२ भदौ २०७० | 18 August 2013

चुनावका लागि जनदबाब

Share:
  

हिमाल (२० साउन) मा प्रकाशित 'चक्रव्यूहमा चुनाव' समाचार पढेपछि ४ मंसीरमा चुनाव हुनेमा आशंका बढेको छ। नेपालका राजनीतिक दलका कुरा सुन्दा उनीहरूलाई चुनाव नचाहिएको प्रष्ट हुन्छ। अनावश्यक कुरा गर्दै आपसमा खुट्टा तान्ने वाहेक दलका नेताहरूले अरू केही जानेका रहेनछन् भन्ने कुरा उनीहरूको व्यवहारले देखाइसकेको छ। त्यसैले समयमा चुनाव गराउनका लागि जनस्तरबाट पर्याप्त दबाब दिनु जरूरी छ। अन्यथा एकले अर्कालाई दोष लगाउँदै तिनै दलका नेताबाट चुनाव सार्ने काम नहोला भन्न सकिन्न

गोपाल पौडेल, ललितपुर

नेपालका नेताहरूको बुद्धि कहिल्यै पलाउला जस्तो लागेन। भएभरका सबै राम्रा काम आफैंले गरें भन्दै हिंड्ने नेताले आफ्नो कारण काम बिग्रियो भनेर कहिल्यै भन्न सकेका छैनन्। समयमा चुनाव गराउनेतर्फ काम गर्न नसके पनि कम्तीमा भइरहेको काम बिगार्नेतर्फ त नलाग्नु नि! यिनको बुद्धि कहिले पलाउने?

विशाल एमसी, इमेलबाट

पठनीय सामग्री

हिमाल (२० साउन) मा प्रकाशित 'आनीसँग आँखा जुधाउँदा' शीर्षकको उर्मिला चौधरी बारेको समाचार सामग्री पठनीय लाग्यो। नेपालमा धेरैको बाल्यकाल आनी र उर्मिलाको जस्तै गरी बितेको छ। गरीबी मात्र होइन अन्य सामाजिक कारणले पनि बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने विचार नपुर्‍याउने आमाबाबुले कमलरी राखेकालाई झ्न् कसरी राम्रो व्यवहार गरून्! परिपक्व नहुँदै अर्काको घरमा कमलरीका रूपमा काम गर्ने बालबालिकाको जीवन निकै कष्टपूर्ण ढंगबाट बितेको उर्मिलाको अनुभवबाट पनि प्रष्ट देखिन्छ।

सुनिता माली, इमेलबाट

आनी र उर्मिला जस्ता धेरै नेपाली चेली आफ्नो कहालीलाग्दो बाल्यकाल पार गरेर उज्ज्वल भविष्यतिर पाइला अघि बढाउँदै छन्। कति अभिभावकले आफ्नै सन्तानलाई पारिवारिक माया दिन सकेका छैनन् भने कसैले घरमा काम गर्न बसेको भन्दै कामको बोझ् थोपरिरहेका छन्।

सुलोचना चौधरी, इमेलबाट

पछुताउने काम नगरौं

हिमाल (२० साउन) मा प्रकाशित 'करोड आय, अर्बौं क्षति' समाचार पढेपछि हामीले प्राकृतिक स्रोतसाधनमाथि कसरी लापरवाही गरिरहेका छौं भन्ने प्रष्ट हुन्छ। आफ्नो वरिपरिका अर्बर्ौंका धन–सम्पत्ति जानेर वा नजानेर करोडमा बेच्ने कामले आर्थिक मात्र होइन प्राकृतिक र सामाजिक सुन्दरता समेत धरापमा पार्दैछौं। विज्ञको सल्लाह विना बालुवा, गिटी निकाल्दा आउने प्राकृतिक प्रकोपको हिसाब गर्ने हो भने आम्दानी भन्दा धेरै गुणा नोक्सान बेहोर्नुपर्ने निश्चित छ। पछिल्ला समयमा देखा परेको प्राकृतिक विपत्तिको एउटा प्रमुख कारण यो पनि हो। त्यसैले सरोकारवाला निकायको समयमै ध्यान नपुगेमा भविष्यमा ठूलै मूल्य चुकाउनुपर्नेछ।

मिलन बम, इमेलबाट

ढुङ्गा र गिटी मात्र होइन हामीले आफ्ना वरिपरिका महत्वपूर्ण प्राकृतिक स्रोतको सही तरिकाले प्रयोग गर्न नसकेको सत्य हो। यसको मूल्य नबुझेर हो वा अन्य कारणले हामीले यस्ता धेरै महत्वपूर्ण सम्पदाको सदुपयोग गर्न सकेका छैनौं। त्यसैले सबै मिलेर प्राकृतिक सम्पदाको संरक्षण गरौं।

सविना केसी, इमेलबाट

स्वास्थ्यकर्मीको ध्यान जाओस्

हिमाल (१३ साउन) मा प्रकाशित 'अस्पतालमै अपमान' समाचार पढेपछि केही लेख्न मन लाग्यो। अस्पतालमा अपमान हुनु भनेको धेरै नेपालीको लागि सामान्य हुन थालिसकेको छ। बिरामी भएर अस्पताल पुगेकालाई औषधीसँगै परामर्श चाहिन्छ भन्ने कुरा धेरै नेपाली स्वास्थ्यकर्मीलाई जानकारी छैन जस्तो छ। गर्भवती अवस्थामा अस्पताल पुगेका तथा सुत्केरी र नवजात शिशुलाई कस्तो किसिमको व्यवहार गर्नुपर्दछ भन्ने कुरामा कम्तीमा अस्पतालले ध्यान दिनुपर्छ।

रचना पोखरेल, इमेलबाट

निरीह सरकार

जताततै बर्डफ्लुको चर्चा चलिरहेको अवस्थामा पनि लुकिछिपी कुखुरा ओसारपसार गर्ने काम रोकिएको छैन। व्यवसायीको आन्दोलनपछि सरकारले समेत कुखुराको कारोबार गर्न छूट दिएको छ। '१०० डिग्री तताएपछि भाइरस मर्छ' भनेर कुखुराको मासु खान उचित हो कि होइन भन्ने कुरामा कसरी विश्वास गर्ने? रोग लागेका कुखुरा बेच्न पाउनुपर्छ भनेर आन्दोलन गर्दैमा व्यवसायीका माग पूरा गर्ने सरकारले भोलि योभन्दा चर्को महामारी फैलियो भने कसरी नियन्त्रण गर्न सक्ला! तसर्थ सरकारको भर नपरी आफ्नो सुरक्षा आफैं गर्दा बेस होला कि!

विनोद पोखरेल, इमेलबाट

comments powered by Disqus

रमझम