहिलेको भन्दा कता हो कता राम्रो भनेर गफ दिइन्छ। 'ओहो , ऊ बेलाको फागु क्या भव्य र रमाइलो! ... मूला, काँक्रो त कत्रा–कत्रा हुन्थे! ... एक पैसामा तीन माना चामल पाइन्थ्यो! ... स्वर्ग नै थियो त्यो युग!' जस्ता अभिव्यक्तिदेखि 'ऊ त्यो बडेमानको भालुढुङ्गो पारि डाँडाबाट म एक्लैले बोकेर ल्याएको' भन्नेसम्मका गफ सुन्न पाइन्छ।

कुनै पनि देश र कालखण्डमा विगतको गुणगान र अहिले सब बिग्रियो, सिद्धियो, मानिसहरू पापी भए भनेर वर्तमानको आलोचना गर्ने मानिसको कमी हुँदैन। तर, यथार्थ यस्तो हैन भन्ने कुरा पनि ती गफाडीहरूलाई थाहा हुन्छ।

६० वर्षको बार
समाजमा असल र खराब मानिस सधैं हुन्छन्। कुनै पुस्ता कस्तो छ भनेर जान्न त्यसबेलाका सबभन्दा गए–गुज्रेकालाई हैन, औसतलाई हेर्नुपर्छ। कुनै पुस्तामा सकारात्मक सम्भावना के–के छन् भनेर जान्न औसतलाई हैन, उम्दालाई हेर्नुपर्छ। वर्तमानका असल युवा र पुरानो पुस्ताका असल युवालाई दाँज्दा अहिलेकै अब्बल देखिन्छन्। आफूले बाबुआमालाई गरेको जस्तो व्यवहार आफ्ना सन्तानले गरिरहेका छैनन् भन्ने गुनासो सही हुनसक्छ। तर, यसका पनि बुझन सकिने कारण छन्। 'जेनरेशन ग्याप' अर्थात् पुस्तान्तर हरेक युगमा हुन्छ। आवश्यकता यो अन्तर घटाउने सम्बन्ध सेतुको हो, जुन दुई पुस्ताबीचको युगसापेक्ष अन्तरक्रिया र संवादमा प्रकट हुन्छ।

समाज परिवर्तनको गति अति नै सुस्त भएको बेला मात्र ठ्याक्कै अघिल्लो पुस्ताको जस्तो व्यवहार सम्भव हुन्छ। गतिशील समाजमा त एउटै पुस्ताभित्र पनि मान्यता परिवर्तन भइसक्छन्, १० वर्ष अगाडिका व्यवहार अहिले पूरै असान्दर्भिक र मूर्खतापूर्ण लाग्न सक्छन्। अरू त अरू, भाषामा समेत धेरै फरक भइसक्छ। त्यसैले दुरुस्त उस्तै व्यवहार, शैली भएन भनेर गुनासो गर्नुको अर्थ रहँदैन। हरेक युगमा नभई नहुने सर्वकालिक गुण त करुणा, स्नेह, प्रेम, सद्भाव, सहयोग, इमान हुन्!

अहिले वृद्धवृद्धाहरूको बेवास्ता भयो, परिवारमा न्यानोपन हरायो, परिवारै टुक्रन थाल्यो भन्ने सुनिन्छ। हरेक कालखण्डमा वृद्धवृद्धाका फरक–फरक कथा हुन्छन्। परिवारभित्र अत्यन्त शक्तिशाली 'शासक' भएर बसेका बूढाबूढी पनि हुन्छन्, कृतघ्न छोराछोरीको पाशविक अत्याचारमा परेका घटना पनि हुन्छन्। वृद्धवृद्धामाथि दुर्व्यवहार बढेको हो कि सञ्चारमाध्यममा पहुँच बढेर लुकेर रहेका सबै कुरा बाहिर आउन थालेका हुन्, राम्रो अध्ययन नगरी भन्न सकिंदैन। वृद्धाश्रमहरूको संख्यालाई नै पाका मानिसप्रति दुर्व्यवहार बढेको प्रमाण मान्नु उपयुक्त हुँदैन।

समयसँगै मानिसको जीवनशैलीमा आएका परिवर्तनको असर सबै पुस्तामा बराबर हुँदैन। उमेर पाको हुँदै जाँदा परिवर्तन स्वीकार्न अप्ठ्यारो पर्दै जान्छ। अधिकांश मानिस ६० नाघेपछि नयाँ ज्ञान, सीप र शैली अङ्गीकार गर्न असहज भएर 'हुर्किन' छोड्छन्, जो हुर्किइरहन्छन् ती महान् हुन्छन्। यसरी निरन्तर 'हुर्किइरहेका' आदरणीयहरू हामीकहाँ पनि छन्। कोही त तनले ८०–९० काटिसके पनि मन, चिन्तन र व्यवहारका पट्ठा छन्। तिनलाई देख्दा गर्वानुभूति नहुने कुरै आउँदैन।

'मैले प्रतिपादन गरेको सिद्धान्तलाई कसैले गलत सावित गर्न पाउँदैन' भन्दै लौरो लिएर कुर्लने मानिस वैज्ञानिक हुनसक्दैन। असल गुरुमा आफ्ना चेलाहरू आफूभन्दा अघि बढून् भन्ने चाहना हुन्छ। सानो चित्त लिएर 'ए, मलाई चुनौती दिने!' भन्दै इख राख्ने मानिस असल गुरु हुन सक्दैन। अर्थात् आजको स्थितिबाट अघि बढ्न जो तयार हुँदैन, ऊ हुर्किन छोड्छ र जड बन्न पुग्छ। कति त २०–२५ कै उमेरमा 'जड' भइसक्छन्, हुर्कनै चाहन्नन्। कुनै कुनै बेला त उल्टो पुस्तान्तर देखिइरहेको हुन्छ। अघिल्लो पुस्ताको 'हुर्काइ' जति छिटो रोकिन्छ, पुस्तान्तर त्यति नै फराकिलो हुन्छ। पुस्तान्तर जति फराकिलो हुन्छ, त्यो अन्तरलाई जोड्ने संवाद, सहानुभूति, सत्संग र सहज्ञानको पुल बनाउन त्यति नै बढी परिश्रम, समय र सीप आवश्यक पर्छ।

सकारात्मक तयारी
समाजको रूपान्तरणलाई धेरै कुराले प्रभाव पार्छ। ती सबैखाले प्रभावबाट समाज परिवर्तन हुन्छ। यस्तो परिवर्तनले ल्याएका कुरामा नयाँ पुस्ताको रुचि ज्यादा हुनु स्वाभाविक हो। यस्तो रुचिलाई पुरानै ढाँचामा राखिरहन खोज्नु निरर्थक कसरत हुन्छ। परिवर्तन त जसरी पनि हुन्छ नै। त्यो भयो भनेर रोइबस्नु अथवा त्यसलाई रोक्न समेत खोज्नु समयलाई रोक्न खोज्नु जस्तो कुरा हो। परिवर्तन कुन दिशातर्फ उन्मुख हुँदा सद्भाव कायम हुन्छ र कोही पनि बहिष्कृत हुँदैन भन्ने कुरा चाहिं महत्वपूर्ण हो। त्यो कुरा त्यस कालखण्डका परिवर्तनकामीहरूको बुद्धि र बर्कतमा निर्भर हुन्छ।

बूढापाकाको सम्मान सामान्यतः सामाजिक रीतिस्थितिले कुँदेको अनुशासन र नैतिक शिक्षामा आधारित हुन्छ। नैतिक शिक्षाको प्रभाव परिवारको सांस्कृतिक बनोट, शिक्षाको स्तर, अभिभावकको रवैया आदिमा पर्छ। यी कुरा ठीकठाक छन् भने जुनसुकै पुस्तामा पनि बूढापाकाको आदर–सम्मानमा कमी हुँदैन। त्यस्तो परिवारमा विभिन्न पुस्ताका बीच संवादमा पनि समस्या हुँदैन। तर, रीतिस्थितिजन्य अनुशासनमा मात्र आधारित 'सम्मान' गुदी नभएको रिवाज मात्र हुन्छ र यो आजको मात्र समस्या हैन, पहिले पनि त्यस्तै थियो। त्यसैले, अहिले दुःख पाइरहेका बूढाबूढीको पारिवारिक इतिहास नहेरी त्यो दुःखका निम्ति को जिम्मेवार हो भन्न सकिन्न।

उमेरसँगै आउने शारीरिक र मानसिक परिवर्तनले पाका मानिसहरूलाई विशिष्ट समस्यामा पारेका हुन्छन्। उनीहरूका स्वास्थ्य समस्याहरूलाई मूलतः चार किसिमले वर्गीकरण गर्न सकिन्छ– दृष्टिसँग सम्बन्धित, स्मरणशक्ति र मानसिक स्वास्थ्यसँग सम्बन्धित, उठ–बस हिंडडुल वा हलचलसँग सम्बन्धित र दिसापिसाबमाथि नियन्त्रणसँग सम्बन्धित। आर्थिक–सामाजिक समस्या पनि घुमिफिरी यी चारथरी समस्यासँगै जोडिन आइपुग्छन्। राज्यको अगुवाइ विना यिनको समाधान हुँदैन। तर अहिलेको जस्तो अनौठो राजनीतिक वातावरणमा निष्प्रभावी नै बन्न पुगेको राज्यबाट धेरै आशा गर्न सकिन्न। त्यसैले हुनसक्छ, नागरिक समाजको प्रयत्न क्रमशः बढ्न थालेको छ।

६० पुग्न अब केही वर्ष मात्र बाँकी भएको मजस्ता मानिस यो देशमाकति होलान्, ठ्याक्क थाहा छैन। २३ लाख हाराहारीले यो बार नाघेका छन्। हामी जस्ताले 'नयाँ पुस्ता बिग्रियो' भन्ने निरर्थक आलापमा फँसेर जीवन बिताउनुभन्दा आफ्नो वृद्धावस्थाको सकारात्मक तयारी गर्नु बेस देख्छु म। यो देशमा सुशासन दिनसक्ने राज्य जन्मेछ भने त्यो तयारी थप सहज पनि होला!

comments powered by Disqus

रमझम